काठमाडौँ, २५ माघ । भारतको मेघालय राज्यको पूर्वी जयन्तिया हिल्स जिल्लास्थित उम्साङघाट क्षेत्रमा सञ्चालित एक अवैध कोइलाखानीमा भएको डाइनामाइट विस्फोटमा परेर तीन जना नेपालीसहित कम्तीमा १९ जनाले ज्यान गुमाएका छन् । घटनामा घाइते भएका थप एक नेपालीको उपचारका क्रममा मृत्यु भएसँगै मृतक नेपालीको संख्या तीन पुगेको हो ।
विस्फोटमा गम्भीर घाइते भएका खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका–१ सालघारीका ३५ वर्षीय नरबहादुर खपाङ्गीको माघ २३ गते दिउँसो उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यम द शिलोङ टाइम्स ले जनाएको छ । उहाँ शिलाङस्थित उत्तरपूर्वी इन्दिरा गान्धी क्षेत्रीय स्वास्थ्य तथा चिकित्सा विज्ञान संस्थानमा उपचाररत हुनुहुन्थ्यो । अस्पताल स्रोतका अनुसार नरबहादुरको शरीरको अधिकांश भाग जलेको थियो ।
यसअघि माघ २२ गते सोही खानीमा भएको डाइनामाइट विस्फोटमा नरबहादुरका आफन्त तथा एउटै घरका दाजुभाइ २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र २४ वर्षीय सुरेन्द्र खपाङ्गीको घटनास्थलमै मृत्यु भएको थियो । एउटै परिवारका तीन सदस्यले ज्यान गुमाएपछि खोटाङको बराहपोखरी–सालघारी गाउँ अहिले शोकमा डुबेको छ ।
स्थानीयका अनुसार तीनै जना रोजगारीका लागि गत पुस ३ गते मेघालय गएका थिए । खानीमा जोखिमपूर्ण काम गर्नुपरे पनि घरपरिवारको आर्थिक अवस्था सुधार्ने आशाले उनीहरू भारत गएको बताइन्छ । तर अवैध रूपमा सञ्चालन भइरहेको खानीमा भएको विस्फोटले उनीहरूको जीवन यात्रालाई अकालमै अन्त्य गरिदियो । रोजगारी र जीवनस्तर उकास्ने आशामा भारत पुगेका नेपाली श्रमिकहरूका लागि मेघालयको कोइलाखानी फेरि पनि मृत्युकै कारण बनेको छ ।
विस्फोटमा परेर सोही गाउँका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, बराहपोखरी–भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी तथा उदयपुरको साउने निवासी ४० वर्षीय ललित मगर गम्भीर घाइते भएका छन् । उनीहरूको मेघालयका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बराहपोखरी–वालम्पाका ताराबल मगर भने सकुशल रहेको बताइएको छ । ताराबलले नै फोनमार्फत नेपालमा रहेका आफन्त र स्थानीय जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराउनु भएको थियो ।
भारतीय सुरक्षाकर्मी र उद्धार टोलीका अनुसार विस्फोट भएको खानीको भित्री भागमा अझै दर्जनौं कामदार फसेको अनुमान गरिएको छ । खानी जमिनमुनि गहिराइमा भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । निरन्तर प्रयास जारी रहे पनि जोखिमका कारण उद्धार कार्य अपेक्षाकृत ढिलो भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
मेघालयमा कोइला उत्खनन लामो समयदेखि विवादित विषय रहँदै आएको छ । भारतको सर्वोच्च अदालतले वातावरणीय जोखिम र श्रमिक सुरक्षाको कारण देखाउँदै ‘¥याट–होल माइनिङ’ प्रणालीमार्फत हुने कोइलाखानी उत्खननमा प्रतिबन्ध लगाइसकेको भए पनि व्यवहारमा अवैध खानी सञ्चालन रोकिएको छैन । यस्ता खानीमा प्रायः न्यून मजदुरीमा बाहिरबाट आएका श्रमिकहरूलाई जोखिमपूर्ण काममा लगाइने गरेको छ ।
