काठमाडौँ, ९ माघ । राष्ट्रिय लिग फुटबलमा एपिएफ क्लबले लगातार दोस्रो जित दर्ता गर्दै प्रतियोगितामा आफ्नो दाबेदारी थप सशक्त बनाएको छ । सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितिसकेको चर्च ब्वाइज युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित गर्दै एपिएफले लय, आत्मविश्वास र रणनीतिक स्पष्टता तीनै पक्षमा आफूलाई बलियो टोलीका रूपमा स्थापित गरेको हो ।
खेलको सुरुवातदेखि नै आक्रामक शैली अपनाएको एपिएफले विपक्षीमाथि निरन्तर दबाब सिर्जना ग¥यो । त्यसको प्रतिफल २२औँ मिनेटमै देखियो, जब समिराज थोकरले बक्सभित्रबाट गरेको शक्तिशाली प्रहार सिधै जालीमा पुगेको थियो । सुरुवाती गोलसँगै खेलको गति एपिएफको पक्षमा मोडियो र चर्च ब्वाइज रक्षात्मक बन्न बाध्य भयो ।
एपिएफको आक्रमण यहीँ रोकिएन । खेलको ३८औँ मिनेटमा प्रदीप लामाले चर्च ब्वाइजको रक्षापंक्ति छल्दै उत्कृष्ट गोल गरेपछि पहिलो हाफमै एपिएफ २–० को सहज अग्रतामा पुग्यो। पहिलो हाफभरि एपिएफको पास संयोजन, विङ प्रयोग र मिडफिल्ड नियन्त्रण प्रभावशाली देखिँदा चर्च ब्वाइज अपेक्षित लयमा देखिन सकेन ।
दोस्रो हाफमा पनि खेलको चरित्र खासै परिवर्तन भएन । चर्च ब्वाइजले खेलमा फर्किन केही अवसर सिर्जना गर्ने प्रयास गरे पनि एपिएफको संगठित डिफेन्स र गोलरक्षकले ती प्रयासहरूलाई निष्प्रभावी बनाए । खेलको ६०औँ मिनेटमा युवराज खतिवडाले व्यक्तिगत कौशल प्रदर्शन गर्दै तेस्रो गोल थपेपछि एपिएफको जित झन् सुनिश्चितजस्तै बन्यो ।
युवराज यहीँमा रोकिएनन् ७७औँ मिनेटमा उनले नै अर्को गोल गर्दै एपिएफको अग्रता ४–० मा पु¥याए । दुई आकर्षक गोलसहित खेलभरि सक्रिय देखिएका युवराज खतिवडा खेलका उत्कृष्ट खेलाडी घोषित भए । उनको गतिशीलता, फिनिसिङ र आत्मविश्वासले एपिएफको आक्रमणलाई धारिलो बनाएको देखिन्थ्यो ।
चर्च ब्वाइजका लागि ४२औँ मिनेटमा मिलन गुरुङले एक गोल फर्काए पनि त्यो गोलले खेलको दिशा परिवर्तन गर्न सकेन । समग्रमा चर्च ब्वाइज आक्रमणमा प्रभावहीन र टोलीगत समन्वयमा कमजोर देखियो । ए डिभिजनको विजेता टोलीका रूपमा मैदान उत्रिए पनि उनीहरूले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेनन्, जसले प्रतियोगितामा उनीहरूको सुरुवातलाई चुनौतीपूर्ण बनाएको छ ।
यस जितसँगै एपिएफले दुई खेलबाट दुई जित निकाल्दै ६ अंक जोडेको छ । समान ६ अंकसहित लालीगुराँस एसोसिएसन र मच्छिन्द्र क्लब पनि शीर्ष स्थानमा रहेकाले गोल अन्तरका आधारमा शीर्ष स्थानको प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ । प्रतियोगिताको प्रारम्भिक चरणमै शीर्ष टोलीहरूबीच कडा प्रतिस्पर्धा देखिनु राष्ट्रिय लिगको स्तर र रोमाञ्चकतालाई संकेत गर्ने पक्ष हो ।
यसअघि एपिएफले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो । निरन्तरता र सन्तुलित प्रदर्शनले एपिएफलाई उपाधि दावेदारका रूपमा अगाडि सारेको छ । उता चर्च ब्वाइजले पहिलो खेलमा श्री भगवती क्लबसँग बराबरी खेले पनि दोस्रो खेलको हारले टोलीमाथि दबाब बढाएको छ ।
आगामी खेलहरूमा एपिएफ आफ्नो विजयी यात्रालाई कायम राख्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने चर्च ब्वाइज पुनरागमनको बाटो खोज्न बाध्य हुनेछ । प्रतियोगिता क्रमशः उत्कर्षतर्फ उन्मुख हुँदै जाँदा दर्शकको चासो र उत्साह पनि बढ्दो देखिएको छ, जसले राष्ट्रिय लिग फुटबललाई थप जीवन्त बनाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्