मिथिलाञ्चलका गाउँगाउँमा जोगिरा सररर… 

जलेश्वर (महोत्तरी), १४ फागुनः होली पर्वको आगमनसँगै मिथिलाञ्चलका गाउँगाउँमा ‘जोगिरा’ (एक प्रकारको होलीको गीत) गाउन सुरु भएको छ । महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका प्रत्येक गाउँ टोलसहित सम्पूर्ण मिथिलाञ्चलमा प्रत्येक राति ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलयायत बाजागाजाका साथ जोगिरा गाउन सुरु गरिएको हो ।
होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँटोलका युवा, वृद्धा र वयस्कहरूको छुट्टाछुट्टै टोली आ–आफ्ना समूहमा विभिन्न प्रकारका जोगिरा गाउने परम्पराअनुसार यस वर्ष जोगिराबाट मनोरञ्जनसहित परम्परा संरक्षण गर्न थालिएको जलेश्वर नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका होलैया (जोगिरा गाउने) रामछविला यादवले बताउनुभयो ।
विभिन्न प्रकारका लोकभाका, गीत, चुटकिला, हाँसोठट्टा र जिस्काउने तीतामिठा वाक्य र शब्दलाई लयमा ढालेर मिथिलावासीले जोगिरा गाउन थालेका बताउँदै यसले मौलिक परम्परा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जलेश्वर-२ का विनोद मण्डलले बताउनुभयो ।
होलीको अवसर पारेर जोगिरा गाउनका लागि युवाहरू देशविदेशबाट आ–आफ्ना गाउँ फर्किएका छन् भने गाउँगाउँमा जोगिराको धुनले अहिले रातभरि मनोरञ्जन प्रदान गर्न थालेको पिपरा गाउँपालिका–७ का सञ्चारकर्मी एवं होलैया नवीन मिश्रले बताउनुभयो ।
जलेश्वर–९ का होलैया जीतेन्द्र सिंहले भन्नुभयो,“आफूहरू जोगिरा गाउनका लागि अहिले रातिको बेला घरघरबाट समूहमा जम्मा भएर परम्परा संरक्षण र पुस्तान्तरणमा जुटेका छौँ ।”
जोगिराले एकआपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुरसम्बन्ध निर्माण गर्ने भएकाले रातिको बेला गाउँका चोकचोकमा समूहमा भेला भएर जोगिरा गाउने गरेको जलेश्वर– ८ का होलैया रामबाबु चौधरीले बताउनुभयो ।
महोत्तरीसहित नेपाल र भारतका क्षेत्रमा पर्ने सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा सुरु भएको जोगिरा गायन होली पर्वको एकदिन पहिलेको रातिसम्म गाउने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्