काठमाडौं, ५ चैत । आगामी वैशाख १८ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ले सार्वजनिक भएको छ । गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै युट्युबमा १४ लाखभन्दा बढी भ्यूज पाएको छ ।
गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा यसको प्रभाव तीव्र रूपमा देखिएको छ । विशेषगरी टिकटक र फेसबुक रील्स जस्ता प्लेटफर्ममा यो गीत व्यापक रूपमा प्रयोग हुन थालेको छ । अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले प्रस्तुत गरेको नृत्य अहिले दर्शक र कन्टेन्ट क्रिएटरबीच चर्चाको विषय बनेको छ । उनीहरूले गीतमा देखाएको ऊर्जा र तालमेलले दर्शकलाई आकर्षित गरेको छ भने सोही नृत्य स्टेपहरू पछ्याउँदै हजारौं प्रयोगकर्ताले आफ्ना भिडियो बनाइरहेका छन् ।
सामाजिक सञ्जालमा सक्रिय प्रयोगकर्ताहरूले गीतको मौलिकता र लोकभाकाको प्रयोगको खुलेर प्रशंसा गरेका छन् । गीतमा समावेश सांगीतिक शैली र प्रस्तुतीकरणले नेपालीपन झल्काएको भन्दै निर्माण टिमप्रति सकारात्मक प्रतिक्रिया जनाइएको छ । समाइरा थापाको उमेरअनुसारको आत्मविश्वासी प्रस्तुति र स्वस्तिमा खड्कासँगको समन्वयलाई विशेष रूपमा सराहना गरिएको देखिन्छ ।
गीतको तयारीबारे अभिनेत्री स्वस्तिमा खड्काले छायांकनकै बीचमा अभ्यास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य दृश्यको सुटिङपछि बाँकी समयलाई उपयोग गर्दै नृत्य अभ्यास गरिएको थियो । उहाँले बालकलाकार समाइराको समर्पण र मेहनतले आफूलाई समेत प्रेरित गरेको बताउनु भयो । समग्र टिमको प्रयासकै कारण गीत राम्रो बनेको र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदा खुशी लागेको बताउनु भयो ।
यस गीतको कोरियोग्राफी प्रदीप लामाले गर्नुभएको छ । खेम सेञ्चुरी र दीपिका बयाम्बु मगरको स्वर रहेको गीतमा संगीत पनि खेम सेञ्चुरीकै रहेको छ भने शब्द रमेश बिजीको रहेको छ । गायिका दीपिकाको यसअघिको गीत ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ पनि दर्शकमाझ लोकप्रिय बनेको थियो, जसले उनको सांगीतिक यात्रा थप बलियो बनाएको छ ।
बर्दियाको राजापुरमा छायांकन गरिएको ‘लालीबजार’मा स्वस्तिमा खड्का र समाइरा थापासहित रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीलेको अभिनयमा डेब्यु रहेको छ ।
यम थापाको कथा तथा निर्देशनमा बनेको यस सिनेमाको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पार्नुभएको छ । निर्देशक थापाका अनुसार गीतलाई कथासँग जोडेर तयार गरिएको छ, जसले कथावस्तुलाई अगाडि बढाउन सहयोग पु¥याउँछ । उहाँले गीतप्रति दर्शकले देखाएको माया र समर्थनले निर्माण टिम उत्साहित बनेको बताउनु भयो ।
प्रदीप भट्टराई यस फिल्मको कार्यकारी निर्माता हुन । म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माताका रूपमा रह्नु भएको छ । ‘लालीबजार’को पहिलो गीतले दर्शकबीच सकारात्मक संकेत दिएको छ, जसले फिल्मप्रति अपेक्षा अझ बढाएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्