अभ्यास खेलमा नेपालको प्रभावशाली जित, विश्वकप तयारीमा आत्मविश्वास बढ्यो

 

काठमाडौं, १८ माघ । टि–ट्वान्टी विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा सशक्त प्रदर्शन गर्दै मुम्बई क्रिकेट एकेडेमी प्रेसिडेन्ट्स ११ लाई ४८ रनले पराजित गरेको छ। दोस्रो अभ्यास खेलमा हासिल यो जितले विश्वकपअघिको तयारीमा नेपाली टोलीको आत्मविश्वास थप मजबुत बनेको छ।

ब्रेबन क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा नेपालले ५ विकेटको क्षतिमा १८३ रनको प्रतिस्पर्धात्मक योगफल खडा ग¥यो। नेपालको इनिङ्समा आरिफ शेख प्रमुख आकर्षण बने। उनले जिम्मेवार र आक्रामक ब्याटिङ मिश्रण प्रस्तुत गर्दै ४२ बलमा अविजित ६६ रन बनाए। आरिफको इनिङ्समा समयअनुसार स्ट्राइक रोटेट गर्नुका साथै आवश्यक बेला ठूला सट प्रहार गर्ने क्षमता देखियो।

मध्यक्रममा गुलशन झाले १२ बलमा २३ रन जोड्दै रनगतिको निरन्तरता कायम राखे। ओपनिङमा अवसर पाएका आसिफ शेख र लोकेश बमले टोलीलाई राम्रो सुरुआत दिलाउने प्रयास गरे। लोकेश १५ रनमा आउट भए भने आसिफले १७ बलमा २५ रन बनाउँदै सकारात्मक संकेत दिए। त्यसैगरी सन्दीप जोराले ३१ रनको योगदान गर्दा बसिर अहमदले ९ रन जोडे। मुम्बईका बलरमध्ये मंगुकिया र चाभानले समान दुई–दुई विकेट लिँदै केही हदसम्म दबाब सिर्जना गरे पनि नेपाल ठूलो स्कोर बनाउन सफल भयो।

१८४ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको मुम्बई क्रिकेट एकेडेमी प्रेसिडेन्ट्स ११ नेपालका बलरहरूको सशक्त प्रदर्शनका कारण २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमै सीमित भयो। पहिलो अभ्यास खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेका सन्दीप लामिछानेले यस खेलमा उत्कृष्ट पुनरागमन गरे। उनले ४ ओभरमा २४ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिँदै विपक्षी ब्याटिङ लाइनअपलाई धराशायी बनाए।

त्यस्तै, ललित राजवंशी र गुलशन झाले समान दुई–दुई विकेट लिए। सुरुआती ओभरमा महँगो सावित भएका गुलशनले पछिल्ला ओभरहरूमा उत्कृष्ट नियन्त्रण देखाउँदै मात्र ५ रन खर्चेर दुई विकेट लिएका थिए। मुम्बईका लागि ओपनर मुलचन्दानीले रनआउट हुनुअघि २७ बलमा सर्वाधिक ४७ रन बनाए भने अर्का ओपनर सक्सेनाले २३ रन जोडे।

यस जितसँगै नेपालको विश्वकपअघिको अभ्यास खेल कार्यक्रम सम्पन्न भएको छ। नेपाली टोली अब भोलि मुम्बईबाट चेन्नई प्रस्थान गर्नेछ। चेन्नईमा विश्वकपको अन्तिम तयारीका रूपमा नेपालले दुई वटा वार्म–अप खेल खेल्ने कार्यक्रम रहेको छ, जसलाई टोली व्यवस्थापनले विश्वकपअघि रणनीति परिष्कृत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्