मिथिलामा १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सुरु

जनकपुर, ५ फागुनः मिथिलाको महाकुम्भ मानिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धनुषाको मिथिला विहारी नगरपालिका ठेरा कौचरीस्थित मिथिला विहारी मन्दिरबाट माध्यमिकी परिक्रमा सुरु गर्नुभएको हो ।
मिथिला विहारी नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्रीले परिक्रमाको सुरुआत गराउनुभयो । परिक्रमामा सहभागी भएका तीर्थयात्रीले नेपाल र भारतको १३३ किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तनसहित तय गर्नुहुनेछ ।
जनकपुरधामको अग्निकुण्डबाट किशोरीजीको डोला अर्थात् माता सीता र मिथिला विहारीबाट भगवान् रामको डोलासँगै परिक्रमाका सहभागीले १५ दिन लगाएर हिँड्ने गर्दछन् । परिक्रमाका क्रममा नेपालको ११ धार्मिक ऐतिहासिक ठाउँमा विश्राम गर्दै १०७ किलोमिटर दूरी तय गर्ने चलन छ भने भारतको २६ किलोमिटरका चार धार्मिकस्थलमा विश्राम गर्दै हिँड्ने गरेका छन् ।
मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्