दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिँदै

काठमाडौँ, २१ फागुनः नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग र समन्वयमा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षित रुपमा सम्पन्न भएको जनाएको छ ।

निर्वाचन सम्पन्न भएपछि रासससँग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसारका तयारीले निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न सहयोग पुगेको बताउनुभयो ।

“निर्वाचन सुरक्षाका लागि धनगढी, सुर्खेत, बुटवल, पोखरा, काठमाडौँ, हेटौँडा, बर्दिवास, इटहरी र विराटनगरमा १६ वटा जहाज तयारी अवस्थामा राखिएको थियो”, सैनिक प्रवक्ता बस्नेतले भन्नुभयो । आमनागरिकको सूचना र अन्य सुरक्षा निकायको सहयोगमा निर्वाचनलाई लक्षित गरी भएका शङ्कास्पद गतिविधिलाई समयमै सुरक्षित तवरमा निस्तेज तुल्याइएको उहाँको भनाइ छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले गत माघ २१ गतेदेखि निर्वाचनका लागि सेना परिचालित भएको थियो । निर्वाचन अवधिमा शङ्कास्पद वस्तु तथा विस्फोटक पदार्थलगायत ७१ वटा फेला परेका थिए । ती विस्फोटक पदार्थ प्रतिकार्यका लागि ८१६ वटा टोली परिचालित भएको थियो ।

निर्वाचनपूर्व र मतदानका दिन सुरक्षाका लागि तैनाथ गरिएको हेलिकोप्टर अब मतपेटिका ओर्सान प्रयोग गरिनेछ । निर्वाचन आयोगको योजनाका आधारमा दुर्गम क्षेत्रका मतदान केन्द्रबाट ती मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हेलिकोप्टरमार्फत ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्