नेपाल क्रिकेट सङ्घद्वारा वार्षिक खेल तालिका सार्वजनिक

काठमाडौँ, २१ पुस ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेट गतिविधिहरू समेटिएको वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । नेपाली क्रिकेटको समग्र विकास, निरन्तर प्रतिस्पर्धा र खेलाडी उत्पादनलाई लक्षित गर्दै तयार गरिएको उक्त क्यालेन्डर काठमाडौँमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

क्यानका सचिव पारस खड्काले पत्रकार सम्मेलनमा वार्षिक खेल तालिका सार्वजनिक गर्दै यस क्यालेन्डरले राष्ट्रियस्तरदेखि अन्तरराष्ट्रियस्तरसम्मका प्रतियोगिताहरूलाई व्यवस्थित ढङ्गले अघि बढाउने उद्देश्य राखेको बताउनुभयो । उहाँका अनुसार घरेलु प्रतियोगितालाई प्राथमिकता दिँदै खेलाडी विकास, प्रशिक्षक र अम्पायर उत्पादन तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धालाई सन्तुलित रूपमा समेट्ने प्रयास गरिएको छ ।

वार्षिक खेल तालिकाअनुसार राष्ट्रिय प्रतियोगिताहरूको सुरुआत जनवरी महिनामा पुरुष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट हुनेछ । यस प्रतियोगिताअन्तर्गत जनवरी ५ देखि २५ तारिखसम्म जिल्ला चरणका खेलहरू आयोजना गरिनेछन् भने जनवरी २५ देखि फेब्रुअरी १० तारिखसम्म प्रदेश चरणका खेलहरू सञ्चालन हुनेछन्। यो प्रतियोगिताले देशभरका प्रतिभाशाली खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने विश्वास क्यानले लिएको छ ।

फेब्रुअरी महिनामा पुरुष प्रधानमन्त्री कपको प्रदेश चरण निरन्तरता पाउनेछ । सोही महिनामा फेब्रुअरी १२ देखि २२ तारिखसम्म प्रतिष्ठित जय ट्रफी क्रिकेट प्रतियोगिता आयोजना गरिनेछ । यसै महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको जिल्ला चरण पनि सञ्चालन गरिने क्यालेन्डरमा उल्लेख गरिएको छ, जसले विद्यालयस्तरबाटै क्रिकेट प्रतिभा पहिचानमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

मार्च महिनामा पुरुष प्रधानमन्त्री कपको राष्ट्रिय चरण मार्च २८ देखि अप्रिल २२ तारिखसम्म सञ्चालन हुनेछ । यस अवधिमा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको प्रदेश चरण तथा महिला प्रधानमन्त्री कपको जिल्ला चरण पनि आयोजना गरिनेछ । यसले महिला क्रिकेटको विकास र सहभागितालाई थप प्रोत्साहन गर्ने क्यानको लक्ष्य रहेको देखिन्छ ।

अप्रिल महिनामा महिला प्रधानमन्त्री कपको प्रदेश चरण सञ्चालन गरिनेछ । साथै, पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको जिल्ला तथा प्रदेश चरण र अन्य क्यानका आन्तरिक कार्यक्रमहरू पनि यसै महिनामा सञ्चालन हुनेछन् । यसले युवा खेलाडीलाई निरन्तर प्रतिस्पर्धामा राख्ने उद्देश्य पूरा गर्ने क्यानको विश्वास छ ।

मे महिनामा महिला प्रधानमन्त्री कपको राष्ट्रिय चरण मे २ देखि २० तारिखसम्म आयोजना हुनेछ । सोही महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको राष्ट्रिय चरण, यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता तथा क्यान युथ क्याम्प सञ्चालन गरिनेछ । यी कार्यक्रमहरूले भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

जुन महिनामा सातै प्रदेशमा क्यान लेभल–१ कोचिङ कोर्स सञ्चालन गरिनेछ, जसले प्रशिक्षक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसै महिनाको जुन १५ देखि २५ तारिखसम्म राष्ट्रिय टी–२० च्याम्पियनसिप आयोजना गरिने क्यालेन्डरमा समावेश छ ।

जुलाई महिनामा क्यान लेभल–२ कोचिङ कोर्स तथा पिच क्युरेटर कोर्स सञ्चालन गरिनेछन् । अगस्ट महिनामा क्यान लेभल–१ अम्पायरिङ कोर्स आयोजना हुनेछ । सेप्टेम्बरदेखि अक्टोबरसम्म महिला लङ्गर फम्र्याट क्रिकेट प्रतियोगिता आयोजना गर्ने प्रस्ताव क्यालेन्डरमा समावेश गरिएको छ, जसले महिलातर्फको दीर्घकालीन क्रिकेट विकासलाई सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

 

अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गरिनेछ। अक्टोबर महिनामै यु–१६ बोइज तथा गल्र्स राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप, अन्तरविद्यालय तथा कलेजस्तरीय लङ्गर फम्र्याट प्रतियोगिता र क्षेत्रीय टुर्नामेन्टहरू आयोजना गरिनेछन् । डिसेम्बर महिनामा पनि विभिन्न क्षेत्रीय टुर्नामेन्टहरू सञ्चालन गरिनेछन् ।

अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितातर्फ, जनवरी महिनामा आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता नेपालमै आयोजना हुने क्यानले जनाएको छ । फेब्रुअरीमा नेपाली पुरुष टोलीले टी–२० विश्वकप खेल्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्