ढोरपाटन (बागलुङ), १४ फागुनः बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्न गाउँमा पुगेका उम्मेदवारलाई मतदाताले बाँदर आतङ्कले गाउँमा बस्न गाह्रो भएको गुनासो पोखेका हुन् ।
जैमिनी नगरपालिका–५ की कुमारी थापाले बसाइँसराइका कारण गाउँ रित्तो हुँदै गएपछि बाँदर गाउँका घरमा बस्न थालेको उहाँले बताउनुभयो । बारीमा लगाएको बालीदेखि घरमा राखेको सबै सामान बाँदरले नष्ट गरी दिँदा गाउँमा बस्न सक्ने अवस्था नभएको उहाँको भनाइ छ । टोल छिमेकी सबै बजार झरेको भन्दै गाउँमा बस्ने वातावरण बनाउने नेतालाई जिताउनुपर्ने थापा बताउनुहुन्छ ।
“बाँदरले गाउँमा बस्न गाह्रो बनाइ सक्यो, न बारीका बाली राम्रो हुन दिन्छ, न घरमा राखेका सरसामान सुरक्षित हुन्छन्, यस्तो अवस्थामा कसरी गाउँमा बस्न सकिन्छ र ?” उहाँले भन्नुभयो, “पहिलो मान्छे विकास नभएर बजार झरे, अहिले विकास भएको छ तर बाँदरका कारण गाउँ छोड्नुपर्ने अवस्था आएको छ, जसले बाँदर नियन्त्रण गर्ने योजना ल्याउँछ उसैलाई भोट दिने हो ।”
स्थानीय प्रतीमा पौडेलले केटाकेटी र वृद्धवृद्धालाई गाउँमा एक्लै बस्ने समस्या हुने गरेको बताउनुभयो । पहिले वनमा बस्ने बाँदर हिजोआज गाउँमा बस्न थालेको भन्दै केटाकेटी र बूढाबूढीलाई आक्रमण गर्न आउने उहाँको भनाइ छ । घर छोडेर मेलापातमा जाँदा एक÷दुई जना घर कुरुवालाई राखेर जानुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयोे ।
उहाँले भन्नुभयो, “पछिल्लो पाँच वर्षदेखि गाउँमा बाँदरले आतङ्क मच्चाएको छ, हुने खानेहरु सबै सहर बजार गइसके, गाउँमा हुने त उही सामान्य परिवारका मात्रै छन्, पहिले पहिले गाउँमा धेरै मान्छेहरु भएर होला बाँदर डराउँथे, अहिले त धपाउन खोज्दा उल्टै आक्रमण गर्न आउँछन् यो हिसाबले गाउँमा बस्न सक्ने अवस्था छैन, चुनावमा भोट माग्न आउने नेतालाई बाँदर नियन्त्रण गरी गाउँमा बस्ने वातावरण मिलाइ दिनु अनुरोध गरेका छौँ ।
बरेङ–१ तमबहादुर विकले जनताको माग र आवश्यकतालाई बुझेर काम गर्ने नेतालाई भोट दिने बताउनुभयो । धेरै थरिका नेताहरु भोट माग्न आइरहेको उहाँको भनाइ छ । यसपालि किसानका समस्यमा बुझ्ने उम्मेदवारलाई भोट दिने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्