चलचित्र ‘कुमारी’ को ‘डोको बुन्ने’ गीत लोकप्रिय बन्दै

काठमाडौँ, २४ पुस । चलचित्र ‘कुमारी’ को ‘डोको बुन्ने’ गीत अहिले दर्शक तथा श्रोतामाझ उल्लेखनीय रूपमा लोकप्रिय बन्दै गएको छ ।
सार्वजनिक भएको छोटो समयमै ‘डोको बुन्ने’ गीतले डिजिटल प्लेटफर्महरूमा राम्रो प्रभाव जमाएको छ ।

युट्युबमा यो गीत हालसम्म ११ लाखभन्दा बढी पटक हेरिएको छ भने टिकटकमा यसले झन् व्यापक लोकप्रियता हासिल गरेको छ । टिकटकमा गीत प्रयोग गरी बनाइएका भिडियोहरूको संख्या लगभग ४० हजार पुगिसकेको छ, जसले गीतको लोकप्रियता र प्रभावलाई स्पष्ट रूपमा देखाउँछ ।

विशेषगरी गायक केहर सिंह लिम्बूको आफ्नै टिकटक अकाउन्टबाट मात्र २५ हजारभन्दा बढी भिडियोहरू बनिसकेका छन्, जुन नेपाली फिल्मी गीतका लागि उल्लेखनीय उपलब्धि मान्न सकिन्छ ।

गीतको मुख्य हरफ ‘डोको बुन्ने निगालो चोयाले, ज्यानै खायो त्यो तिम्रो मायाले’ मा आधारित टिकटक भिडियोहरू बढी देखिएका छन् । यी हरफहरूले लोकलयको मिठाससँगै प्रेमको सरल तर गहिरो भाव प्रस्तुत गर्ने भएकाले युवापुस्तामाझ विशेष आकर्षण बनेको देखिन्छ । सामाजिक सञ्जालमा गीतप्रति दर्शकको सहभागिता र प्रतिक्रिया हेर्दा, ‘डोको बुन्ने’ ले आम श्रोताको मन छोएको स्पष्ट हुन्छ ।

युट्युबमा प्राप्त प्रतिक्रियाहरू पनि गीतको सफलतालाई पुष्टि गर्ने खालका छन् । दर्शकहरूले विशेषगरी गायक केहर सिंह लिम्बूको आवाजको खुलेर प्रशंसा गरेका छन् । साथै गीतको भिडियोमा देखाइएको कोरियोग्राफी, छायांकन, समग्र मेकिङ र चलचित्रका मुख्य कलाकार अबिषेक खड्का तथा आकृति राजभण्डारीबीचको केमेस्ट्री पनि दर्शकले मन पराएका छन् । युट्युब कमेन्टहरू हेर्दा, गीतले युवापुस्तालाई फिल्म हेर्न अझ बढी उत्साहित र अधैर्य बनाएको देखिन्छ ।

‘डोको बुन्ने’ गीत केहर सिंह लिम्बूको स्वरमा सजिएको छ । गीतका शब्द सागर लामिछाने मगर र सुमन तामाङले लेखेका हुन् भने संगीत सुमन तामाङ र केहर सिंह लिम्बू स्वयंको रहेको छ । लोकलयमा आधारित यस गीतले नेपाली समाजको मौलिक संस्कृति र प्रेम अभिव्यक्तिको पुरानो शैलीलाई समेटेको छ ।

चिठ्ठीमार्फत प्रेमपत्र लेख्ने समयदेखि रोधी बस्ने चलनसम्मका सन्दर्भहरू गीतमा समावेश गरिएकाले यसले दर्शकलाई पुराना दिनहरूको स्मृतिमा फर्काउने काम गरेको छ । गीतको भिडियोको कोरियोग्राफी शिशिर खातीले गर्नुभएको हो, जसले गीतको भाव र लयलाई दृश्यात्मक रूपमा आकर्षक बनाएको छ ।

चलचित्र ‘कुमारी’ को निर्देशन चर्चित निर्देशक दिनेश राउतले गर्नुभएको हो । उहाँ ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता रोमान्टिक चलचित्रमार्फत दर्शकमाझ परिचित हुनुहुन्छ । ‘कुमारी’ आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

चलचित्रमा अबिषेक खड्का र आकृति राजभण्डारीका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का र सनम श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ । यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुनुहुन्छ ।

‘डोको बुन्ने’ गीतले नेपाली फिल्मी गीतहरूमा देखिएको सुस्ततालाई तोड्दै नयाँ ऊर्जा भरेको छ । लोकसंस्कृति, प्रेम र आधुनिक प्रस्तुतीकरणको सन्तुलनले यो गीतले दर्शकको मन जित्न सफल भएको देखिन्छ । गीतको लोकप्रियतासँगै चलचित्र ‘कुमारी’ प्रति दर्शकको अपेक्षा पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्