राष्ट्रिय सभामा नयाँ अनुहारको प्रवेश ,अनुभव, युवा र समावेशिताको मिश्रण

 

काठमाडौँ, १२ माघ । राष्ट्रिय सभामा यसपटक उल्लेख्य परिवर्तन देखिएको छ । आइतबार सम्पन्न निर्वाचनबाट १८ जना नयाँ सदस्य माथिल्लो सदनमा प्रवेश गरेका छन् । यी नयाँ सदस्यहरूमा अनुभवी राजनीतिज्ञ, पूर्व सांसद, युवा नेता तथा सीमान्तकृत समुदायका प्रतिनिधि समेटिएका छन् । समग्रमा हेर्दा राष्ट्रिय सभाको संरचनाले अनुभव र नयाँपनबीच सन्तुलन खोजेको संकेत दिएको छ ।

आगामी फागुन २० गते कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि निर्वाचन भएको हो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल भएको थियो भने नेपाल कम्युनिस्ट पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । नतिजाअनुसार तालमेलमा रहेका दलका उम्मेदवारहरू नै विजयी भएका छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रत्यक्ष जनमतबाट होइन, संघीय संरचनाअनुसार निर्वाचित प्रतिनिधिबाट हुन्छ । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । सातै प्रदेशमा रहेका ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी कुल १ हजार ५०६ स्थानीय तहका पदाधिकारी मतदातामा पर्छन् । यस प्रणालीले राष्ट्रिय सभालाई प्रदेश र स्थानीय तहसँग प्रत्यक्ष रूपमा जोड्ने भूमिका खेल्छ ।

नवनिर्वाचित सदस्यहरूको कार्यकाल आगामी फागुन २१ गतेदेखि सुरु हुनेछ । यसपटकको निर्वाचनले राष्ट्रिय सभालाई केवल ‘ज्येष्ठ राजनीतिज्ञको थलो’ भन्ने धारणा तोड्दै नयाँ पुस्ता र विविध पृष्ठभूमिका प्रतिनिधिलाई पनि स्थान दिएको देखिन्छ ।

यसपटक चार जना पूर्व प्रतिनिधिसभा सदस्य राष्ट्रिय सभामा प्रवेश गरेका छन् । मधेश प्रदेशबाट निर्वाचित ८३ वर्षीय महन्थ ठाकुर सबैभन्दा अनुभवी अनुहार हुन् । लामो संसदीय यात्रापछि उनी राजनीतिक जीवनको उत्तरार्धमा राष्ट्रिय सभामा पुगेका छन् । २०४८ सालदेखि संसदीय राजनीतिमा सक्रिय ठाकुर विभिन्न उतारचढावबीच पटक–पटक प्रतिनिधिसभामा पुगेका नेता हुन् ।

लुम्बिनी प्रदेशबाट निर्वाचित रामकुमारी झाँक्री पनि पूर्व प्रतिनिधिसभा सदस्य हुन् । अनेरास्ववियुबाट राजनीतिमा उदाएकी झाँक्रीले २०७४ मा समानुपातिक सांसदको भूमिका निभाइसकेकी छन् । प्रतिनिधिसभामा हार बेहोरेपछि उनी राष्ट्रिय सभाबाट पुनः संघीय संसद्मा फर्किएकी छन् ।

कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाही संविधान सभा सदस्यका रूपमा संविधान निर्माण प्रक्रियामा सहभागी भइसकेका नेता हुन् । उनले राष्ट्रिय सभाबाट संविधान कार्यान्वयन र संस्थागत सुदृढीकरणमा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कोशी प्रदेशबाट निर्विरोध निर्वाचित सुनीलबहादुर थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । संघीय मन्त्री र सांसदको अनुभव बटुलेका थापा पछिल्ला निर्वाचनमा पराजय बेहोरे पनि यसपटक राष्ट्रिय सभाबाट संसदीय राजनीतिमा फर्किएका छन् ।

यस निर्वाचनको अर्को उल्लेखनीय पक्ष समावेशी प्रतिनिधित्व हो । कोशी प्रदेशबाट रोशनी मेचे सीमान्तकृत मेचे समुदायबाट राष्ट्रिय सभामा प्रवेश गरेकी छन् । मेचे समुदायका मुद्दालाई संघीय तहमा उठाउने अवसर उनको निर्वाचनसँगै खुलेको छ । यसअघि पनि प्रतिनिधिसभामा मेचे समुदायको उपस्थिति रहेकाले यसलाई निरन्तरताको रूपमा हेरिएको छ ।

