काठमाडौँ,४ चैत । । नेपाल ओलम्पिक कमिटी (एनओसी)को आयोजना रहेको लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ यस शनिबार हुने भएको छ। सन् २०२२ देखि नियमित रूपमा आयोजना हुँदै आएको यो प्रतियोगिता यस वर्ष पनि विभिन्न वर्ग र दूरीमा खेलाडीहरूबीच प्रतिस्पर्धा गरिने छ।
यस पटकको म्याराथनमा पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुला ५ किलोमिटर दौड (पुरुष÷महिला), विद्यालय स्तरको ५ किलोमिटर दौड (ब्वाइज÷गल्र्स) र भेट्रान पुरुष ५ किलोमिटर दौड गरी कुल पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएका छन्। साथै, ३ किलोमिटर खुला पिस वाकाथन पनि आयोजना गरिएको छ। सबै विधामा करिब १,२०० खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ।
प्रतियोगितामा पुरस्कार रकम पनि आकर्षक राखिएको छ। पुरुष म्याराथनमा विजेताले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थानका खेलाडीले क्रमशः २ लाख ५० हजार र १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
शीर्ष १० मा पर्ने अन्य खेलाडीहरूलाई पनि नगद पुरस्कार उपलब्ध गराइनेछ। महिला हाफ म्याराथनमा विजेताले १ लाख ५० हजार, दोस्रो १ लाख, तेस्रो ८० हजार, चौथो ५० हजार र पाँचौँ ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। अन्य खुला दौड तथा भेट्रान वर्गमा पनि विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ।
एनओसीका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक अशोकरत्न वज्राचार्य का अनुसार यो म्याराथन “अन्तर्राष्ट्रिय खेलकुद दिवस”बाट प्रेरित हो, जुन प्रत्येक वर्ष अप्रिल ६ मा शान्ति, विकास र एकताको संदेश फैलाउने उद्देश्यले मनाइन्छ। उनले भने, “खेलमार्फत शान्ति, एकता र दिगो विकास प्रवद्र्धन गर्ने लक्ष्यसहित लुम्बिनीमा यो कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको छ। यसले खेलाडीलाई मात्र होइन, दर्शक र स्थानीय समुदायलाई पनि प्रेरणा दिने काम गर्छ।”
लुम्बिनी पिस म्याराथन अहिले एनओसीको प्रमुख कार्यक्रमहरूमध्ये एक बन्न पुगेको छ। यस वर्ष सहभागी खेलाडीको संख्या गत वर्षभन्दा उल्लेखनीय रूपमा बढेको देखिएको छ। प्रतियोगिताले लामो दूरीको दौडमा नेपाली खेलाडीको स्तर उकास्न र उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार पार्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ।
म्याराथनले केवल खेलमैत्री प्रतिस्पर्धा मात्र नभई शान्ति, आध्यात्मिकता र खेल पर्यटन प्रवद्र्धन गर्ने पनि लक्ष्य राखेको छ। कार्यक्रमले स्वदेशी तथा विदेशी खेलाडी, युवा, शान्ति अभियन्ता र आध्यात्मिक व्यक्तित्वलाई एउटै स्थानमा ल्याउने र लुम्बिनीलाई विश्वस्तरमा शान्ति र आध्यात्मिक गन्तव्यको रूपमा चिनाउने विश्वास लिइएको छ।
गत संस्करणमा पुरुष म्याराथन विजेता अनिश थापामगर रहेका थिए भने महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ ले पहिलो स्थान हासिल गरेका थिए। यस पटक पनि उत्कृष्ट खेल प्रदर्शनका लागि खेलाडीहरूले तयारी पूरा गरिसकेका छन्।
एनओसीका अधिकारीहरूले बताएअनुसार प्रतियोगिता स्थलमा सुरक्षा, स्वास्थ्य र खेल वातावरण सुनिश्चित गर्न सबै पूर्वाधार तयार गरिएको छ। म्याराथनले खेलाडी, दर्शक र स्थानीय समुदायबीच अन्तरक्रिया बढाउने साथै खेल संस्कृति र शान्तिको सन्देश विश्वभर फैलाउने अपेक्षा गरिएको छ।
यस प्रकार, चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ नेपाली खेलकुदमा शान्ति, प्रतिस्पर्धा र पर्यटनको अद्वितीय अवसर प्रस्तुत गर्दैछ।
प्रतिक्रिया दिनुहोस्