विशेषगरी नेपाल, बंगलादेश र भारतकै अन्य राज्यबाट गएका श्रमिकहरू यस्ता खानीमा कार्यरत हुने गरेका छन् । सुरक्षा मापदण्डको चरम अभाव, आपतकालीन उद्धार संयन्त्रको कमजोरी र विस्फोटक पदार्थको अव्यवस्थित प्रयोगका कारण बारम्बार मानवीय क्षति हुने गरेको छ ।
सम्पत्ति कमाउने र परिवारको भविष्य सुधार्ने सपना बोकेर गएका आफन्तको मृत्युको खबर पाएपछि बराहपोखरी–सालघारी गाउँ शोकमग्न बनेको छ । गाउँभरि शोकको वातावरण छ भने पीडित परिवारका सदस्यहरू मेघालयतर्फ प्रस्थान गरिसकेका छन् । मृतकको शव ल्याउने, घाइतेको उपचार व्यवस्थापन र कानुनी प्रक्रियाका लागि परिवारहरू स्थानीय तह र सरोकारवाला निकायसँग सहयोगको अपेक्षा गरिरहेका छन् ।
स्थानीयवासीका अनुसार वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान नसक्ने आर्थिक अवस्था भएका धेरै युवा भारतका खानी, निर्माण क्षेत्र र होटल–रेस्टुरेन्टमा काम गर्न बाध्य छन् । तर यस्ता जोखिमपूर्ण काममा नेपाली श्रमिकको सुरक्षा र अधिकार सुनिश्चित गर्ने विषय सधैं ओझेलमा पर्ने गरेको गुनासो छ ।
घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारलाई दुई लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । साथै घाइतेहरूको उपचारका लागि ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइने पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यस घोषणालाई पीडित परिवारका लागि केही राहतका रूपमा हेरिए पनि मृतकका आफन्तले दीर्घकालीन सहयोग र घटनाको निष्पक्ष छानबिनको माग गरिरहेका छन् । अवैध खानी सञ्चालनमा संलग्न व्यक्ति र संरचनामाथि कडा कारबाही नभएसम्म यस्ता दुर्घटना दोहोरिरहने उनीहरूको भनाइ छ ।
मेघालयको यो घटनाले फेरि एकपटक भारतमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र अधिकारको विषयलाई सतहमा ल्याएको छ । सरकारी तथ्यांकअनुसार ठूलो संख्यामा नेपालीहरू अनौपचारिक र जोखिमपूर्ण क्षेत्रमा काम गरिरहेका छन् । तर उनीहरूको श्रम सुरक्षा, बीमा र आपतकालीन सहयोगका विषयमा स्पष्ट संयन्त्र नहुँदा यस्ता दुर्घटनामा परेपछि परिवारले ठूलो पीडा भोग्नुपर्ने अवस्था रहन्छ ।
यस घटनापछि नेपाल सरकार र भारतीय प्रशासनबीच समन्वय, अवैध खानी नियन्त्रण, श्रमिकको दर्ता र सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने विषयमा गम्भीर पहल आवश्यक देखिएको छ । अन्यथा रोजगारीको खोजीमा सीमापार गर्ने नेपाली युवाको जीवन जोखिममै पर्ने यथार्थ पुनःपुनः दोहोरिरहनेछ ।
मेघालयको कोइलाखानीमा भएको यो विस्फोट केवल एउटा दुर्घटना होइन, श्रमिक सुरक्षा, अवैध उत्खनन र राज्य संयन्त्रको कमजोरीको गम्भीर परिणाम हो । पीडित परिवारको आँसु र गाउँको शोकले यस घटनालाई केवल तथ्यांकमा सीमित नराखी गहिरो आत्ममन्थनको विषय बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्