इन्डो–नेपाल टि–२० क्रिकेट च्याम्पियनसिप हुने

काठमाडौँ, २८ पुस । झापाको भद्रपुरमा कोशी पाथिभरा इन्डो–नेपाल टि–२० क्रिकेट च्याम्पियनसिप आयोजना हुने भएको छ । सीमावर्ती क्षेत्रमै आयोजना हुन लागेको यस प्रतियोगितालाई नेपाल–भारतबीचको खेलकुद सहकार्य सुदृढ बनाउने अवसरका रूपमा लिइएको छ । प्रतियोगिता मेची क्रिकेट ग्राउन्डमा आगामी माघ २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजक भद्रपुर क्रिकेट क्लबले आइतबार भद्रपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको औपचारिक जानकारी सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष आदित्य पराजुलीका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी हुनेछन् । “सीमावर्ती झापाबाट अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण भए पनि यसले स्थानीय क्रिकेट र पर्यटन दुवैलाई गति दिने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो ।

प्रतियोगितामा नेपालबाट चार र भारतबाट चार टोली सहभागी हुनेछन् । नेपालतर्फ आयोजक भद्रपुर क्रिकेट क्लब, विराटनगर किंग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाड ले प्रतिस्पर्धा गर्ने क्लबका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक मनोज सुब्बाले जानकारी दिनुभयो ।

भारतबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी (गुवाहाटी), ग्लोबल स्टार क्रिकेट क्लब (लखनाऊ), क्रिकेट कोचिङ उपाध्याय एकेडेमी (न्यु दिल्ली) र स्नो लायन टिम (सिक्किम) सहभागी हुनेछन् । यी टोलीको सहभागिताले प्रतियोगितालाई प्रतिस्पर्धात्मक मात्र होइन, अनुभव आदान–प्रदानको प्लेटफर्मसमेत बनाउने अपेक्षा गरिएको छ ।

आठै टोलीलाई दुई समूहमा विभाजन गरेर लिग ढाँचामा खेलाइनेछ । समूह चरणपछि शीर्ष टोलीहरूबीच सेमिफाइनल र फाइनल खेलाइने योजना छ । क्लबका महासचिव वसन्त पोखरेलका अनुसार खेल तालिका केही दिनमै सार्वजनिक गरिनेछ । पर्याप्त तयारी र व्यवस्थापनका कारण खेलहरू निर्धारित समयमै सम्पन्न गरिने आयोजकको दाबी छ ।

प्रतियोगितालाई खेलाडीका लागि आकर्षक बनाउने उद्देश्यले नगद पुरस्कारसमेत तोकिएको छ । विजेता टोलीले ट्रफीसहित ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ११ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।

यस्तै, प्रतियोगिताका उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले जनही २५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् । उदीयमान खेलाडीलाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ भने सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द टुर्नामेन्ट) ले ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने क्लबका सचिव केदार महतले जानकारी दिनुभयो । प्रतियोगिता आयोजनामा करिब १ करोड २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

खेलकुदसँगै कोशी प्रदेशको पर्यटन प्रवद्र्धन प्रतियोगिताको अर्को प्रमुख उद्देश्य हो । आयोजकका अनुसार प्रतियोगिताका क्रममा सहभागी नेपाली तथा भारतीय खेलाडी र अफिसियललाई प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गराइनेछ । यसले खेलकुद पर्यटनको अवधारणालाई व्यवहारमा उतार्ने र स्थानीय अर्थतन्त्रलाई समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापा, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, उद्योगी टिकाराज ढकाललगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यले प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुने विश्वास उनीहरूले व्यक्त गरे ।

भद्रपुरमा आयोजना हुन लागेको कोशी पाथिभरा इन्डो–नेपाल टि–२० क्रिकेट च्याम्पियनसिप केवल एउटा क्रिकेट प्रतियोगितामा सीमित छैन । यो सीमापार खेलकुद सहकार्य, युवा प्रतिभा विकास र पर्यटन प्रवद्र्धनलाई एकैसाथ जोड्ने प्रयास हो । सफल आयोजनासँगै झापा र कोशी प्रदेशले भविष्यमा पनि यस्ता अन्तर्राष्ट्रियस्तरका खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्