मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप आयोजना हुने

सर्लाही, २५ पुस । फुटबल खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा स्थानीय स्तरमै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यसहित सर्लाहीको लालबन्दीमा ‘प्रथम लालबन्दी मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप २०८२’ आयोजना हुने भएको छ । मधेस प्रदेशमै पहिलोपटक नगरस्तरबाट आयोजना हुन लागेको यस प्रतियोगितालाई स्थानीय खेलकुद विकासको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

लालबन्दी नगरपालिका–१, नवलपुरस्थित फुटबल रङ्गशालामा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे औपचारिक जानकारी गराइएको हो । लालबन्दी नगरपालिका मुख्य आयोजक रहेको उक्त प्रतियोगिता माघ १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार प्रतियोगिताले मधेस प्रदेशसहित देशका विभिन्न जिल्लाबाट आउने टोलीबीच प्रतिस्पर्धा गराउँदै फुटबललाई जनस्तरसम्म लोकप्रिय बनाउने लक्ष्य लिएको छ ।

जीवेश्वर युवा क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले प्रतियोगिताले स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडीलाई आफूलाई प्रमाणित गर्ने अवसर प्रदान गर्ने बताउनुभयो । “स्थानीय खेलाडीले ठूला प्रतियोगितामा देखिने अवसर कम पाउँछन् । मेयर गोल्डकपले उनीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने र अगाडि बढ्ने ढोका खोल्नेछ,” उहाँले भन्नुभयो ।

प्रतियोगितामा अन्तर प्रदेशका चार टोलीसहित कुल १२ टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीहरूमा सर्लाहीको जीवेश्वर युवा क्लब, पर्साको वीरगञ्ज युनाइटेड, बाराको रतनपुर युनाइटेड, रौतहटको नेपाल खेलकुद क्लब, महोत्तरीको ब्याङखाडी युवा क्लब, धनुषाको धनुषा–११, सिरहाको गोलबजार स्पोट्र्स क्लब, सप्तरीको न्यू त्रियुगा स्पोट्र्स क्लब, उदयपुरको गाईघाट युवा क्लब, सुनसरीको इनरुवा फुटबल क्लब, चितवनको भरतपुर फुटबल क्लब र हेटौँडाको मकवानपुर जिल्ला फुटबल सङ्घ रहेका छन् ।

माघ २७ गते हुने फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न हुनेछ । आयोजकका अनुसार विजेता टोलीले तीन लाख रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगितामा ‘म्यान अफ द म्याच’ सहित विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । यसले खेलाडीमा व्यक्तिगत प्रदर्शन सुधार गर्ने प्रेरणा थप्ने अपेक्षा गरिएको छ । साथै, अनुशासित खेल, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयीमान खेलाडी जस्ता विधाहरू समावेश गरेर खेलको गुणस्तर बढाउने लक्ष्य आयोजकले लिएको छ ।

लालबन्दी नगरपालिका–१७ का वडाध्यक्ष तथा नगर खेलकुद विकास समितिका संयोजक विष्णु अधिकारीले प्रतियोगिताले नवलपुर क्षेत्रको खेल पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “प्रतियोगिताका कारण बाहिरी जिल्लाबाट खेलाडी, समर्थक र खेलप्रेमीहरू यहाँ आउनेछन् । यसले होटल, यातायात, व्यापार र स्थानीय सेवामा सकारात्मक आर्थिक प्रभाव पार्नेछ,” उहाँले भन्नुभयो ।

आयोजकले मेयर गोल्डकपलाई एकपटकको कार्यक्रममै सीमित नराखी नियमित र प्रतिष्ठित प्रतियोगिताको रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएका छन् । यसले भविष्यमा लालबन्दीलाई मधेस प्रदेशकै प्रमुख फुटबल केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तह, युवा क्लब र खेलकुद संस्थाबीचको सहकार्यलाई बलियो बनाउँदै दीर्घकालीन खेल संरचना विकासतर्फ अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

प्रथम लालबन्दी मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप २०८२ केवल फुटबल प्रतियोगिता मात्र नभई स्थानीय प्रतिभा विकास, खेल संस्कृतिको विस्तार र खेल पर्यटन प्रवद्र्धनको साझा अभियानका रूपमा अघि बढेको छ । स्थानीय सरकारको सक्रियता र युवाहरूको सहभागिताले यस प्रतियोगिताले लालबन्दी मात्र होइन, सम्पूर्ण मधेस प्रदेशको खेलकुद विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्