काठमाडौँ, २४ पुस । नवौँ केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले उत्कृष्ट प्रदर्शनसहित विजयी सुरुवात गरेका छन् । नेपाली महिला भलिबलको प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित यस प्रतियोगिताले खेलाडी, प्रशिक्षक र दर्शकहरूमा थप उत्साह थपेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार सम्पन्न दोस्रो खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आफ्नो प्रभुत्व जमायो । प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले पहिलो सेट २५–२२ ले जित्दै आत्मविश्वास बनाएको थियो ।
त्यसपछि दोस्रो र तेस्रो सेटमा क्रमशः २५–२० र २५–२१ को जित निकाल्दै पुलिसले सहज जित दर्ता ग¥यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पुलिसकी पुनम चन्द ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
यसअघि सम्पन्न उद्घाटन खेलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–० को सिधा सेटमा प्रभावशाली जित हात पारेको थियो । एकतर्फी देखिएको खेलमा न्यु डायमण्डले आर्मीलाई २५–१६, २५–१५ र २५–१७ ले पराजित ग¥यो ।
आक्रामक आक्रमण, बलियो डिफेन्स र उत्कृष्ट टिमवर्कका कारण न्यु डायमण्ड खेलभरि नै नियन्त्रणमा रह्यो । टोलीकी अनुभवी खेलाडी सुमित्रा रेग्मी उत्कृष्ट प्रदर्शनका आधारमा ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा सबै टोलीले एक–आपसमा प्रतिस्पर्धा गर्नेछन् । लिग चरणपछि शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् भने पुछारमा रहने दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताले राष्ट्रिय टोलीका लागि नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
२०७२ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको राष्ट्रिय महिला भलिबल प्रतियोगिता नेपाली महिला भलिबलको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । घरेलु प्रतियोगितामार्फत खेलाडीहरूले नियमित प्रतिस्पर्धाको अवसर पाउनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आफूलाई तयार पार्ने वातावरण बनेको छ । यस वर्ष पनि प्रतियोगितालाई कन्साइन निरोलेक पेन्ट (केएनपी) ले मुख्य प्रायोजन गरेको छ ।
प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँसहित अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार रुपैयाँ र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैबीच, राष्ट्रिय महिला भलिबल टोली तथा टिप टप न्यु डायमण्डकी सुमित्रा रेग्मी शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित भएकी छिन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिताको उद्घाटन समारोहका अवसरमा सुमित्रालाई सम्मान गरिएको हो । उनले अवार्डसहित ५० हजार रुपैयाँ प्राप्त गरिन् । प्रतिष्ठानले हरेक संस्करणमा महिला भलिबलमा उल्लेखनीय योगदान पु¥याउने एक खेलाडीलाई उक्त विशेष अवार्ड प्रदान गर्दै आएको छ ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद्, मार्वल टेक्नोप्लास्टसहित विभिन्न कर्पोरेट हाउस र स्थानीय नगरपालिकाहरूले सहयोग गरेका छन् । नेपाली महिला भलिबलको स्तर उकास्न र खेलाडीलाई प्रोत्साहन गर्न यस प्रतियोगिताले दीर्घकालीन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्