काठमाडौँ, २७ पुस । बंगलादेश महिला फुटबल लिगको चौथो चरणमा नेपाली खेलाडीहरूको प्रभावशाली प्रदर्शन देखिएको छ । एउटै दिन भएका दुई खेलमा नेपाली खेलाडीले गोलसँगै टोलीको जितमा निर्णायक योगदान पु¥याएका छन्, जसले क्षेत्रीय लिगमा नेपाली महिला फुटबलको बढ्दो उपस्थिति र प्रतिस्पर्धात्मक क्षमतालाई पुनः पुष्टि गरेको छ ।
चौथो चरणको खेलअन्तर्गत राजशाही स्टार्स फुटबल क्लबले बंगलादेश पुलिस फुटबल क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ । उक्त खेलमा नेपाली टोलीकी दिपा शाही र विमला बिक दुवैले एक–एक गोल गर्दै टोलीको जितमा योगदान पु¥याए ।
खेलको पहिलो हाफमै बंगलादेशकी स्टार खेलाडी रितु पोर्ना चक्माले दुई गोल गर्दै राजशाहीलाई २–० को अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा राजशाहीले आक्रमणको गति अझ बढाउँदै विपक्षी रक्षापंक्तिलाई पूर्ण रूपमा दबाबमा राख्यो । यही क्रममा दिपा शाहीले ५२ औं मिनेटमा गोल गर्दै स्कोरलाई फराकिलो बनाइन् भने ७७ औं मिनेटमा विमला बिकले गोल गर्दै राजशाहीको प्रभावशाली जित सुनिश्चित गरिन् ।
दिपा शाही र विमला बिक दुवै त्रिभुवन आर्मी क्लबकी नियमित खेलाडी हुन् । दिपा शाहीले बंगलादेश आउनुअघि माल्दिभ्सको लिग खेलेकी थिइन्, जहाँ उनले अन्तर्राष्ट्रिय अनुभव बटुलेकी थिइन् । सोही अनुभवको प्रभाव उनको खेलमा स्पष्ट देखिएको थियो । विमला बिकले पनि सीमित अवसरमा प्रभावकारी प्रदर्शन गर्दै प्रशिक्षकको भरोसा जितेकी छन् ।
त्यसैगरी, चौथो चरणकै अर्को खेलमा फारवेशगन्ज स्पोर्टिङ क्लबले सिराज सिटी सान्गोडलाई ९–० को फराकिलो अन्तरले हराउँदै एकतर्फी जित दर्ता ग¥यो । यस खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले पनि गोल गर्दै टोलीको आक्रामक प्रदर्शनमा योगदान पु¥याइन् ।
फारवेशगन्जले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । टोलीकी आक्रमणकारी खेलाडी सामसुनाहरले पहिलो हाफमै चार गोल गर्दै ह्याट्रिक पूरा गरिन्, जसले खेलको दिशा प्रारम्भमै तय गरिदियो । दोस्रो हाफमा पनि फारवेशगन्जले दबाब कायम राख्दै थप गोलहरू थप्यो । पूजा रानाले ६९ औं मिनेटमा गोल गर्दै आफ्नो उपस्थितिलाई स्कोरशीटमा अंकित गराइन् ।
पूजा रानासँगै नेपाली खेलाडी समिक्षा घिमिरे पनि फारवेशगन्जको टोलीमा समावेश छिन् । यद्यपि यस खेलमा समिक्षाले गोल गर्न नसके पनि रक्षात्मक भूमिकामा उनले स्थिर प्रदर्शन देखाएकी थिइन् । पूजा रानाले पहिलो पटक बंगलादेश महिला लिग खेलिरहेकी हुन् । यसअघि उनले भुटानको लिग खेलेर अन्तर्राष्ट्रिय अनुभव हासिल गरिसकेकी थिइन्, जसले उनको खेलमा आत्मविश्वास थपेको देखिन्छ ।
बंगलादेश महिला लिगमा लगातार नेपाली खेलाडीको सहभागिता र प्रभावशाली प्रदर्शनले नेपाली महिला फुटबलको क्षेत्रीय पहिचान बलियो बन्दै गएको संकेत गर्छ । दक्षिण एशियाली लिगहरूमा नेपाली खेलाडीले पाउँदै आएको अवसरले उनीहरूको व्यक्तिगत करियर मात्र होइन, राष्ट्रिय टोलीका लागि पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
एकै चरणमा दिपा शाही, विमला बिक र पूजा रानाजस्ता खेलाडीले गोल गर्दै आफ्नो छाप छोड्नु नेपाली महिला फुटबलका लागि उत्साहजनक समाचार हो । प्रतिस्पर्धात्मक लिगमा निरन्तर खेल्दै अनुभव बटुल्नुले उनीहरूको खेल स्तर उकास्ने र भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि अझ प्रभावकारी भूमिका खेल्ने आधार तयार गर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्