‘‘भिजन छ, इमान्दारी छ, तर बजेट र प्रणालीले वडाको विकास रोकिएको छ” – वडाअध्यक्ष भुलुन

वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिँदै रामबहादुर भुलुन तामाङ बागमती गाउँपालिका, वडा नं. २ ललितपुरको वडाअध्यक्षमा निर्वाचित भए । जनताको विश्वास र समर्थनका आधारमा निर्वाचित भुलुन विगत साढे तीन वर्षदेखि वडाको विकास, निर्माण र सेवा प्रवाहका काममा निरन्तर सक्रिय छन् ।

उनका अनुसार जनप्रतिनिधिको भूमिकामा रहँदा चुनौतीहरू धेरै आए, तर ती चुनौतीभित्रै सम्भावनाका बाटाहरू पनि देखिए । सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आधारभूत आवश्यकता पूरा गर्ने दिशामा वडालाई अघि बढाउने प्रयास गरिरहेको उनी बताउँछन् । गाउँका टोल–टोलमा पुगेर नागरिकका समस्या सुन्ने, समाधान खोज्ने र व्यवहारिक काममार्फत भरोसा जगाउने शैलीले वडावासीको मन जित्न सफल भएका वडाअध्यक्ष भुलुनसँग रामहरि कार्कीले गरेको कुराकानीको सम्पादित अंशः

प्रश्न ः वडा अध्यक्ष भएपछि तपाईंले वडामा गर्नुभएका मुख्य–मुख्य कामहरू के–के हुन् ?

वडा अध्यक्ष निर्वाचित भएपछि मैले सबैभन्दा पहिला जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका कामहरूलाई प्राथमिकता दिएँ । नागरिकता, जन्मदर्ता, विवाहदर्ता, मृत्यु दर्ता, विभिन्न सिफारिस, सामाजिक विवाद समाधान, मुद्दा मामिला मिलाउनेजस्ता कामहरू नै जनप्रतिनिधिका दैनिक कार्य हुन् ।
यससँगै बिरामी परेका नागरिकलाई अस्पतालमा उपचारको व्यवस्था मिलाउने, विपन्न वर्गलाई आर्थिक सहयोग गर्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्ने काम पनि निरन्तर भइरहेको छ ।
भौतिक विकासतर्फ खानेपानी, सिँचाइ, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, भवन निर्माण तथा सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको छु ।

 

प्रश्न ः जनप्रतिनिधिले सडक निर्माणलाई प्राथमिकतामा राख्ने गरेको देखिन्छ । तपाईंको वडामा कुन–कुन सडक निर्माणलाई प्राथमिकता दिनुभएको छ ?

विकासको पहिलो मेरुदण्ड सडक नै हो । सडक बनेपछि शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक गतिविधि सहज हुन्छन् । तर हाम्रो वडाको मुख्य चुनौती भनेकै भौगोलिक विकटता हो ।
मोटर बाटोको ट्रयाक खोल्न त सकिन्छ, तर नियमित सञ्चालनमा ल्याउन निकै कठिनाइ हुन्छ । एक दिन राम्रोसँग पानी प¥यो भने महिनौँसम्म सडक अवरुद्ध हुने अवस्था आउँछ ।

२०७२ सालको भूकम्पपछि पुनर्निर्माणलाई ध्यानमा राख्दै मोटर बाटोलाई प्राथमिकतामा राखेर काम गर्यौँ । साविक वडा नम्बर ४ अन्तर्गत पाखोला, ढुङ्गेपानीजस्ता विकट क्षेत्रमा पनि मोटर बाटो पु¥याउन सफल भयौँ । हाम्रो लक्ष्य अझै छोकोरसम्म सडक पु¥याउने हो ।
सबैभन्दा महत्वपूर्ण आयोजना भनेको कान्तिराजमार्गको सालघारीबाट माल्टा फाँट हुँदै बगुवा जोड्ने मोटर बाटो हो । यसका लागि वार्षिक एक–दुई करोड बजेट ल्याइँदै आएको छ । तर भिरालो चट्टान काटेर सडक बनाउनु पर्ने भएकाले त्यो बजेट पर्याप्त हुँदैन । ठेक्काप्रणालीको ढिलासुस्तीले चुनौती झनै बढाएको छ ।

