काठमाडौँ, २२ फागुन । काठमाडौंमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाले राजधानीको राजनीतिक परिदृश्यमा उल्लेखनीय परिवर्तनको संकेत दिएको छ। हालसम्म प्राप्त प्रारम्भिक परिणामअनुसार काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिइरहेका छन्। गए रातिबाट सुरु भएको मतगणनामा रास्वपाको पक्षमा देखिएको यो परिणामले काठमाडौंमा नयाँ राजनीतिक प्रवृत्तिको झल्को दिएको विश्लेषण हुन थालेको छ।
मतगणनाको प्रारम्भिक चरणमै राजधानीका अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारले उल्लेखनीय मतान्तर कायम गरेका छन्। परम्परागत रूपमा प्रतिस्पर्धी रहँदै आएका नेपाली कांग्रेस, नेकपा एमाले तथा राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलका उम्मेदवारहरू धेरै क्षेत्रमा पछाडि परिरहेका देखिएका छन्।
काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शना उल्लेखनीय मतान्तरसहित अग्रस्थानमा रहेकी छन्। पछिल्लो मतपरिणामअनुसार उनले १० हजार ५ सय ८१ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापा क्षेत्री ले ४ हजार ७ सय ३३ मत पाएका छन्।
यस क्षेत्रमा रवीन्द्र मिश्र (राप्रपा) तेस्रो स्थानमा छन्। उनले २ हजार ७ सय ४४ मत प्राप्त गरेका छन्। प्रारम्भिक परिणामले रञ्जु दर्शना विजय नजिक पुगेको संकेत गरेको छ।
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी अग्रता कायम राखिरहेका छन्। यद्यपि यहाँको प्रतिस्पर्धा तुलनात्मक रूपमा नजिक देखिएको छ। केसीले ४ सय २४ मत प्राप्त गरेका छन् भने एमालेका मणिराम फुयाल ले २ सय ३६ मतसहित पछ्याइरहेका छन्।
यसै क्षेत्रमा कांग्रेसका कबिर शर्मा ले १ सय ८९ मत प्राप्त गरेका छन् भने राप्रपाकी कुन्तिदेवी पोखरेल ले ५७ मत पाएकी छन्।
काठमाडौं क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डे अग्रस्थानमा छन्। उनले ४ हजार ६ सय ४९ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी कुलमान घिसिङ (उज्यालो नेपाल पार्टी) ले ३ हजार ३ सय ४१ मत ल्याएका छन्। कांग्रेसका रमेश अर्याल ले १ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् भने एमालेका रामेश्वर फुयाल ले ९ सय ४९ मत ल्याएका छन्।
काठमाडौं–४ मा रास्वपाका पुकार बम ले अग्रता लिएका छन्। उनले ३ हजार ९ सय २२ मत प्राप्त गरेका छन्।
कांग्रेसका सचिन तिमिल्सिना १ हजार ९५ मतसहित दोस्रो स्थानमा छन् भने एमालेका राजन भट्टराई ले ९ सय ५६ मत प्राप्त गरेका छन्।
काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल अग्रता कायम राखिरहेका छन्। उनले ३ हजार ७ सय मत प्राप्त गरेका छन्।
कांग्रेसका प्रदीप पौडेल ले १ हजार ७८ मत ल्याएका छन् भने एमालेका ईश्वर पोखरेल ले ६ सय ९९ मत प्राप्त गरेका छन्।
काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल उल्लेखनीय मतान्तरसहित अगाडि छन्। उनले ४ हजार ६ सय ५४ मत प्राप्त गरेका छन्।
अन्य दलका उम्मेदवारले भने अझै हजार मतको सीमा पार गर्न सकेका छैनन्। एमालेका अमनकुमार मास्के तथा कांग्रेसका कृष्ण बानियाँ क्षेत्री निकै पछाडि देखिएका छन्।
काठमाडौं–७ मा पनि रास्वपाका गणेश पराजुली फराकिलो मतान्तरसहित अग्रस्थानमा छन्। उनले ४ हजार ६ सय ७७ मत प्राप्त गरेका छन्।
एमालेका प्रकाश श्रेष्ठ र कांग्रेसका प्रमोदहरि गुरागाईं ले हजार मत पनि कटाउन सकेका छैनन्।
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजय उन्मुख देखिएका छन्। उनले ७ हजार ६ सय १७ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा कांग्रेस, एमाले तथा अन्य दलका उम्मेदवारको मत संख्या हजारको हाराहारीमा मात्र देखिएको छ।
काठमाडौं–९ मा रास्वपाका डिपी अर्याल १ हजार ५ सय ५२ मतसहित अग्रता लिइरहेका छन्।
उनका प्रतिस्पर्धी कांग्रेसका नानु बास्तोला ले २ सय ६१ मत प्राप्त गरेका छन् भने एमालेका अजयक्रान्ति शाक्य ले १ सय ५२ मत प्राप्त गरेका छन्।
काठमाडौं–१० मा रास्वपाका प्रदीप विष्ट ले ५ हजार ७ सय ६५ मतसहित उल्लेखनीय अग्रता लिएका छन्।
कांग्रेसका हिमाल कार्की ले १ हजार ७८ मत प्राप्त गरेका छन् भने एमालेका विनोद श्रेष्ठ ले ७ सय ३१ मत ल्याएका छन्।
काठमाडौंका केही क्षेत्रमा मध्यरातदेखि नै मतगणना सुरु गरिएको थियो। त्यसका कारण केही निर्वाचन क्षेत्रमा परिणाम छिट्टै आउने सम्भावना देखिएको छ। निर्वाचन अधिकृतहरूका अनुसार अधिकांश क्षेत्रमा आज साँझसम्म अन्तिम परिणाम आउने अपेक्षा गरिएको छ। केही स्थानमा भने मतगणना ढिलो सुरु भएकाले परिणाम राति अबेर वा भोलि बिहानसम्म सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।
काठमाडौंमा देखिएको यो प्रारम्भिक परिणामले राजधानीको मतदाताबीच नयाँ विकल्पप्रतिको आकर्षण बढिरहेको संकेत दिएको राजनीतिक विश्लेषकहरूको धारणा छ। पछिल्ला वर्षहरूमा परम्परागत दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, सुशासनको माग र नयाँ राजनीतिक शक्ति उदाउने अपेक्षाले मतदाताको व्यवहारमा परिवर्तन आएको देखिन्छ।
यद्यपि यी परिणाम प्रारम्भिक मतगणनामा आधारित भएकाले अन्तिम परिणाम आउन बाँकी छ। मतगणना अघि बढ्दै जाँदा मतान्तर घटबढ हुन सक्ने भए पनि हालसम्मको प्रवृत्तिले काठमाडौंको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तनको संकेत दिएको देखिन्छ।
राजधानीका मतदाताले दिएको संकेतले आगामी दिनमा राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषण गर्न थालिएको छ। अहिलेका लागि भने सबैको ध्यान मतगणनाको अन्तिम परिणामतर्फ केन्द्रित भएको छ।
प्रतिक्रिया दिनुहोस्