शालीनदी फर्किए माधवनारायणका बर्तालु 

काठमाडौँ, १७ माघ , माधवनारायणको एक महिना लामो बर्त बसेका बर्तालुले चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजा आराधना गरेर शालीनदी फर्किएका छन् ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा लाखौँ भक्तजन आउने गरेका छन् । प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन बिहान माधवनारायणका ब्रतालुले सादहमा स्नान गरी चाँगुनारायणमा माधवनारायणको रथलाई राखेर पूजा आराधना गर्ने प्राचीनकालदेखिको परम्परा रही आएको छ । ब्रतालुले आज चाँगुनारायणमा पूजा आराधना सकेपछि साँखु गई आ आफ्नै घर घरमा पुगेर भोजन गर्ने ब्रत विधि रहेको छ ।
बर्तालु चाँगुनारायणबाट आज साँखु फर्किएर घर घरमा भोजन गरिसकेपछि साँखुमा भीमसेन जात्रा गरिएको छ । भीमसेन जात्रालाई साँखु बजार घुमाइएको श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिनुभयो ।
माधवनारायणका ब्रतालु तेस्रो तीर्थयात्राका लागि बिहीबार राति १० बजे चाँगुनारायण मन्दिर पुगेका थिए । आज बिहान स्नानसहित पूजा आरधनापौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिना लामो माधवनारायणको ब्रतका क्रममा यो तेस्रो तीर्थयात्रा हो । यसअघि पशुपति र दक्षिणकालीको शेषनारायण एवं काभ्रेपलाञ्चोकको पनौतीमा बर्तालुले तीर्थयात्रा सम्पन्न गरेका छन् ।
माधवनारायणको चाँगुनारायणमा हुने तीर्थयात्रा माघ शुक्ल एकादशीका दिन राति हुने गरेको छ । जसका लागि बर्तालु माघ शुक्ल एकादशीका दिन राति १० बजे चाँगुनारायण पुगेको यस वर्षको यो अन्तिम तीर्थयात्रा पनि हो ।
पौष शुक्ल पूर्णिमा अर्थात् गत पुस १९ गतेदेखि साँखुस्थित शालीनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानी परमेश्वरी देवीको पूजा आराधना गर्ने भक्तजनको घुइँचो छ । जसका कारण साँखु एवं शालीनदी जाने सार्वजनिक यातायातमा भीड छ । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन् । मेलाको मौका पारेर सार्वजनिक यातायातका सहचालकले बढी भाडा उठाएको गुनासो भक्तजनले गरेका छन् । सार्वजनिक बिदा र शनिबारका दिन धेरै भक्तजन साँखुस्थित शालीनदी जाने गर्छन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा माधवनारायण ब्रत हुने गरेको छ । शालीनदी मेला लाग्ने यो समयमा देशका विभिन्न स्थानका साथै विदेशबाट श्रद्धालु भक्तजन साँखु आउने गरेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्