काठमाडौं, २९ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालमै विकसित राष्ट्रिय कार्ड स्किम ‘नेपालपे’ जारी गर्ने पहिलो बैंकको रूपमा नयाँ उपलब्धि हासिल गरेको छ ।
यसका लागि बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल पेमेन्ट सिस्टम (एनपीएस) अन्तर्गतको डोमेस्टिक कार्ड स्किम सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको हो । उक्त सहकार्यबाट ईएफटी स्विचमार्फत नेपालपे कार्डको औपचारिक सञ्चालनको बाटो खुलेको छ ।
सम्झौतापत्रमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतासँगै सिटिजन्स बैंक एनसीएचएलको ईएफटी सदस्य संस्थामध्ये नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बनेको छ, जसले घरेलु भुक्तानी पूर्वाधार सुदृढीकरणतर्फ महत्वपूर्ण संकेत दिएको छ ।
यस पहलपछि सिटिजन्स बैंकका एटीएम र पीओएस टर्मिनलहरूमा नेपालपे कार्डको प्रयोग सम्भव हुने छ । साथै, ती टर्मिनलहरूमा डिस्कभर, डाइनर्स र पल्स जस्ता अन्तर्राष्ट्रिय कार्डहरू पनि स्वीकार गरिने बैंकले जनाएको छ ।
यसले बैंकका ग्राहकहरूलाई भुक्तानीका थप विकल्प उपलब्ध गराउने मात्र होइन, विदेशी कार्ड नेटवर्कमाथिको निर्भरता घटाउँदै स्वदेशी कार्ड प्रणालीको प्रयोग बढाउने अपेक्षा गरिएको छ ।
बैंकका अनुसार, ग्राहकहरूले निकट भविष्यमा एनसीएचएलमार्फत जारी हुने नेपालकै आफ्नै कार्ड स्किम—नेपालपे कार्ड—प्राप्त गर्न सक्नेछन् । स्वदेशी कार्ड प्रणालीको विस्तारले लेनदेन लागत घट्ने, भुक्तानी सुरक्षामा सुधार हुने र डिजिटल भुक्तानीलाई थप पहुँचयोग्य बनाउने विश्वास लिइएको छ ।
सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा फैलिएको आफ्नो सेवा सञ्जालमार्फत २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइबाट सेवा दिँदै आएको छ ।
करिब १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले डिजिटल नवप्रवर्तनलाई प्राथमिकतामा राखेको जनाएको छ ।
नेपालपे कार्ड सञ्चालनमा आएसँगै राष्ट्रिय भुक्तानी प्रणाली थप मजबुत हुने, डिजिटल कारोबारको दायरा विस्तार हुने र वित्तीय समावेशीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सिटिजन्स बैंकको यो कदमले बैंकिङ क्षेत्रमा स्वदेशी प्रविधि र पूर्वाधारको प्रयोगलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्