डुम्रे (तनहुँ), १६ माघ : जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको ‘आठौँ व्यास नगर अल्ट्रा म्याराथन’ को उपाधि नेपाली सेनाले जितेको छ ।
‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचानः व्यास नगरपालिकाको अभियान’ भन्ने नारासहित सहिद दिवसका अवसरमा आज आयोजित प्रतियोगितामा सिंह सर्दुल गुल्म स्याङ्जाका प्युठ कर्ण रावलले दुई घण्टा ४८ मिनेट २७ सेकेण्डमा ४४ किलोमिटर दूरी पार गर्दै प्रथम हुनुभएको छ ।
नन्द बक्स गुल्म सिराहाका प्युठ तिलक सुनुवार दुई घण्टा ५८ मिनेट पार गर्दै द्वितीय र त्रिभुवन आर्मी क्लबका होमलल श्रेष्ठ तृतीय हुनुभएको नगरको शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख केदार आचार्यले जानकारी दिनुभयो ।
पर्यटकीय क्षेत्र व्यास–५ मानहुँकोटदेखि सहिद गाउँ व्यास–८ पुलिमराङलाई जोड्ने उद्देश्यले म्याराथन गरिएको हो ।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट ४२ जना धावकको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७ र रु ५५ हजार ७७ नगद पुरस्कार प्रदान गरिएको छ । पाँच धावकलाई सान्त्वना पुरस्कारस्वरूप रु १६ हजार ७७ प्रदान गरिएको छ ।
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले पर्यटकीय क्षेत्र र सहिद गाउँलाई जोडेर गरिएको प्रतियोगिताले यहाँको प्रचारप्रसारमा टेवा पुगेको बताउनुभयो ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बर्सेनि अल्ट्रा म्याराथन आयोजना गरिँदै आएको बताउनुभयो । उहाँले अल्ट्रा म्याराथन केबल खेलकुद प्रतियोगिता मात्र नभई सहिदको बलिदान स्मरण र प्रतिभा पहिचान गर्ने अभियान भएको बताउनुभयो ।
नगर प्रमुख न्यौपानेले भन्नुभयो, “यो दौड हाम्रो इतिहास, संस्कृति र सहिदप्रतिको सम्मानसँग जोडिएको छ । यसले मगर र गुरुङ समुदायको कला, संस्कार, संस्कृति प्रवर्द्धनमा टेवा पुगेको छ ।”
मानुङकोटबाट अलैँचे, चापाघाट, अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै सहिद गाउँ पुलिमराङसम्म ४४ किलोमिटर दौड भएको थियो ।
व्यास नगरपालिका–६ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ कुमारले अल्ट्रा म्याराथनले व्यास नगरपालिकाका ग्रामीण बस्ती, धार्मिकस्थल र ऐतिहासिक क्षेत्रलाई एउटै मालामा जोड्ने कार्य गरको बताउनुभयो । प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरिरहेको उहाँको भनाइ छ ।
—
प्रतिक्रिया दिनुहोस्