महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

घोराही (दाङ), ११ माघ : तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलार्ई बाजा बजाउन भ्याइनभ्याई छ । जिल्लामा हुने विभिन्न सभा सम्मेलन, बिहे, पूजाआजामा बाजा बजाउन उहाँलाई भ्याइनभ्याई भएको हो । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने सोचले आफू बाजा बजाउँदै समूहमा हिँड्ने गरेको उहाँको भनाइ छ ।

“महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “हामी बाजा बजाएर अगाडि बढेका छौँ ।” उहाँ आजभोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै जिल्लाका विभिन्न ठाउँसहित जिल्लाबाहिर पनि मागअनुसार पुग्ने गर्नुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरका विष्णु केसीले पछिल्लो समय लोप हुन थालेको नौमती बाजालाई संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले आफूहरूले बाजा बजाउन सिकेको बताउनुभयो । उहाँका अनुसार अहिले बाजा संरक्षणसँगै दुई–चार रुपैयाँ आम्दानी हुने गरेको छ, सुरुमा बाजा बजाउन सकिँदैन कि भन्ने लागेको थियो तर सिकिसकेपछि अहिले सहज भएको छ । गाउँमा बाजा बजाउने प्रचलन रहेको हुँदा यसलाई लोप हुन नदिन महिलाले सीप सिकेको उहाँ बताउनुहुन्छ ।

उहाँहरूमात्र होइन, तुलसी महिला नौमती बाजा समूहमार्फत यसमा धेरै महिला जोडिनुभएको छ । विवाह, व्रतबन्ध, विभिन्न मेलापर्व तथा उत्सवमा बजाइने नौमती बाजा मुख्य बाजा रहेको तुलसी महिला नौमती बाजा समूहका सदस्य विष्णु केसी बताउनुहुन्छ । पश्चिमेली संस्कृतिको प्रभाव र युवापुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने स्थितिमा छ । तर दाङका महिलाहरू भने नौमती बाजाको संरक्षणमा जुटेका छन् ।

बाजा बजाउने चलन पहिलेदेखि भए पनि ग्रामीण भेगमा यो व्यावसायिक बन्न सकेको थिएन । तर तुलसी महिला नौमती बाजा समूहले यसलाई व्यावसायिक बनाएको छ । यो समूह बाजा बजाउन सल्यान, रोल्पा, प्युठान, बुटवल, नेपालगन्जसम्म पुग्ने गरेको समूहका अर्की सदस्य ४४ वर्षीया विमला केसीले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका–४ मजुवा निवासी तथा तुलसी महिला नौमती बाजा समूहका अध्यक्ष कस्तुरा खड्काले आफूहरूले एक दिन बाजा बजाएबापत रु २० देखि ३० हजारसम्म लिने गरेको बताउनुभयो । अध्यक्ष खड्काले बाजा बजाउन थालेको चार वर्ष भयो । यो अवधिमा धेरै ठाउँमा पुगिसकेको बताउनुहुन्छ ।

उमेरले ५० वर्ष पुग्नुभएकी उहाँले बाजा बजाएर आएको रकम आधा समूहमा जम्मा गर्ने र आधालाई नौमती बाजा बजाउन पुगेको टोलीलाई आम्दानीअनुसार रु दुईदेखि तीन हजारसम्म दिने गरेको उहाँको भनाइ छ । सुरुमा सिक्न गाह्रो भए पनि अहिले नौमती बाजा बजाउन कुनै समस्या नभएको अध्यक्ष खड्का बताउनुहुन्छ । पछिल्लो समय लोप हुन थालेको नौमती बाजालाई संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व भएको उहाँले बताउनुभयो । उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिकाले पनि यस बाजा संरक्षणका लागि महिला समूहलाई तालिमदेखि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्