लभस्टोरी सिनेमा ‘कुमारी’ माघ २३ गतेबाट प्रदर्शनमा आउने

 

काठमाडौं, १३ माघ । माघ २३ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली लभस्टोरी सिनेमा ‘कुमारी’को ट्रेलर राजधानीको भृकुटीमण्डपमा भव्य कार्यक्रमका साथ सार्वजनिक गरिएको छ । हजारौँ दर्शकको प्रत्यक्ष उपस्थितिमा खुला स्थानमै ट्रेलर सार्वजनिक गरिएको यो कार्यक्रम नेपाली फिल्म प्रचारको हिसाबले नयाँ र फरक अभ्यासका रूपमा लिइएको छ ।

कार्यक्रममा निर्देशक दिनेश राउतले हजारौँ दर्शकमाझ ट्रेलर सार्वजनिक गर्नु आफूले लामो समयदेखि देखेको सपना पूरा भएको अनुभूति भएको बताए । दर्शकको उत्साह र समर्थन सिनेमा हलसम्म पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै उनले ‘कुमारी’ दर्शकको मन छुने प्रेमकथा भएको दाबी गरे ।

निर्माता महेन्द्र अधिकारीले दर्शकबाट प्राप्त मायाले आफूलाई अझ गुणस्तरीय नेपाली सिनेमा निर्माणतर्फ प्रेरित गरेको प्रतिक्रिया दिए ।

ट्रेलर सार्वजनिक समारोहलाई सांगीतिक प्रस्तुतिले थप आकर्षक बनाएको थियो । सिनेमाका पाश्र्व गायक केहर सिंह लिम्बु र उनको ब्याण्ड ‘केहर एन्ड द लुङा’ले विशेष प्रस्तुति दिएका थिए । साथै लोकप्रिय ब्याण्ड ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’को प्रस्तुतीले दर्शकलाई झुमायो । संगीत र सिनेमाको संयोजनले कार्यक्रमलाई उत्सवमय बनाएको थियो ।

यसै सिनेमाबाट अभिनयमा डेब्यु गरेका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकमाझ उपस्थित हुन पाउँदा आफूहरू अत्यन्तै उत्साहित र भावुक भएको बताए । दर्शकले दिएको स्वागतले आगामी यात्रामा थप ऊर्जा मिलेको उनीहरूको भनाइ थियो ।

शाहिल खानद्वारा सम्पादन गरिएको ट्रेलर सार्वजनिक भएसँगै युट्युब ट्रेन्डिङमा समेत पर्न सफल भइसकेको छ । कार्यक्रममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री थिन्ले ल्हामोले मुख्य कलाकारलाई शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्