नेपाली कम्युनिष्ट राजनीतिमा एकताको बहस, नयाँ राष्ट्रिय शक्ति अपरिहार्य भएको दावी

 

काठमाडौँ, १८ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट राजनीतिमा एकता र पुनर्गठनको अपरिहार्यता र नयाँ राष्ट्रिय शक्ति आवश्यक भएको दावी गर्नुभएको छ । सोलुखुम्बु–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार काठमाडौँमा आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै संयोजक प्रचण्डले वर्तमान राजनीतिक, आर्थिक र भूराजनीतिक परिस्थितिमा कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिनु समयको माग भएको धारणा व्यक्त गर्नुभएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट राजनीतिमा एकता र पुनर्गठनको बहस तीव्र बन्दै गएको छ । यही सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले कम्युनिष्ट एकता आजको राजनीतिक आवश्यकता भएको स्पष्ट गर्दै राष्ट्रिय हित र जनअपेक्षा पूरा गर्न नयाँ राष्ट्रिय शक्तिको निर्माण अपरिहार्य रहेको बताउनुभएको छ ।

उहाँका अनुसार देशको सार्वभौमिकता, स्वाधीनता र जनताको अधिकारको रक्षा गर्न संगठित कम्युनिष्ट शक्ति आवश्यक छ, जसका लागि पार्टी एकताको प्रक्रिया अघि बढाइएको हो । संयोजक प्रचण्डले राष्ट्रिय राजनीतिमा देखिएका अस्थिरता, बाह्य प्रभाव र आन्तरिक चुनौतीहरूलाई दृष्टिगत गर्दै कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने प्रवृत्तिविरुद्ध एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

“नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै विभिन्न कम्युनिष्ट पार्टी तथा समाजवादी घटकहरूबीच एकता गरिएको हो,” उहाँले भन्नुभयो, “यो एकता केवल संगठनात्मक विषय मात्र होइन, राष्ट्रिय स्वाधीनताको रक्षा र जनअपेक्षा पूरा गर्ने राजनीतिक संकल्प पनि हो।”

उहाँले नेपाली कम्युनिष्ट पार्टी निर्माणको पृष्ठभूमि उल्लेख गर्दै राष्ट्रिय स्वाधीनतामाथि देखिएका चुनौती र वैदेशिक षड्यन्त्रलाई परास्त गर्ने उद्देश्यसहित पार्टी एकताको प्रक्रिया अघि बढाइएको स्पष्ट पार्नुभयो । प्रचण्डका अनुसार विगतमा कम्युनिष्ट आन्दोलन विभाजित हुँदा त्यसको प्रत्यक्ष असर राष्ट्रिय राजनीतिमा परेको अनुभवबाट सिक्दै अहिलेको एकता पहल गरिएको हो ।

भेलामा बोल्दै संयोजक प्रचण्डले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई असाधारण परिस्थितिमा हुन गइरहेको निर्वाचनका रूपमा चित्रण गर्नुभयो । उहाँले यस निर्वाचनलाई केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा मात्र नभई देशको राजनीतिक दिशा तय गर्ने निर्णायक अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । “निर्वाचनमार्फत जनताका चाहना, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ,” उहाँले भन्नुभयो

उहाँले कार्यकर्ता र समर्थकहरूलाई कम्युनिष्ट उम्मेदवारको विजय सुनिश्चित गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्दै निर्वाचन अभियानलाई जनमुखी र विश्वासयोग्य बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रचण्डका अनुसार निर्वाचनमा जनताको विश्वास जित्न राजनीतिक नाराभन्दा व्यवहारिक प्रतिबद्धता र स्पष्ट दृष्टिकोण आवश्यक छ ।

 

कार्यक्रममा संयोजक प्रचण्डले कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै आन्दोलनले देशको राजनीतिक परिवर्तनमा खेलेको भूमिकालाई पनि उल्लेख गर्नुभयो । उहाँले जनआन्दोलन, संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कम्युनिष्ट शक्तिको योगदान रहेको बताउँदै अहिले पनि त्यसैको निरन्तरताका रूपमा एकीकृत प्रयास आवश्यक रहेको धारणा राख्नुभयो ।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रचण्डको यो अभिव्यक्ति आगामी निर्वाचनलाई केन्द्रमा राखेर कम्युनिष्ट मतदातालाई एकीकृत गर्ने प्रयासको संकेत हो । पछिल्लो समय कम्युनिष्ट ध्रुवीकरण कमजोर भएको चर्चा भइरहेका बेला एकताको आवश्यकता औँल्याउँदै आएको यो सन्देशलाई चुनावी रणनीतिसँग पनि जोडेर हेरिएको छ ।

कार्यक्रममा उपस्थित नेताहरू र कार्यकर्ताहरूले पनि कम्युनिष्ट एकताबाट मात्र राजनीतिक स्थिरता र विकास सम्भव हुने विश्वास व्यक्त गरेका थिए । उनीहरूले विगतका अनुभवबाट पाठ सिक्दै जनताको पक्षमा काम गर्ने बलियो राजनीतिक शक्ति निर्माण आवश्यक रहेको बताएका थिए ।

सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको यस भेलालाई निर्वाचन तयारी र संगठन सुदृढीकरणको दृष्टिले महत्वपूर्ण मानिएको छ । विशेषगरी काठमाडौँमा बसोबास गर्ने सोलुखुम्बुवासी मतदाता र कार्यकर्ताबीच समन्वय र एकता सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको भेलाले चुनावी माहोल तातेको संकेत दिएको छ ।

संयोजक प्रचण्डको अभिव्यक्तिले कम्युनिष्ट एकतालाई केवल दलगत रणनीति नभई राष्ट्रिय आवश्यकता र राजनीतिक जिम्मेवारीका रूपमा प्रस्तुत गरेको देखिन्छ । आगामी निर्वाचनको परिणामले यो एकता प्रयास कति प्रभावकारी रह्यो भन्ने प्रश्नको उत्तर दिने भए पनि, अहिलेका लागि कम्युनिष्ट राजनीतिमा एकताको सन्देशलाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढ्ने संकेत स्पष्ट देखिएको छ ।

यसैगरी, विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ । धनकुमारी सुनार नेतृत्वको टोली शनिबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, रन्जिता चौधरी लगायतका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

सो समूहले शनिबार पार्टीबाट अलग भएको घोषणा गरेको थियो । सो समूह नेपाली कम्युनिष्ट पार्टीसँग ८ बुँदे सहमति गर्दै समाहित भएको हो ।
अहिले सम्म नेपाली कम्युनिष्ट पार्टीमा १९ वटा पार्टी÷समूह समाहित भइसकेका छन ।

 

प्रतिक्रिया दिनुहोस्