पर्सागढीमा ऐतिहासिक दौड प्रतियोगिता सम्पन्न

 

वीरगञ्ज, २७ पुस । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाको श्रीजङ्ग गण पर्साले ऐतिहासिक युद्धस्थल पर्सागढीमा भव्य दौड प्रतियोगिता आयोजना गरेको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण र सम्मान गर्दै आयोजना गरिएको यस कार्यक्रमले इतिहास, राष्ट्रियता र खेलकुदलाई एकै सूत्रमा जोड्ने प्रयास गरेको देखिएको छ ।

श्रीजङ्ग गणको आयोजनामा शनिबार पर्सागढी क्षेत्रमा १० किलोमिटर खुला दौड तथा छात्र–छात्रातर्फ छुट्टाछुट्टै पाँच हजार मिटर दौड प्रतियोगिता सम्पन्न भएका छन् । कार्यक्रमको उद्देश्य राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको अतुलनीय योगदानप्रति सम्मान प्रकट गर्नुका साथै युवापुस्तामा देशप्रेम, अनुशासन र शारीरिक तन्दुरुस्तीप्रतिको चेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएका छन् ।

श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले पृथ्वी जयन्ती नेपाली सेनाका लागि विशेष महत्वको दिन भएको उल्लेख गर्नुभयो । “राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपाली सेनाका संस्थापक पनि हुनुहुन्छ,” उहाँले भन्नुभयो, “उहाँको जन्मजयन्तीलाई सम्मानपूर्वक मनाउन हामीले खेलकुद, हाजिरीजवाफजस्ता सिर्जनात्मक कार्यक्रममार्फत इतिहास र वर्तमान पुस्ताबीच सेतु बनाउने प्रयास गरेका हौँ।” उहाँका अनुसार खेलकुदले अनुशासन, सहकार्य र प्रतिस्पर्धाको भावना विकास गर्ने भएकाले यस्ता कार्यक्रम निरन्तर गरिनेछ ।

१० किलोमिटर खुला दौड प्रतियोगितामा श्रीजङ्ग गणकै सिपाही लिलाराम वली प्रथम हुन सफल हुनुभयो । द्वितीय र तृतीय स्थानमा क्रमशः सिपाहीद्वय सर्जन राउत र पुष्प अछामी रहनुभयो । सैनिकस्तरको यस प्रतिस्पर्धामा उच्च उत्साहका साथ सहभागिता देखिएको थियो, जसले सेनाभित्र शारीरिक क्षमता र खेलकुद संस्कृतिलाई प्राथमिकता दिइएको सन्देश दिएको छ ।

विद्यार्थी वर्गलाई लक्षित पाँच हजार मिटर दौड प्रतियोगितामा पनि उल्लेखनीय प्रतिस्पर्धा देखियो । छात्रतर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बर्डेवाका नीरज चौधरी प्रथम हुनुभयो भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बरुवा छटौलीका गोलु सहनी द्वितीय र अंकेश सहनी तृतीय हुनुभयो ।

छात्रातर्फ भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बरुवा छटौलीकी काजल सहनी प्रथम स्थानमा रहनुभयो । द्वितीय स्थानमा नन्दनीकुमारी पटेल र तृतीय स्थानमा सिद्धार्थ माध्यमिक विद्यालय वीरगञ्जकी अञ्जुकुमारी पटेल रहनुभयो ।

विजेता खेलाडीहरूलाई पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्सागढी नगरपालिकाका प्रमुख गोर्कण पाठक, श्रीजङ्ग गणका गणपति लोकेन्द्र कार्की तथा सशस्त्र प्रहरी बल पर्साका गणपति पुरनचन्द्र भट्टलगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

दौड प्रतियोगितासँगै पाँच हजार मिटर वाकाथन कार्यक्रम पनि आयोजना गरिएको थियो, जसमा पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालय, सुरक्षा निकायका प्रमुख तथा स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो । यसले कार्यक्रमलाई केवल प्रतिस्पर्धामा सीमित नराखी सामूहिक सहभागिता र एकताको सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ ।

इतिहासका दृष्टिले पनि पर्सागढी महत्वपूर्ण स्थल हो । विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इण्डिया कम्पनीको फौजबीच यही क्षेत्रमा युद्ध भएको थियो, जहाँ गोर्खाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरेको इतिहास छ । उक्त युद्धमा अङ्ग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए भने नेपाली फौजको नेतृत्व रञ्जित चौधरीले गरेको बताइन्छ ।

ऐतिहासिक स्थलमा आयोजना गरिएको यस प्रकारको खेलकुद कार्यक्रमले इतिहासको संरक्षण, राष्ट्रिय गौरवको स्मरण र स्वस्थ समाज निर्माणका लागि खेलकुदको महत्वलाई एकसाथ उजागर गरेको छ । पृथ्वी जयन्तीको अवसरमा पर्सागढीमा सम्पन्न दौड प्रतियोगिताले खेलकुद र राष्ट्रभावनालाई सशक्त रूपमा जोड्न सफल भएको सहभागीहरूको प्रतिक्रिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्