वडामा शिक्षा, स्वास्थ्य र पर्यटनको अवस्था कस्तो छ ? यी क्षेत्रको विकासका लागि तपाईंले कसरी भूमिका निर्वाह गरिरहनुभएको छ ?
वडामा एउटा माध्यमिक विद्यालय र सात वटा आधारभूत विद्यालय छन् । तीमध्ये कालीदेवी माध्यमिक विद्यालय मेरो प्राथमिकतामा परेको विद्यालय हो । यहाँ छिमेकी पालिका भीमफेदीका विद्यार्थीहरू पनि अध्ययनका लागि आउने गर्छन् ।

पहिले विद्यालयको भौतिक अवस्था कमजोर थियो, शिक्षक दरबन्दी पनि अपूरो थियो । विद्यालयका लागि आवश्यक जग्गा समेत थिएन । हाम्रो पहलमा गाउँपालिका, विभिन्न संघसंस्था, विद्यालय व्यवस्थापन समिति, शिक्षक र स्थानीय बुद्धिजीवीको सहकार्यमा जग्गा खरिद गर्न सफल भयौँ ।

शिक्षक दरबन्दी क्रमशः पूरा गर्यौँ । दुई वर्षअघि निराशाजनक नतिजा आएको विद्यालयले यस वर्ष गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
स्वास्थ्यतर्फ, बागमती गाउँपालिकाले स्वास्थ्य बीमाको ५० प्रतिशत रकम व्यहोर्ने व्यवस्था गरेको छ । विपन्न नागरिकलाई मानवीय सहायता कोषबाट उपचार खर्च सहयोग गरिएको छ ।

दीर्घरोगीलाई निःशुल्क औषधि वितरण, स्वास्थ्य शिविर सञ्चालन तथा स्वास्थ्य चौकीबाट भिडियो एक्स–रे सेवासहित उपचार सेवा दिइँदै आएको छ ।
पर्यटनका लागि वडामा रहेका मठमन्दिर, गुफा र धार्मिक स्थलको संरक्षण तथा मर्मतसम्भारमा पनि ध्यान दिइएको छ ।

प्रश्न ः वडामा काम गर्दा देखिने मुख्य समस्या के–के हुन् ?

समस्या धेरै छन् । मुख्य समस्या बजेट नै हो । वडामा देखिने गरी काम गर्न वार्षिक कम्तीमा १० करोड बजेट चाहिन्छ, तर अहिले ३० लाख रुपैयाँको सीमाभित्र काम गर्नुपरेको छ ।
त्यति बजेटले ठूला विकास आयोजना सम्भव हुँदैन । भौगोलिक विकटता, सामाजिक चेतनाको कमी, विकासमा एकता नहुनु र श्रमदानप्रति उदासीनता पनि चुनौतीका रूपमा छन् ।

प्रश्न ः चुनावताका जनतालाई गर्नुभएका वाचा कत्तिको पूरा भए ?

म व्यवहारिक मान्छे हुँ । चुनावमा अव्यावहारिक र लोभलाग्दा वाचा गरेनँ । समाजसेवाबाट आएको मान्छे भएकाले वडाको आवश्यकता राम्रोसँग बुझेको छु । सबैलाई पूर्ण रूपमा खुसी पार्न नसके पनि जनतालाई निराश बनाउने काम भने गरेको छैन ।

प्रश्न ः जनप्रतिनिधि भएर काम गर्दा सबैभन्दा ठूलो चुनौती के हो ?

जनताको अपेक्षा पूरा गर्न नसक्नु नै सबैभन्दा ठूलो चुनौती हो । देशको संरचना र सीमित बजेटका कारण चाहेर पनि धेरै काम गर्न सकिँदैन ।
कागजी प्रक्रिया झन्झटिलो हुनु, समय व्यवस्थापन गर्न कठिन हुनु र युवालाई रोजगारी दिन नसक्नु पनि पीडादायी पक्ष हुन् ।

प्रश्न ः जेन–जी पुस्ताको आन्दोलनलाई तपाईं कसरी हेर्नुहुन्छ ?
जेन–जी पुस्ताको आन्दोलनलाई म गम्भीर रूपमा हेर्छु । यो आन्दोलन व्यवस्थाविरुद्ध होइन, अवस्थाविरुद्धको असन्तुष्टि हो । नेपाली जनताले २००७ सालदेखि विभिन्न कालखण्डमा धेरै आन्दोलन देखिसकेका छन् । राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा व्यवस्था त पटक–पटक परिवर्तन भयो, तर आम नागरिकको जीवनस्तर अपेक्षित रूपमा सुधार हुन सकेन ।

