धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

 

धादिङ, ११ फागुन । पोखराबाट ३४ यात्रु लिएर काठमाडौँतर्फ छुटेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको पुष्टि भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक समिति का अनुसार ग १ ख १४२१ नम्बरको उक्त बस आइतबार साँझ ७ बजे पोखराको पर्यटक बसपार्कबाट काठमाडौँका लागि छुटेको थियो । समितिका अध्यक्ष ऐनबहादुर साईले बस छुट्दा ३४ यात्रुसहित चालक र दुई कर्मचारी गरी ३७ जना सवार रहेको जानकारी दिनुभयो । बीच बाटोमा थप यात्रु चढेको अनुमान गरिए पनि विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

दुर्घटना आज विहान करिब १ बजे बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा मा भएको हो । पृथ्वी राजमार्ग अन्तर्गतको उक्त स्थानबाट बस करिब ३ सय मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । बस क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

 

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेको पहिचान खुलाउने कार्य जारी छ । हालसम्म ६ महिला र १२ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । घाइतेमध्ये २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । पछिल्लो विवरणअनुसार उपचारका क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर मा एक जनाको मृत्यु भएपछि मृतक संख्या १८ पुगेको हो ।

दुर्घटनामा एक जना न्यूजील्याण्डका नागरिकसमेत परेका छन् । विदेशी नागरिकसहितका यात्रु भएकाले दूतावास समन्वय र पहिचान प्रक्रिया पनि अघि बढाइएको जनाइएको छ ।

दुर्घटनास्थल दुर्गम र अँध्यारो भएकाले उद्धारकार्य चुनौतीपूर्ण बनेको थियो । प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार रातिको समय, अप्ठेरो भू–भाग र आवश्यक सामग्रीको अभावले उद्धारमा कठिनाइ भयो । “टर्च बाल्दै घाइतेहरूको उद्धार गर्नुप¥यो, पर्याप्त उपकरणको कमी महसुस भयो,” उहाँले बताउनुभयो ।

घटनास्थलबाट यात्रुहरूलाई डुंगाको सहायताले करिब एक किलोमिटर तलसम्म पु¥याएर त्यहाँबाट सडकमा उकालो लगेर एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो ।
उद्धारकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको थियो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

दुर्घटनाको कारणबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन । यद्यपि प्रारम्भिक अनुमानअनुसार रातिको समय, सडकको भौगोलिक अवस्था र सम्भावित चालक नियन्त्रण गुम्नु जस्ता कारण हुनसक्ने आशंका गरिएको छ । प्राविधिक परीक्षण र अनुसन्धानपछि मात्र स्पष्ट निष्कर्ष आउने प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग नेपालको अत्यन्त व्यस्त र संवेदनशील मार्गमध्ये एक हो । विशेषगरी रातिको समयमा तीव्र गति, थकान, साँघुरो सडक र नदी किनारका जोखिमपूर्ण मोडहरूले दुर्घटनाको सम्भावना बढाउने विज्ञहरूको भनाइ छ ।

यो दुर्घटनाले पुनः एकपटक लामो दूरीका रात्रीकालीन यात्राको सुरक्षा, सवारीको प्राविधिक जाँच, चालकको कार्यघण्टा व्यवस्थापन र सडक पूर्वाधार सुधारको विषयमा प्रश्न उठाएको छ । यात्रु सुरक्षालाई प्राथमिकता दिन सम्बन्धित निकायबीच समन्वित पहल आवश्यक देखिएको छ ।

हाल घटनास्थलको थप अनुसन्धान जारी छ । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले घाइतेहरूको उपचारमा कुनै कमी नहुने जनाएको छ । दुर्घटनाले परिवार र समाजमा गहिरो शोक छाएको छ भने सुरक्षित यात्राको आवश्यकता पुनः स्मरण गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्