काठमाडौँ, २२ पुस । फिल्म ‘बिगुल’ आगामी माघ ९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ । देशको समसामयिक राजनीतिक तथा सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली फिल्म ‘बिगुल’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ ।
करिब तीन मिनेट लामो ट्रेलरमार्फत चलचित्रले मुलुकमा विद्यमान राजनीतिक विकृति, जनतामा फैलिएको गहिरो निराशा, युवापुस्तामा बढ्दो आक्रोश, पारिवारिक सम्बन्धभित्रका जटिलता तथा दुई पुस्ताबीच देखिने वैचारिक मतभेदलाई प्रभावकारी रूपमा उजागर गरेको छ । साथै, सामाजिक न्याय र परिवर्तनको आकांक्षालाई चलचित्रले प्रमुख कथावस्तुका रूपमा प्रस्तुत गरेको ट्रेलरबाट स्पष्ट देखिन्छ ।
सार्वजनिक ट्रेलरमा नेपाली समाजको वर्तमान अवस्था प्रतिबिम्बित हुने दृश्यहरू समेटिएका छन् । विशेषगरी, राजनीतिक अस्थिरता र नेतृत्वप्रति जनविश्वास कमजोर बन्दै गएको अवस्थालाई गहिरो रूपमा चित्रण गरिएको छ ।
आम नागरिकले भोग्दै आएको पीडा, असमानता र उपेक्षाले सिर्जना गरेको असन्तोष फिल्मको मुख्य भावभूमि बनेको देखिन्छ । ट्रेलरले परिवर्तनका लागि जनस्तरबाट उठ्ने आवाज र त्यसले निम्त्याउने आन्दोलनको संकेतसमेत दिएको छ ।
ट्रेलरमा अभिनेत्री बेनिशा हमालले बोलेको एक सशक्त संवादले दर्शकको ध्यान विशेष रूपमा आकर्षित गरेको छ । उनले बोलेको ‘क्रान्ति जहाँबाट पनि सुरु हुन्छ । जबसम्म हामी जनताको पीडा सुन्दैनौं, क्रान्ति गर्न सक्दैनौं’ भन्ने संवादले फिल्मको मूल सन्देशलाई प्रस्ट रूपमा उजागर गर्दछ ।
उक्त संवादमार्फत देशमा परिवर्तन ल्याउन जनताको आवाज, पीडा र चाहनालाई केन्द्रमा राख्नुपर्ने सन्देश दिइएको छ । यसले फिल्मले जनआन्दोलन, विद्रोह र सचेत नागरिकको भूमिकालाई कथाको केन्द्रमा राखेको संकेत गर्दछ ।
देश निर्वाचनको संघारमा रहेको समयमा ट्रेलर सार्वजनिक हुनु अर्थपूर्ण मानिएको छ । फिल्मले दर्शकलाई राजनीतिक सचेतना बढाउन, जिम्मेवार नागरिकका रूपमा सोच्न र सही नेतृत्व चयन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ । समाजमा विद्यमान विकृति र विसंगतिप्रति प्रश्न उठाउँदै चलचित्रले जनतालाई आत्ममूल्याङ्कन गर्न प्रेरित गर्ने उद्देश्य लिएको देखिन्छ ।
रमेश कोइरालाको निर्देशनमा निर्माण भएको यस फिल्ममा बेनिशा हमालको साथमा रमेश बुढाथोकी, नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, गीता अधिकारी लगायतका चर्चित तथा अनुभवी कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरूको विविध र सशक्त उपस्थिति चलचित्रको अर्को विशेषता बनेको छ, जसले कथावस्तुलाई अझ प्रभावशाली बनाउने अपेक्षा गरिएको छ ।
चलचित्र ‘बिगुल’को कथा तथा निर्माण दिनेश कोइरालाले गर्नुभएको हो भने कल्पना पौडेल प्रस्तुतकर्ताको भूमिकामा रहनुभएको छ। यसैगरी, सूर्यकान्त कोइराला र महेश कोइराला सह–निर्माताका रूपमा संलग्न रहनुभएको छ। सशक्त कथा र अनुभवी निर्माण टिमको संयोजनले चलचित्रलाई गुणस्तरीय बनाउने विश्वास गरिएको छ।
फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले तयार पार्नुभएको छ। छायांकन शिव ढकालले गर्नुभएको हो भने नृत्य निर्देशन कमल राई र कविराज गहतराजले सम्हाल्नुभएको छ।
द्वन्द्व निर्देशन एनबी महर्जनले गर्नुभएको छ। संगीत पक्षमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल तथा मनोज चौलागाईंको योगदान रहेको छ। चलचित्रको सम्पादन तारा थापा (किम्भे)ले गर्नुभएको हो।
राजनीतिक र सामाजिक विषयवस्तुलाई गम्भीर रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ निर्माण गरिएको चलचित्र ‘बिगुल’ आगामी माघ ९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रले दर्शकलाई सोच्न बाध्य बनाउने, प्रश्न उठाउन प्रेरित गर्ने र समसामयिक यथार्थसँग साक्षात्कार गराउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्