काठमाडौँ, २४ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन आह्वान गर्नुभएको छ । उहाँहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै बहुमत महाधिवेशन प्रतिनिधिहरूको मागका आधारमा विशेष महाधिवेशन कानुनी, राजनीतिक र सांगठनिक रूपमा अपरिहार्य तथा बाध्यकारी बनेको स्पष्ट गर्नुभएको हो ।
विज्ञप्तिमा उल्लेख भएअनुसार पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २ हजार ४८८ जना अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित निवेदन दर्ता गराइसकेका छन् । विधानअनुसार यति ठूलो संख्यामा प्रतिनिधिहरूको माग दर्ता भएको अवस्थामा तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु पार्टी केन्द्रको दायित्व र जिम्मेवारी हुने महामन्त्रीद्वयले स्मरण गराउनुभएको छ ।
महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय कार्यसमितिले नै औपचारिक रूपमा विशेष महाधिवेशन बोलाउनु उपयुक्त र मर्यादित हुने विश्वासका साथ आफूहरूले अधिकतम प्रयास गरेको तर केन्द्रीय कार्यसमितिबाट त्यसबारे सकारात्मक निर्णय हुन नसकेको बताउनुभएको छ । यस्तो अवस्थामा विधानले प्रदान गरेको अधिकारअनुसार महाधिवेशन प्रतिनिधिहरूको पहल स्वाभाविक र वैधानिक भएको उहाँहरुको भनाइ छ ।
“बहुमत महाधिवेशन प्रतिनिधिहरूबाट उठाइएको विशेष महाधिवेशनको मागप्रति हाम्रो पूर्ण ऐक्यबद्धता रहेको छ । पुस २८ गतेभित्र विशेष महाधिवेशन सम्पन्न गर्न हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूले गरेको प्रयास उनीहरूको वैधानिक अधिकार हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महामन्त्रीद्वयले पार्टी विधानको धारा ३ (१२) तथा धारा २७ (१) को भावनालाई समेत आत्मसात् गर्दै विधानको धारा १७ (२) अनुसार यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई यसलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गर्नुभएको छ ।
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको केन्द्रमा रहेको ऐतिहासिक राजनीतिक दल हो । राणा शासनविरुद्धको आन्दोलनदेखि बहुदलीय प्रजातन्त्र स्थापना, संविधान निर्माण तथा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्दै आएको छ ।
पार्टीभित्र समय–समयमा देखिने विचार, कार्यशैली र नेतृत्वसम्बन्धी बहसलाई कांग्रेसले आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा लिँदै आएको छ।महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनलाई पार्टी सुधार, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक चुनौतीको सामना गर्न आवश्यक ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्नुभएको छ ।
“बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि” भन्ने मूल नारासहित आयोजना हुन लागेको विशेष महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र जिम्मेवार नेतृत्व विकासमा योगदान पु¥याउने विश्वास उहाँहरुले व्यक्त गर्नुभएको छ ।
वर्तमान राजनीतिक परिवेशमा नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य, सुशासन, सामाजिक न्याय, समावेशिता र आर्थिक रूपान्तरणका मुद्दामा थप स्पष्ट र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै महामन्त्रीद्वयले पार्टीलाई जनतासँग अझ नजिक लैजान विशेष महाधिवेशन महत्वपूर्ण माध्यम बन्ने बताउनुभएको छ ।
पार्टी संगठनलाई जरा–तहसम्म सुदृढ गर्दै युवापुस्ता, महिला, दलित, आदिवासी जनजाति तथा पिछडिएका समुदायलाई नेतृत्व तहमा सार्थक रूपमा सहभागी गराउने विषयमा विशेष महाधिवेशन केन्द्रित हुने अपेक्षा गरिएको छ ।
उहाँहरुले जस्तोसुकै कठिन परिस्थिति आए पनि नेपाली कांग्रेसलाई एकढिक्का राख्ने, आन्तरिक मतभेदलाई संवाद र सहमतिबाट समाधान गर्ने तथा पार्टीलाई राष्ट्रिय राजनीतिको भरोसायोग्य शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको छ। पार्टीभित्रको मतभेद लोकतान्त्रिक अभ्यासको स्वाभाविक हिस्सा भए पनि त्यसले संगठनात्मक एकता र जनविश्वास कमजोर हुन नदिने कुरामा आफूहरू दृढ रहेको महामन्त्रीद्वयको भनाइ छ ।
नेपाली कांग्रेसका महाधिवेशनहरू केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको भावी दिशा, नीति र कार्यक्रम तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइन्छन्। विशेष महाधिवेशनमार्फत पार्टीको वर्तमान अवस्थाको गहिरो समीक्षा गर्दै आगामी राजनीतिक रणनीति तय गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ ।
महामन्त्रीद्वय थापा र शर्माले सबै महाधिवेशन प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पार्टी विधानको सम्मान गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने दिशामा सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभएको छ । विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई अझ सशक्त, उत्तरदायी र जनमुखी बनाउने विश्वास व्यक्त गर्दै उहाँहरुले सम्पूर्ण पक्षलाई संयम, सहकार्य र एकताको मार्ग अवलम्बन गर्न आह्वान गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्