सिद्धार्थनगर (रुपन्देही), १५ फागुनः नेपाल मगर सङ्घ देवदह नगर समिति रुपन्देहीले ४४औँ मगर एकता दिवस, २०८२ विभिन्न कार्यक्रमका साथ मनाएको छ । फागुन १५ लाई साङ्गठनिक पर्वका रूपमा मनाउँदै आएको सङ्घले देवदहस्थित पानबारीमा विशेष कार्यक्रम आयोजना गरेको हो ।
सङ्घका अध्यक्ष किशनबहादुर थापाको अध्यक्षता तथा आदिवासी जनजाति आयोगका सदस्य डा मीन श्रीसको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै डा श्रीसले मातृभाषा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण र प्रवर्द्धनका लागि तीनै तहका सरकारले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभयो । मातृभाषासँग समुदायको संस्कृति र इतिहास गाँसिएको उल्लेख गर्दै उहाँले मातृभाषामा शिक्षा लागू गर्न र स्थानीय तहको कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।
देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले मातृभाषा, संस्कार र संस्कृति राष्ट्रको गहना भएकाले यसको संरक्षण, पुस्तान्तरण र प्रवर्द्धनमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । मातृभाषा अभियन्ता भीमप्रसाद गुरुङले भाषा र संस्कारबिना जातीय पहिचान सुदृढ हुन नसक्ने उल्लेख गर्दै मातृभाषा संरक्षणमा सरकारी लगानी बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सङ्घका केन्द्रीय लेखा सदस्य जसबहादुर पुन, आदिवासी जनजाति महासङ्घका मीना श्रेष्ठ, पूर्वअध्यक्ष लालबहादुर दर्लामी, नारायण श्रीसलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । मगर भाषा संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै भीमप्रसाद गुरुङलाई सम्मान गरिएको सङ्घले जनाएको छ । साथै ज्येष्ठ नागरिक, विद्यार्थी तथा लोकसेवा आयोगमा नाम निकाल्न सफल मगर समुदायका व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो ।
यसअघि खैरेनीबाट सुरु भएको र्याली पानबारी पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सोरठी, झ्याउरे, घाटुलगायत सांस्कृतिक नृत्य प्रस्तुत भएका छन् । सङ्घका उपाध्यक्ष मिलन मास्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव चोलीमाया रानाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्