काठमाडौँ, २१ पुस । माघ १६ गतेबाट फिल्म ‘आ बाट आमा’ देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने तयारीमा छ ।
आमा–छोराबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली फिल्म ‘आ बाट आमा’ मा नेवारी भाषाको गीत पनि समावेश गरिने भएको छ । आमाको माया, त्याग र समर्पणलाई गहिरो रूपमा चित्रण गर्ने उद्देश्यसहित तयार पारिएको यस फिल्मले भाषिक तथा सांस्कृतिक विविधतालाई समेत सम्मान गर्दै नेवारी समुदायको भाषा र भावनालाई चलचित्रमार्फत प्रस्तुत गर्न लागेको हो ।
दुई साताअघि युट्युबमार्फत सार्वजनिक गरिएको फिल्मको शीर्ष गीत ‘सृष्टिकै पहिलो नाम’ लाई निर्माण पक्षले नेवारी भाषामा समेत रेकर्ड गराएको जानकारी दिएको छ । यस गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले स्वर दिनुभएको छ । उहाँ नेपाली कला क्षेत्रमा स्थापित हास्य कलाकार मदनकृष्ण श्रेष्ठका सुपुत्र हुनुहुन्छ । यमन श्रेष्ठले भावनात्मक गीतलाई नेवारी भाषामा गाउने अवसर पाउँदा आफू अत्यन्तै खुशी भएको प्रतिक्रिया दिनुभएको छ ।
गीतका मूल शब्द बाबुल गिरीले रचना गर्नुभएको हो। उक्त गीतलाई नेवारी भाषामा प्रस्तुत गर्न पाउँदा आफूलाई विशेष गर्व लागेको यमन श्रेष्ठको भनाइ छ । गीतको नेवारी भाषामा रूपान्तरणको प्रक्रियाबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “गीतको नेवारी शब्द आफैं मिलाउनुपर्ने भएपछि मैले बुबालाई सहयोगका लागि आग्रह गरेको थिए । बुबाले अत्यन्तै माया र मेहनतका साथ गीतलाई नेवारी भाषामा अनुवाद गरिदिनुभयो।” यसबाट पिता–पुत्रको भावनात्मक सहकार्य पनि झल्किने देखिन्छ ।
नेपाली भाषामा यसै गीतलाई चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल–२’ का विजेता रवि ओडले स्वर दिनुभएको छ । ‘सृष्टिकै पहिलो नाम’ गीतले आमाले सन्तानप्रति गर्ने निःस्वार्थ माया, जीवनभरको समर्पण र गहिरो भावनात्मक लगावलाई मर्मस्पर्शी शैलीमा प्रस्तुत गरेको छ । गीत सुन्ने जो–कोहीलाई आमाको माया र योगदानको स्मरण गराउने भावनात्मक शक्ति यस गीतमा रहेको निर्माण पक्षको विश्वास छ ।
निर्माण पक्षले उक्त गीतलाई अझ प्रभावकारी बनाउँदै दर्शक र श्रोताको सक्रिय सहभागिता बढाउने उद्देश्यले गायन तथा अभिनयसम्बन्धी प्रतियोगिताको समेत घोषणा गरेको छ । यस प्रतियोगिताअन्तर्गत गीतमा कभर गाउने वा अभिनय प्रस्तुत गर्ने सहभागीमध्ये उत्कृष्टलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । यसले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुका साथै गीतप्रति दर्शकको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।
फिल्ममा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा अनुभवी कलाकारहरूको उल्लेखनीय अभिनय रहेको छ । चलचित्रमा विपना थापा, प्रदीप रावत (जसलाई ‘गजनी भिलेन’ का रूपमा चिनिन्छ), पल शाह, विशाल पहाडी, रविन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दीलिप उखेडा, रचना गौतम लगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ ।
चलचित्रको निर्देशन चन्द्र पन्तले गर्नुभएको हो । उहाँले यसअघि पनि सामाजिक तथा भावनात्मक विषयवस्तुमा आधारित फिल्ममार्फत दर्शकको मन जित्नुभएको अनुभव छ । ‘आ बाट आमा’ मा पनि उहाँले आमाको महत्त्व, त्याग र सन्तानसँगको सम्बन्धलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने प्रयास गर्नुभएको बताइएको छ ।
चलचित्रका निर्माता ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना रहनुभएको छ । निर्माण टिमले यो फिल्मलाई केवल मनोरञ्जनका रूपमा मात्र नभई समाजमा आमाप्रतिको सम्मान र भावनात्मक मूल्यलाई उजागर गर्ने माध्यमका रूपमा प्रस्तुत गर्न चाहेको जनाएको छ ।
फिल्म ‘आ बाट आमा’ ले आमा–सन्तानको सम्बन्धलाई केन्द्रमा राख्दै भाषा, संस्कृति र भावना सबैलाई सम्मान गर्ने प्रयास गरेको देखिन्छ । नेवारी भाषामा समावेश गरिएको गीतले फिल्मको सांस्कृतिक आयामलाई अझ समृद्ध बनाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्