हिमपातले अवरुद्ध बनेका दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी, १० माघः हिमपातका कारण गएरातिदेखि अवरुद्ध रहेका सुदूरपहाडका राजमार्ग सञ्चालनमा आएका छन् । बैतडीको अनारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध रहेका थिए ।
राजमार्गमा जमेको हिउँ यहाँस्थित सडक डिभिजन कार्यालयको जेसिबीले पन्छाएपछि सञ्चालनमा आएका हुन् । राजमार्ग सञ्चालन भएसँगै गएरातिदेखि बीचबाटोमा अलपत्र परेका यात्रु तथा सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग सञ्चालन भए पनि विद्युत् सेवा भने अझै सञ्चालन हुन सकेको छैन् ।
शुक्रबार बेलुकादेखि बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो । यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँलगायत हिउँदे बाली सुक्दै गएका थिए ।
हिमपात र वर्षा भएपछि किसान बाली सप्रिने भन्दै किसान खुसी भएका स्थानीय मानबहादुर टेरले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । यसैबीच, चिसोबाट बच्न आवश्यक सर्तकता अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्