मधेश प्रदेशबाट दलित अधिकारकर्मी धमेन्द्र पासवान निर्वाचित भएका छन् । सामाजिक विभेदविरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएका पासवानले राष्ट्रिय सभाबाट दलित समुदायको आर्थिक र सामाजिक सशक्तीकरणका मुद्दा उठाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, अल्पसंख्यक कोटाबाट रन्जित कर्ण र महिला कोटाबाट एमालेकी रेखा झा निर्वाचित भएकी छन् ।

कोशी प्रदेशबाट दलित क्लस्टरअन्तर्गत निर्वाचित सोम पोर्तेल राष्ट्रिय सभामा युवाको आवाज सशक्त बनाउने लक्ष्यसहित प्रवेश गरेका छन् । स्थानीय तह र जिल्ला समन्वय समितिमा काम गरिसकेका पोर्तेल राष्ट्रिय सभालाई अब अनुभव मात्र होइन, ऊर्जाशील बहसको थलो बनाइनुपर्ने धारणा राख्छन् ।

बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेम दंगाल निर्वाचित भएका छन् । किसान आन्दोलन, खाद्य सम्प्रभुता र जलवायु परिवर्तनका विषयमा लेखन र नेतृत्व अनुभव भएका दंगालले राष्ट्रिय सभामा नीतिगत बहसलाई बलियो बनाउने अपेक्षा गरिएको छ । देवकोटा किसान आन्दोलन र मौरीपालनसँग जोडिएका मुद्दामा सक्रिय रहँदै आएकी नेतृ हुन् ।

गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना निर्वाचित हुनु पनि उल्लेखनीय छ । त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत तिमिल्सिना प्राध्यापक पृष्ठभूमिबाट संसद्मा प्रवेश गरेका हुन् । शैक्षिक क्षेत्रको अनुभव संसद्मा नीति निर्माणमा उपयोगी हुने अपेक्षा गरिएको छ । सोही प्रदेशबाट एमालेकी सम्झना देवकोटा तीन पटकको पराजयपछि अन्ततः राष्ट्रिय सभामा पुग्न सफल भएकी छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सदस्यहरूमा पनि पुराना राजनीतिक अनुहार र नयाँ प्रतिनिधि मिसिएका छन् । कर्णालीबाट एमालेकी मिना रखाल र सुदूरपश्चिमबाट कांग्रेसका खम्मबहादुर खाती तथा एमालेकी लीला भण्डारी निर्वाचित भएका छन् । खाती कानुनी क्षेत्रका अनुभवी व्यक्ति हुन् भने भण्डारी माओवादी पृष्ठभूमिबाट आएकी नेतृ हुन् ।

यसपटकको राष्ट्रिय सभा निर्वाचनले संघीय संसद्को माथिल्लो सदनलाई विविध पृष्ठभूमि, उमेर र अनुभवको मिश्रण बनाएको देखिन्छ । प्रतिनिधिसभाबाट आएका अनुभवी नेता, युवाहरू, महिला तथा सीमान्तकृत समुदायका प्रतिनिधिले राष्ट्रिय सभालाई अझ सजीव र समावेशी बनाउने अपेक्षा गरिएको छ । अब चुनौती भनेको यी प्रतिनिधिले आफ्नो अनुभव र प्रतिबद्धतालाई नीतिगत बहस र विधायी भूमिकामा कसरी रूपान्तरण गर्छन् भन्ने हो । राष्ट्रिय सभाको प्रभावकारिता उनीहरूको सक्रियता र समन्वयमा निर्भर रहनेछ ।

यसैगरी, राष्ट्रियसभा सदस्यका लागि भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म भएको मतदानमा सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्यका लागि आज निर्वाचन भएको हो । निर्वाचन अधिकृतका कार्यालयहरूबाट आयोगमा प्राप्त विवरणअनुसार कोशी प्रदेशमा कुल मतदाता ३६० रहेकामा ३४५ मत खसेको छ ।

मधेस प्रदेशमा ३६४ मध्ये ३४१, वाग्मतीमा ३३८ मध्ये ३१८, गण्डकीमा २२८ मध्ये २२३, लुम्बिनीमा २९९ मध्ये २८६, कर्णालीमा १९८ मध्ये १९१ र सुदूरपश्चिममा २२४ मध्ये २२० मत खसेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
सातै प्रदेशमा कुल २०११ मतदाता रहेकामा १९२४ मत खसेको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्