फिल्म ‘आ बाट आमा २’ बन्ने

 

काठमाडौं, १३ चैत । गत वर्ष प्रदर्शन भएर उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको सिनेमा ‘आ बाट आमा’ को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । निर्माण टिमले आधिकारिक रूपमा ‘आ बाट आमा २’ निर्माण गर्ने घोषणा गर्दै कलाकार अनुबन्ध गर्ने प्रक्रिया सुरु गरेको छ ।

अभिनेता पल शाह को जन्मदिनको अवसर पारेर गत फागुनमा सार्वजनिक गरिएको पोस्टरमार्फत फिल्मको सिक्वेल निर्माण हुने जानकारी दिइएको थियो । त्यसपछि निर्माण टिमले गत आइतबार पहिलो भागले प्रदर्शनको ५१ दिन पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै दोस्रो भागको तयारीलाई औपचारिक रूप दिएको हो ।

निर्देशक चन्द्र पन्तले सोमबार मुख्य कलाकारका रूपमा अभिनेता पल शाह र अभिनेत्री विपना थापासँग लिखित सम्झौता गरेका छन् । पहिलो भागमा जस्तै दोस्रो भागमा पनि पल र विपना आमा–छोराको भूमिकामा देखिनेछन् । दर्शकले रुचाएको यही सम्बन्धलाई निरन्तरता दिँदै कथा अघि बढाइने निर्माण टिमले जनाएको छ ।

सिनेमामा अनुबन्धित भएपछि अभिनेत्री विपना थापाले सिक्वेलमा काम गर्ने अवसर पाउँदा आफू निकै उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले पहिलो भागले दर्शकबाट पाएको मायाले दोस्रो भागप्रति अपेक्षा पनि बढाएको बताउँदै यसपटक अझ जिम्मेवारीका साथ काम गर्ने बताउनु भयो । उहाँका अनुसार ‘आ बाट आमा’ले दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्न सफल भएकाले त्यसलाई थप सशक्त बनाउँदै नयाँ कथा प्रस्तुत गरिनेछ ।

अभिनेता पल शाहले पनि दोस्रो भागमा काम गर्ने अवसर पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले निर्देशक चन्द्र पन्तप्रति आभार व्यक्त गर्दै आफूलाई विश्वास गरेर फेरि पनि मुख्य भूमिकामा अवसर दिएकोमा धन्यवाद दिनुभयो । अभिनेता पल शाहले निर्देशक पन्तसँग आफ्नो विशेष सम्बन्ध रहेको उल्लेख गर्दै उहाँसँग काम गर्दा आफूलाई पारिवारिक वातावरण जस्तो अनुभव हुने बताउनु भयो ।

निर्देशक चन्द्र पन्तका अनुसार सिक्वेल बनाउनु सधैं चुनौतीपूर्ण हुन्छ । पहिलो भागले पाएको सफलता र दर्शकको अपेक्षालाई ध्यानमा राख्दै दोस्रो भागलाई अझ उत्कृष्ट बनाउने लक्ष्य रहेको उहाँले बताउनु भयो । कथा, प्रस्तुति र भावनात्मक पक्षलाई अझ बलियो बनाउँदै फिल्मलाई दर्शकका लागि थप प्रभावशाली बनाउने तयारी भइरहेको उहाँले बताउनु भयो ।

 

निर्माण टिमका अनुसार ‘आ बाट आमा २’ को छायांकन आगामी बैशाख महिनाबाट सुरु गर्ने योजना छ । छायांकन सम्पन्न भएपछि फिल्मलाई यस वर्षको दसैंको अवसर पारेर प्रदर्शन गर्ने तयारी गरिएको छ ।

पहिलो भागमा पल शाह र विपना थापासँगै बलिउड अभिनेता प्रदिप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित विष्ट र वेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको थियो । उहाँहरुकोे अभिनयले फिल्मलाई थप सशक्त बनाएको मानिन्छ ।

यद्यपि दोस्रो भागमा यी कलाकारमध्ये को–को दोहोरिने भन्ने विषयमा निर्माण टिमले अझै औपचारिक रूपमा खुलाएको छैन । निर्देशक पन्तका अनुसार बाँकी कलाकार चयनको प्रक्रिया केही दिनभित्रै टुंग्याइनेछ ।

परिवार, सम्बन्ध र भावनात्मक कथावस्तुमा आधारित ‘आ बाट आमा’ले दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो । यही सफलतालाई निरन्तरता दिँदै ‘आ बाट आमा २’ ले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्