काठमाडौँ, २ माघ । अभिनेता अरुण क्षेत्री र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘हन्टर’को छायांकन सम्पन्न भएको छ । दुई चरणमा सञ्चालन गरिएको छायांकन प्रक्रिया ४५ दिनमा पूरा भएको निर्माण पक्षले जनाएको छ ।
फिल्मको अधिकांश दृश्य पश्चिम नेपालको महेन्द्रनगर आसपासका क्षेत्रहरूमा खिचिएका छन्, जसले कथावस्तुमा क्षेत्रीय पहिचान र स्थानीय परिवेशको गहिरो प्रभाव दिने अपेक्षा गरिएको छ ।
‘हन्टर’मार्फत अभिनेता अरुण क्षेत्री दर्शकसामु एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । पछिल्लो समय फरक–फरक विधामा आफूलाई स्थापित गर्दै आएका अरुणका लागि यो फिल्म करिअरको अर्को महत्वपूर्ण प्रयोगका रूपमा हेरिएको छ । उनका एक्सन दृश्यहरूलाई यथार्थपरक र कथासँग जोडिएको बनाउन विशेष ध्यान दिइएको निर्माण टोलीको भनाइ छ ।
फिल्मका निर्देशक जीवन सिंहका लागि ‘हन्टर’ डेब्यू निर्देशन हो । निर्देशनसँगै फिल्मको लेखन र सम्पादनको जिम्मेवारी पनि सिंहले स्वयं सम्हालेका छन् । उनले फिल्म वास्तविक घटना र पात्रबाट प्रेरित भएको बताए पनि कथालाई पूर्ण रूपमा फिक्सनाइज गरिएको स्पष्ट पारेका छन् ।
निर्देशक सिंहका अनुसार, “वास्तविक परिवेश र पात्रको अनुभूतिलाई आधार मानेर कथा बुनेका हौं, तर फिल्मी संरचना र नाटकीयताका लागि त्यसलाई कल्पनासँग जोडिएको छ ।” उनका अनुसार ‘हन्टर’ले सुदूरपश्चिम क्षेत्रको सामाजिक यथार्थ, संघर्ष र मनोविज्ञानलाई कथाको केन्द्रमा राख्नेछ ।
फिल्ममा अरुण क्षेत्री र गरिमा शर्मासँगै प्रकाश शाह, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन र गीता अधिकारीलगायत अनुभवी तथा नयाँ कलाकारहरूको अभिनय रहेको छ । विविध पुस्ता र पृष्ठभूमिका कलाकारहरूको उपस्थितिले कथालाई बहुआयामिक बनाउने अपेक्षा गरिएको छ ।
प्राविधिक पक्षमा पनि ‘हन्टर’लाई सशक्त बनाउने प्रयास देखिन्छ। कृष्ण थापाले छायांकन (डीओपी) सम्हालेका छन् भने द्वन्द्व निर्देशन शुक्रराज साहले गरेका छन् । फिल्मका एक्सन दृश्यहरू कथासँग मेल खाने गरी तयार गरिएको बताइएको छ ।
नृत्य निर्देशन विक्रम स्वाँर र सञ्जय खिमजिमले गरेका छन् भने संगीतकार बाबुल गिरी (धनबहादुर)को संगीत फिल्ममा समावेश छ । यी सबै पक्षले फिल्मलाई व्यावसायिक रूपमा बलियो बनाउने विश्वास निर्माण पक्षको छ ।
निर्माण पक्षतर्फ, ट्राइडेन्ट कन्सेप्टसँगको सहकार्यमा क्याच कक इन्टरटेनमेन्टले ‘हन्टर’ निर्माण गरेको हो । फिल्मका कार्यकारी निर्माता रोयल भिमसेन हुन्, जो पोस्टर डिजाइनरका रूपमा परिचित छन् ।
यही फिल्मबाट उनले फिल्म निर्माणमा औपचारिक प्रवेश गरेका हुन् । निर्मातामा ममता सिंह, गोविन्द राज रोक्का र राज ए भट्ट रहेका छन् भने मनिष चन्द सह–निर्माताको भूमिकामा छन् ।
पछिल्लो समय नेपाली फिल्म उद्योगमा क्षेत्रीय कथावस्तु र यथार्थपरक कथनप्रति बढ्दो चासो देखिएको सन्दर्भमा ‘हन्टर’लाई पनि त्यही धारको एक प्रयासका रूपमा हेरिएको छ ।
सुदूरपश्चिमको कथा, एक्सन र मानवीय संघर्षलाई एकसाथ प्रस्तुत गर्ने उद्देश्य राखिएको यो फिल्मले दर्शकसँग कस्तो सम्बन्ध बनाउँछ भन्ने चासो बढ्दो छ । अब पोस्ट–प्रोडक्सन चरणमा प्रवेश गरेको ‘हन्टर’को प्रदर्शन मिति भने निर्माण पक्षले सार्वजनिक गरिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्