काठमाडौँ, २५ माघ । यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा’ नेपाली सेनाका अमल्दार राजन रोकायले निर्धारित दूरी दुई घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गर्नुभएको छ ।
महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा सेनाकै हुद्धा खड्गबहादुर खड्काले दोस्रो स्थान प्राप्त गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ । हाफ म्याराथनमा पुरुषतर्फ सेनाका अमल्दार गजिन्द्र राईले निर्धारित दूरी एक घण्टा चार मिनेट ४५ सेकेन्डमा पूरा गरी प्रथम हुनुभयो । त्यस्तै महिलातर्फ सन्तोषी श्रेष्ठले निर्धारित दूरी एक घण्टा १४ मिनेट ३१ सेकेन्डमा पूरा गरी प्रथम हुनुभएको निर्देशनालयले जनाएको छ ।
‘बलियो एकता, सुरक्षित राष्ट्र’ नाराका साथ आयोजित एघारौँ संस्करणमा ४२.१९५ किलोमिटर खुला म्याराथन तथा २१ किलोमिटर हाफ म्याराथन महिला र पुरुष दुवै विधा समावेश गरिएको थियो ।
प्रतियोगिताअन्तर्गत १० किलोमिटर दूरीको छात्र तथा छात्रा, सैनिक अधिकृत, सैनिक सहचारी तथा पाँच किलोमिटर दूरीको आधारभूत विद्यालय तहका छात्र÷छात्रा र पाँच किलोमिटर वाकाथन विधा समावेश थियो ।
त्यस अवसरमा प्रतियोगिताका विजयी धावकलाई प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानसेनापतिहरू, सैनिक श्रीमती संघकी अध्यक्ष, बलाधिकृत, नेपाल सरकारका सचिव तथा काठमाडौँ महानगरपालिका प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको थियो । उक्त प्रतियोगिताअन्तर्गत ४२.१९५ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमी दूरीको हाफ म्याराथन भयो ।
हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमश ः एक लाख, ७५ हजार र ५० हजार प्रदान गरिएको छ । सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकाश प्राप्त तथा सेवारत सकल दर्जा र गैरसैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किमी दुरीको दौड आयोजना सम्पन्न भयो ।
पाँच किमी दुरीको वाकाथनमा प्रधानसेनापति सिग्देललगायत सैनिक तथा गैरसनिक व्यक्ति सहभागी हुनुभयो । सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित पाँच किमी दूरीको दौड पूरा गरे ।
दश किमी र पाँच किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद प्रदान गरिएको छ । विसं २०७२ देखि प्रत्येक वर्ष महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजना हुँदै आएको यस ११ संस्करणको प्रतियोगितामा विभिन्न पाँच विधामा करिब दुई हजार ५०० धावकको सहभागिता रहेको थियो । यस वर्ष महाशिवरात्री तथा सेना दिवस आगामी फागुन ३ गते परेको छ ।
प्रतिक्रिया दिनुहोस्