नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

मध्यविन्दु (नवलपरासी), ७ चैतः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापानिज इन्सेफलाइटिस (जेई)विरुद्ध सञ्चालन गरिएको विशेष खोप अभियान उल्लेखनीय प्रगति गर्दै लक्ष्य नजिक पुगेको छ ।

जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा अधिकांश लक्षित नागरिकले खोप सेवा लिइसकेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईँका अनुसार चैत ६ गतेसम्म लक्षित जनसङ्ख्याको ६९ दशमलव एक प्रतिशतले खोप सेवा लिइसकेका छन् । अभियानअन्तर्गत हालसम्म एक लाख तीन हजार ७५२ जनाले खोप लगाएका छन् । जसमध्ये ४२ हजार ८४१ पुरुष र ६० हजार ९११ महिला रहेका छन् ।

“छोटो अवधिमा नै उल्लेखनीय उपलब्धि हासिल भएको छ,” उहाँले भन्नुभयो, “अभियान लक्ष्यअनुसार सफलतापूर्वक अघि बढिरहेको छ ।” जनस्वास्थ्य अधिकृत प्रवीणकुमार खनालका अनुसार जिल्लाका सबै स्थानीय तहमा खोप सेवा निरन्तर सञ्चालन भइरहेको छ । “विशेषगरी बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकामा खोपको प्रगति अत्यन्त राम्रो देखिएको छ”, उहाँले भन्नुभयो, “बौदिकालीमा ९५ दशमलव एक प्रतिशत र बुलिङटारमा ८७ प्रतिशत प्रगति भएको छ ।”

जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण दर पछिल्ला वर्षहरूमा बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्षित गरी चैत १ गतेदेखि खोप अभियान सञ्चालन गरिएको हो । अभियानमार्फत करिब एक लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

“लक्षित उमेर समूहका सबै नागरिकलाई खोप सेवा लिन आग्रह गरिएको थियो”, प्रमुख चापागाईँले भन्नुभयो, “खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भएकाले लक्ष्य नजिक पुग्न सफल भएका छौँ ।”

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा चालु आवमा मात्र जापानिज इन्सेफलाइटिसका १५ जना सङ्क्रमित फेला परेका छन्, जसमध्ये छ जनाको मृत्यु भइसकेको छ । रोगको जोखिम नियन्त्रणका लागि खोप अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्