काठमाडौं, १२ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो छ महिनामा सन्तोषजनक वित्तीय अवस्था कायम गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.५५ प्रतिशतमा सीमित रहेको छ भने खुद नाफा १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै कर्जा प्रवाह गरिरहेको जानकारी दिनुभयो । उहाले हाल पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन तथा विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिन थालेको उल्लेख गर्दै यसले समग्र अर्थतन्त्रमा आशाको वातावरण सिर्जना गरेको बताउनु भयो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले नवीन सोच, संस्थागत अनुशासन र दिगो रणनीतिका साथ वित्तीय सेवा प्रवाह गर्दै आएको बताउनु भयो । कर्जा विस्तार चुनौतीपूर्ण बन्दै गएको स्वीकार गर्दै उहाँले बैंकको पुँजी आधार थप सुदृढ बनाउन तीन खर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल कर्जा–निक्षेप अनुपातका आधारमा बैंकसँग १ खर्ब ७१ अर्ब रुपैयाँ र तरलताका आधारमा १ खर्ब ३९ अर्ब रुपैयाँ लगानीयोग्य रकम उपलब्ध छ । यद्यपि पुँजी पर्याप्तता अनुपातका कारण बैंकले थप १८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रस्तुत विवरणअनुसार बैंकले हाल निक्षेपतर्फ ४७ लाख ४३ हजार तथा कर्जातर्फ दुई लाख २६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । १५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा पाँच खर्ब ५३ अर्ब रुपैयाँ बराबरको कुल निक्षेप सङ्कलन गरेको छ । सोही अवधिमा बैंकले १९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको जनाएको छ ।
बैंकले आगामी दिनमा पुँजी संरचना मजबुत बनाउँदै कर्जा गुणस्तर सुधार, डिजिटल बैंकिङ विस्तार तथा अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने क्षेत्रमा लगानी बढाउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्