यसको मुख्य कारण राज्य सञ्चालन प्रणाली र नेतृत्वको असफलता हो । लोकतन्त्रको नाममा जिम्मेवारीभन्दा अधिकारलाई बढी जोड दिइयो । नीति निर्माण र कार्यान्वयनबीच ठूलो खाडल रह्यो । जनताका आधारभूत आवश्यकताहरू रोजगारी, शिक्षा, स्वास्थ्य र सम्मानजनक जीवनलाई केन्द्रमा राखेर काम गर्न नेतृत्व असफल भयो । परिणामस्वरूप युवापुस्ता निराश बन्यो, भरोसा टुट्यो र असन्तुष्टि सडकमा पोखिएको हो ।

जेन–जी पुस्ता सूचना, चेतना र प्रविधिसँग नजिक छन् । उनीहरू प्रश्न गर्छन्, तुलना गर्छन् र उत्तर खोज्छन् । उनीहरूलाई केवल भाषण, नारा र आश्वासनले सन्तुष्ट पार्न सकिँदैन । यही पुस्ताले नेतृत्वको व्यवहार, जीवनशैली र निर्णयलाई नजिकबाट नियालिरहेको छ । जब उनीहरूले नेतृत्वमा इमान्दारिता, उत्तरदायित्व र नैतिकता देखेनन्, तब आन्दोलन अपरिहार्य बन्यो ।

तर परिवर्तनको नाममा अराजकता, हिंसा र घृणाले देश बन्दैन । आन्दोलनले आवाज बुलन्द बनायो, तर त्यसमा विभिन्न तत्वको घुसपैठ हुँदा देशले ठूलो क्षति बेहोर्नुप¥यो । कलिला युवाहरूले ज्यान गुमाए, सार्वजनिक संरचना ध्वस्त भए र समाज थप विभाजित भयो । त्यसको सम्पूर्ण दोष जेन–जी पुस्तालाई मात्रै दिनु अन्याय हुनेछ । राज्यका सम्पूर्ण संयन्त्र, राजनीतिक दल, कर्मचारीतन्त्र, आयोग, सुरक्षा निकाय सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको सत्य स्वीकार्नै पर्छ ।

अब नेपाली समाज निर्णायक मोडमा पुगेको छ । जनताले फेरि व्यवस्था परिवर्तन होइन, व्यवहार परिवर्तन खोजेका छन् । दल नयाँ भएर मात्रै हुँदैन, सोच, संस्कार र कार्यशैली नयाँ हुनुपर्छ । इतिहासबाट पाठ सिक्ने, वर्तमानका समस्यालाई इमान्दारीपूर्वक स्वीकार्ने र भविष्यका लागि स्पष्ट खाका कोर्ने नेतृत्व आजको आवश्यकता हो । यहि म्याण्डेड बमोजिम आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ ।

जेन–जी पुस्ताको आन्दोलनलाई दबाउने होइन, बुझ्ने, सुन्ने र सम्बोधन गर्ने हो । यही पुस्ताको ऊर्जा, चेतना र साहसलाई सकारात्मक दिशामा प्रयोग गर्न सकिए मात्र देशले स्थायित्व र समृद्धिको बाटो समाउन सक्छ । परिवर्तन सडकमा मात्र होइन, नीति, नियत र व्यवहारमा देखिनुपर्छ । तब मात्र जनताको भरोसा पुनः स्थापित हुनेछ ।

प्रश्न ः कार्यकालको अन्त्यसम्म वडालाई कस्तो बनाउने भिजन छ ?

वडा अध्यक्ष एक्लैले मात्र वडा बनाउन सक्दैन । टिम, प्रणाली र बजेट सबै आवश्यक हुन्छ । हामीसँग भिजन र मिसन छ, तर अहिलेको बजेट र कार्यशैली अनुसार सोचेजस्तो विकास सम्भव छैन ।
बजेट वितरण प्रणाली र कार्यशैलीमा सुधार भएमा वडालाई नमूना बनाउने लक्ष्य पूरा गर्न सकिन्छ भन्नेमा म आशावादी छु ।

प्रतिक्रिया दिनुहोस्