काठमाडौं, १३ चैत । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत भएको खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै लक्ष्य सहज रूपमा पूरा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेश ४९.२ ओभरमा अलआउट हुँदै २६५ रनमा सीमित भएको थियो। बागमतीले दिएको २६६ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले ४४ ओभरमा ३ विकेटको क्षतिमा २७१ रन बनाउँदै जित हात पारेको हो ।
पुलिसको जितमा ओपनर शंकर रानाले उत्कृष्ट शतकीय पारी खेले । उनले १२८ बलमा १३ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरे। शंकरले टोलीलाई बलियो सुरुवात दिलाउँदै पहिलो विकेटका लागि अर्का ओपनर दिनेश खरेलसँग १५९ रनको महत्वपूर्ण साझेदारी गरे ।
दिनेश खरेलले पनि उत्कृष्ट प्रदर्शन गर्दै ७५ बलमा ८ चौका र ३ छक्कासहित ७० रन बनाए । यी दुई ओपनरले बनाएको ठूलो साझेदारीका कारण पुलिसले सुरुदेखि नै खेलमा नियन्त्रण कायम गर्न सफल भएको थियो ।
त्यसपछि कप्तान आरिफ शेखले संयमित ब्याटिङ गर्दै ४३ रन बनाएर अविजित रहे भने रासिद खान १० रनमा नटआउट रहँदै टोलीलाई लक्ष्यसम्म पु¥याए ।
पुलिसले निर्धारित लक्ष्यभन्दा पाँच ओभर अगावै जित हात पार्दै खेलमा आफ्नो वर्चस्व देखाएको थियो ।
बागमती प्रदेशका लागि बलिङतर्फ रिजन ढकाल, सन्दीप लामिछाने र सुवास खत्रीले समान एक–एक विकेट लिए । तर पुलिसका ब्याटरहरूको प्रभावशाली प्रदर्शनका कारण बागमतीका बलरहरूले खासै दबाब सिर्जना गर्न सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको बागमती प्रदेशका लागि पवन थापाले सर्वाधिक ७९ रन बनाए । उनले १०१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई मध्यम योगफलसम्म पु¥याउने प्रयास गरेका थिए ।
त्यस्तै इशान पाण्डेले पनि ८० बलमा ६ चौका र ३ छक्कासहित ७० रन बनाए ।
ओपनरद्वय आशुतोष घिरौया र शुभ कंशाकरले क्रमशः २२ र १४ रन जोडे। शिवम तिवारीले १२ रन बनाए भने उत्तम मगरले २१ रनको योगदान दिए । टोलीका कप्तान सन्दीप लामिछानेले १३ रन जोडे। अन्य ब्याटरहरूले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । नेपाल पुलिस क्लबका लागि बलिङतर्फ रासिद खान र दिनेश खरेलले समान ३–३ विकेट लिए ।
त्यसैगरी करण केसीले २ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिएर टोलीको जितमा योगदान पु¥याए ।
जारी प्रतियोगितामा पुलिस र बागमती दुवै टोलीको यो तेस्रो खेल थियो । यस जितसँगै पुलिसले तीन खेलमध्ये दोस्रो जित हासिल गरेको छ भने बागमतीले दोस्रो हार बेहोरेको छ ।
यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबसँग २२ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने पुलिसले विभागीय प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल क्लबलाई १८५ रनले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्