काठमाडौं, १३ चैत । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको हो ।
गण्डकी प्रदेशले दिएको २१० रनको लक्ष्य आर्मीले ३४ ओभरमै ३ विकेटको क्षतिमा सहज रूपमा पूरा गरेको थियो । आर्मीको जितमा तीन खेलाडीको अर्धशतकीय पारी र दुई शतकीय साझेदारी निर्णायक बने ।
आर्मीका ओपनर त्रितराज दास र कप्तान विनोद भण्डारीले पहिलो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई मजबुत सुरुवात दिलाएका थिए । दुवैले अर्धशतक पूरा गर्दै टोलीलाई लक्ष्यतर्फ अघि बढाएका थिए। कप्तान विनोद भण्डारीले ५७ बल खेल्दै ७ चौका र २ छक्कासहित ५८ रन बनाएका थिए । उनी आउट भएपछि अर्जुन साउद भने रन नजोड्दै पवेलियन फर्किए ।
ओपनर त्रितराज दासले पनि उत्कृष्ट प्रदर्शन गर्दै ५१ बलमा ८ चौका र १ छक्काको मद्दतले ५१ रन बनाए । उनको पारीले आर्मीलाई जितको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
यसपछि भीम सार्की र कुशल मल्लले चौथो विकेटका लागि अविजित १०० रनको साझेदारी गर्दै आर्मीलाई जितसम्म पु¥याए । भीम सार्कीले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ५४ रन बनाए ।
त्यस्तै कुशल मल्लले पनि संयमित ब्याटिङ गर्दै अविजित ४३ रन जोडे। यी दुई खेलाडीको साझेदारीले आर्मीलाई सहज जित दिलायो । गण्डकी प्रदेशका लागि बलिङतर्फ सुबाश भण्डारीले २ विकेट लिए भने विपिन खत्रीले १ विकेट हात पारे । तर आर्मीका ब्याटरहरूको सशक्त प्रदर्शनका कारण उनीहरूले खेलमा खासै दबाब सिर्जना गर्न सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ४९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो । गण्डकीका लागि ओपनर अर्जुन कुमाल र दीपक डुम्रेले अर्धशतकीय पारी खेलेका थिए ।
अर्जुन कुमालले १०२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ७६ रन बनाए। उनी टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी बने ।
त्यस्तै दीपक डुम्रेले ४५ बलमा ३ चौका र २ छक्कासहित ५१ रन जोड्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डो¥याउने प्रयास गरेका थिए ।
अन्य ब्याटरहरूले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । सिब्रिन श्रेष्ठले १४ रन, सन्देश पन्थीले १३ रन, वंश क्षेत्रीले १० रन बनाए भने सुबाश भण्डारी १० रनमा अविजित रहे ।
आर्मीका लागि बलिङतर्फ आकाश चन्द र साहब आलमले समान ३–३ विकेट लिए । त्यस्तै कुशल मल्लले २ विकेट झार्दै गण्डकीको ब्याटिङ लाइनलाई दबाबमा राखेका थिए ।
यस जितसँगै त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै ४ अंक जोडेको छ । उता गण्डकी प्रदेशले भने लगातार दोस्रो हार बेहोर्दै अंकको खाता खोल्न सकेको छैन । प्रतियोगितामा आर्मीले आफ्नो बलियो उपस्थिति देखाउँदै उपाधि दाबेदारीलाई थप मजबुत बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्