पोखरा, २४ पुस । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२औँ एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा ठूलो, प्रतिष्ठित तथा दीर्घकालीन अवार्ड कार्यक्रम यसपटक ऐतिहासिक रूपमा पहिलो पटक काठमाडौँ बाहिर आयोजना हुन लागेको हो । अवार्ड कार्यक्रम पोखरामा सम्पन्न हुन लागेको यस घटनालाई नेपाली खेलकुदको इतिहासमा एउटा महत्वपूर्ण मोडका रूपमा लिइएको छ ।
अवार्ड कार्यक्रमको पूर्वसन्ध्यामा मङ्गलबार स्पोर्टस समिट को आयोजना गरिएको थियो । नेपाल खेलकुद पत्रकार मञ्चअन्तर्गत रहेको एनएसजेएफ एकेडेमीको आयोजनामा सम्पन्न उक्त समिटमा पोखरामा खेल पर्यटन, खेल पूर्वाधार तथा स्थानीय अर्थतन्त्रमा खेलकुदले पार्ने प्रभावका विषयमा गहन छलफल गरिएको थियो ।
समिटले पोखरालाई खेलकुदसँगै पर्यटन र आर्थिक विकाससँग जोड्ने सम्भावनाबारे सार्थक विमर्श अघि बढाएको आयोजकले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष नीरञ्जन अधिकारी ले अवार्ड कार्यक्रमलाई लिएर आफू अत्यन्त उत्साहित रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । अब हामी अवार्ड कार्यक्रमकै उत्सुकतापूर्वक प्रतीक्षामा छौँ । सुरुआतमा मोफसलमा यति ठूलो अवार्ड कार्यक्रम आयोजना गर्दा धेरै चुनौती सामना गर्नुपर्ला भन्ने लागेको थियो । तर पोखरा आएपछि चुनौतीभन्दा बढी अवसर देखिएका छन् । मलाई विश्वास छ, अब पोखरा राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रिय स्तरका अवार्ड कार्यक्रमहरूको प्रमुख गन्तव्य बन्नेछ ।”
यसैगरी, नेपाल खेलकुद पत्रकार मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगर ले पोखरामा स्पोर्टस अवार्डको आयोजना हुनु पोखरेली खेल इतिहासका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पोखरा सहर पछिल्लो समय खेलकुदको हबको रूपमा स्थापित हुँदै आएको छ । अब यति ठूलो र प्रतिष्ठित स्पोर्टस अवार्डको सफल आयोजनाले पोखराको खेल क्षेत्रलाई अझै विस्तारित र सुदृढ बनाउनेछ ।”
उहाँका अनुसार यस कार्यक्रमले स्थानीय खेलकुद विकास र खेलप्रतिको चासोलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
२२औँ एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पोखरा महानगरपालिका प्रवद्र्धक को रूपमा रहेको छ ।
अवार्डको मुख्य प्रायोजकका रूपमा गोल्छा ग्रुप ले साथ दिएको छ भने यति एयरलाइन्स पावर्ड बाई पार्टनरका रूपमा जोडिएको छ । यसैगरी, स्पोर्टस अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् । विभिन्न क्षेत्रका प्रतिष्ठित संस्थाहरूको सहकार्यले अवार्ड कार्यक्रमलाई थप व्यवस्थित र भव्य बनाउने अपेक्षा गरिएको छ ।
अवार्ड कार्यक्रममा यसपटक पनि १० विधामा अवार्ड प्रदान गरिनेछ । ती विधामा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर तथा एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड समावेश छन् । यी अवार्डमार्फत वर्षभरि विभिन्न खेल विधामा उल्लेखनीय योगदान पु¥याउने खेलाडी, प्रशिक्षक र टिमलाई सम्मान गरिनेछ ।
पिपल्स च्वाइस अवार्ड अन्तर्गत यसपटक उसुका विजय सिञ्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल मनोनयनमा पर्नुभएको छ ।
दर्शक र खेलप्रेमीको मतका आधारमा यो अवार्ड प्रदान गरिने भएकाले यस विधाप्रति विशेष चासो देखिएको छ । २२औँ एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आज पोखराको सभागृहमा आयोजना हुँदैछ । खेलकुद, पत्रकारिता र सम्मानको संगम बनेको यो अवार्ड कार्यक्रमले नेपाली खेलकुदको विकासमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्