आइजिपी नेशनल तेक्वान्दो प्रतियोगिता सम्पन्न

 

काठमाडौँ, २३ पुस । नेपाल प्रहरीको संरक्षकत्वमा आयोजित दोस्रो आइजिपी नेशनल तेक्वान्दो प्रतियोगिता भव्य र मर्यादित रूपमा सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सोमबार नेपाल पुलिस स्कुल सामाखुसीमा सम्पन्न यस प्रतियोगिताले विद्यालयस्तरमा तेक्वान्दो खेलको विकास, खेलकुदमार्फत अनुशासन र आत्मविश्वास अभिवृद्धि तथा नवप्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

समापन कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी हुने खेलाडीहरूलाई पदक, प्रमाणपत्र तथा ट्रफी प्रदान गर्नुभएको थियो । साथै, विद्यालयमा उल्लेखनीय योगदान पु¥याउने शिक्षक तथा प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरी उहाँहरूको सेवाभाव, लगनशीलता र समर्पणको उच्च कदर गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितामा सहभागी भई विभिन्न इभेन्टमा विजयी भएका सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा खेलकुद तथा जीवनका अन्य क्षेत्रमा समेत उज्ज्वल भविष्यको कामना गर्नुभयो । उहाँले खेलकुद केवल शारीरिक क्षमताको विकासका लागि मात्र नभई मानसिक सुदृढता, अनुशासन, नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि अत्यन्तै महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो ।

उहाँले यस प्रकारका प्रतियोगिताले विद्यार्थीलाई आफ्नो सीप र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै किताबी ज्ञानभन्दा बाहिर गएर जीवनका अमूल्य पाठ सिक्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । प्रतियोगिताभर खेलाडीहरूले देखाएको सक्रिय सहभागिता, निरन्तर प्रयास, अनुशासन र लगनशीलताको उहाँले विशेष प्रशंसा गर्नुभयो । खेल मैदानमा देखिएको खेलभावना, पारस्परिक सम्मान र स्वस्थ प्रतिस्पर्धाले विद्यार्थीको सर्वाङ्गीण विकासमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो ।

प्रहरी महानिरीक्षक कार्कीले विद्यालयस्तरमै तेक्वान्दो जस्ता खेलको व्यवस्थित विकास सुनिश्चित गर्न तथा प्रतिभाशाली खेलाडीको पहिचान गरी उनीहरूलाई उचित मार्गदर्शन र अवसर प्रदान गर्न यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । खेलकुदमार्फत विद्यार्थीमा अनुशासन, आत्मनियन्त्रण र लक्ष्यप्रति दृढता विकास हुने भएकाले यस्ता गतिविधिलाई निरन्तरता दिन आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

उहाँले नेपाल पुलिस स्कुलहरूको चौतर्फी विकास तथा समग्र विद्यार्थीको बृहत्तर हितका लागि नेपाल प्रहरी प्रधान कार्यालय सदैव गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । विद्यालयको निरन्तर प्रगति र गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका तथा अभिभावक वर्गबीच घनिष्ठ सहकार्य अपरिहार्य रहेको बताउँदै सबै पक्षले साझा दायित्वका साथ विद्यालयको उन्नतिका लागि क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो ।

यस प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुरलगायत देशभरका ४५ वटा विद्यालय तथा डोजाङबाट करिब ६ सय जना तेक्वान्दो खेलाडीको उल्लेखनीय सहभागिता रहेको थियो । ठूलो संख्यामा विद्यार्थी खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप उत्साहपूर्ण र प्रतिस्पर्धात्मक बनाएको थियो ।

दोस्रो आइजिपी नेशनल तेक्वान्दो प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको महत्व उजागर गर्दै विद्यार्थीको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकको विश्वास छ । आगामी दिनमा पनि यस्ता खेलकुद प्रतियोगितालाई निरन्तरता दिई राष्ट्रियस्तरका दक्ष र अनुशासित खेलाडी उत्पादनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्