फिल्म ‘मितज्यू’को प्रदर्शन मिति परिमार्जन

काठमाडौं, ४ चैत । नेपाली सिनेमा ‘मितज्यू’को प्रदर्शन मिति परिमार्जन गरिएको छ । निर्माण टिमले यसअघि घोषणा गरिएको मितिभन्दा एक साता अगाडि ल्याउँदै अब सिनेमा जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा ल्याउने निर्णय गरेको हो ।

अभिनेता दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा रहेको यस चलचित्रमा चर्चित नृत्यांगना तेरिया फौजा मगर ले पहिलोपटक अभिनय गरेकी छन् । उनको डेब्यु फिल्म भएकाले पनि ‘मितज्यू’प्रति दर्शकको चासो उच्च रहेको देखिन्छ ।

निर्माण पक्षले आइतबार सार्वजनिक गरेको नयाँ पोस्टरमार्फत प्रदर्शन मिति परिवर्तनको जानकारी दिएको हो । हालसम्म सो मितिमा अन्य ठूला चलचित्र प्रदर्शनमा नआएकाले ‘मितज्यू’ले एकल प्रदर्शनको अवसर पाउने देखिएको छ । यसले व्यापारिक हिसाबले फिल्मलाई फाइदा पुग्ने विश्लेषण गरिएको छ ।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरूको भिन्न–भिन्न भाव र अवस्थाले कथाको झल्को दिने प्रयास गरिएको छ । पोस्टरमा दयाहाङ राई घाइते अवस्थामा देखिन्छन् भने सौगात मल्ल कुखुराको भाले बोकेर रमाइरहेको भावमा प्रस्तुत छन् ।

यस्तै, तेरिया फौजा मगर गम्भीर मुद्रामा देखिएकी छन् भने शिशिर वाङ्देल पनि पोस्टरमा समेटिएका छन् । यी दृश्यहरूले फिल्म सामाजिक सम्बन्ध, भावनात्मक उतारचढाव र ग्रामीण परिवेशमा आधारित हुन सक्ने संकेत गर्छन् ।

फिल्मलाई अनिल बुढा मगर ले निर्देशन गर्नुभएको छ । यस फिल्ममा लगानी जनक घर्ती मगर को रहेको छ । त्यसैगरी कथावस्तु लेखन महेश राई ले गर्नुभएको छ ।

प्राविधिक पक्षमा पनि फिल्म बलियो देखिएको छ । छायांकन शिशिर बिशंखे, सम्पादन लोकेश बज्राचार्य, संगीत श्रीकृष्ण बम मल्ल तथा पृष्ठभूमि संगीत शैलेश श्रेष्ठ ले तयार पार्नुभएको हो । यसैगरी, ध्वनि डिजाइन मुकेश शाह, नृत्य निर्देशन मिङ्मा डिलेप्चा तथा द्वन्द्व निर्देशन प्रभात विष्ट र सुरज श्रेष्ठ ले सम्हाल्नु भएको छ ।

कलाकारहरू मुख्य भूमिका बाहेक पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम र खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको देशव्यापी वितरण आरआर फिल्म्सले गर्ने भएको छ । निर्माण टिमका अनुसार ‘मितज्यू’ले नेपाली समाजका सम्बन्ध, भावना र यथार्थलाई चित्रण गर्ने प्रयास गरेको छ ।

प्रदर्शन मिति अगाडि सार्ने निर्णयले फिल्मको प्रतिस्पर्धा घटाउने र दर्शक तान्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अब जेठ ८ गतेबाट ‘मितज्यू’ले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ। फिल्मको प्रदर्शन पछि मात्र थाहा हुन्छ फिल्मले दर्शक तान्न सकेको छ वा छैन् ।

प्रतिक्रिया दिनुहोस्