काठमाडौं, ८ चैत । अभिनेत्री आँचल शर्मा को जन्मदिनको अवसर पारेर बहुप्रतिक्षित सिनेमा एक मुठ्ठी बादलः माई सेयर अफ स्काई को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले यस टिजरलाई अभिनेत्री आँचलका लागि विशेष उपहारका रूपमा प्रस्तुत गरेको जनाएको छ ।
सार्वजनिक टिजरले भावनात्मक कथा र काव्यात्मक शैलीमार्फत दर्शकमाझ फरक स्वाद दिन खोजेको देखिन्छ ।
टिजरको मुख्य आकर्षण भनेको कविता ‘पोम्पोईको फूल’ हो, जसलाई स्वयं आँचल शर्माले वाचन गरेकी छन् । उक्त कविताको सेरोफेरोमा टिजर निर्माण गरिएको छ, जसले सिनेमाको भावनात्मक गहिराइलाई संकेत गर्छ । टिजरमा कवितासँगै सिनेमाका प्रमुख पात्रहरूको झलक प्रस्तुत गरिएको छ, जसले कथावस्तुप्रति दर्शकको उत्सुकता बढाएको छ ।
सिनेमाकी लेखक तथा निर्देशक सहारा शर्मा का अनुसार उक्त कविता उनको व्यक्तिगत स्मृतिसँग जोडिएको छ । उनले बाल्यकालमा हजुरआमाबाट सुन्ने गरेको भावनात्मक कविता समयसँगै बिर्सिए पनि सिनेमाको सम्पादन क्रममा पुनः स्मृतिमा फर्किएको बताउनु भयो । उहाँले “यो कविता फिल्मलाई सबैभन्दा आवश्यक भएको क्षणमा फर्कियो, त्यसपछि यो कथाको अभिन्न अंश बन्यो,” भन्नुभयो ।
अभिनेत्री आँचल शर्माले पनि यो सिनेमा आफ्नो करिअरकै विशेष प्रोजेक्ट भएको बताउनु भयो । उहाँले यस फिल्ममा आफूले निर्वाह गरेको ‘माइली’ पात्र आफ्नो वास्तविक जीवनसँग नजिक रहेको अनुभव सुनाउनु भयो । “अरु सिनेमामा म फरक पात्रमा हुन्छु, तर यो सिनेमाको माइली म आफैं हुँ जस्तो लाग्छ । आफ्नै जीवनका अनुभूतिलाई पर्दामा उतार्न पाउनु मेरो लागि अत्यन्त सन्तोषजनक अनुभव हो,” उहाँले प्रतिक्रिया दिनुभयो ।
सिनेमामा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायत कलाकारको अभिनय रहेको छ । अनुभवी र नयाँ कलाकारहरूको संयोजनले सिनेमालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
अभिमन्यु दीक्षित ले निर्माण गरेको सिनेमामा निकुन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन् । यस परियोजनामा अन्तर्राष्ट्रिय सहकार्य पनि देखिएको छ, जहाँ जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेलले समेत निर्माण टिममा साथ दिनुभएको छ ।
प्राविधिक पक्षमा पनि सिनेमा सशक्त देखिन्छ । छायांकन लिन्ह डान गुयेन फानले गरेका छन् भने प्रोडक्सन डिजाइन यशस्वी सभरवालको रहेको छ । सम्पादन गौरव मल्लिकले सम्हाल्नु भएको छ भने कला निर्देशन अग्रणी ठकुरी झाले जिम्मेवारी पुरा गर्नुभएको छ । भेषभूषा डिजाइन जानकी कडायत र मेकअप कीर्ति जोशीले गर्नुभएको छ ।
सिनेमाको अधिकांश विभागमा महिला नेतृत्व देखिन्छ । मुख्य सहायक निर्देशकका रूपमा मर्णा जेम्स रह्नुभएको छ भने उहाँलाई शर्मिला आले र मीरा खड्काले सहयोग गर्नुभएको छ । यसले नेपाली फिल्म क्षेत्रमा महिलाको बढ्दो सहभागिता र नेतृत्व क्षमतालाई पनि संकेत गर्छ ।
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको सहकार्यमा निर्माण भएको यो सिनेमा नेपालमा आरआर फिल्म्समार्फत वितरण गरिनेछ । टिजर सार्वजनिक भएसँगै सिनेमाप्रति दर्शकको उत्साह बढेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्