काठमाडौँ, २० पुस । टिप टप हेल्प न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले नवौँ एनभिए भलिबल च्याम्पियनसिपको उपाधि जित्दै नेपाली भलिबल इतिहासमा पुनः आफ्नो सशक्त उपस्थिति दर्ज गराएको छ । शनिबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिप हात पारेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न फाइनल खेलमा न्यु डायमण्डले उत्कृष्ट समन्वय, आक्रामक खेल र सन्तुलित रणनीति प्रस्तुत गर्दै पुलिस क्लबमाथि स्पष्ट प्रभुत्व जमाएको थियो । न्यु डायमण्डले खेलका तीनै सेट क्रमशः २५–१८, २५–१९ र २५–१८ ले आफ्नो पक्षमा पार्दै दर्शकको प्रशंसा बटुल्न सफल भयो ।
यस उपाधिसँगै न्यु डायमण्डले प्रतियोगिताभरि अद्वितीय प्रदर्शन गरेको प्रमाणित भएको छ । टोलीले प्रतियोगितामा खेलेका पाँचै खेलमा कुनै पनि सेट नगुमाई अपराजित यात्रा पूरा गर्दै च्याम्पियन बन्न सफल भयो । यो उपलब्धिलाई नेपाली क्लब भलिबलको इतिहासमा उल्लेखनीय मानिएको छ ।
न्यु डायमण्डले चार वर्षपछि एनभिए भलिबल च्याम्पियनसिपको उपाधि जितेको हो । यसअघि २०७८ सालमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै क्लबले पहिलो पटक च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि २०७९ सालको फाइनलमा भने न्यु डायमण्ड नेपाल पुलिस क्लबसँग पराजित हुन पुगेको थियो ।
त्यसैगरी, गत फागुन महिनामा पोखरामा सम्पन्न एनभिए भलिबल लिगको फाइनलमा पनि न्यु डायमण्ड पुलिस क्लबसँग नै पराजित भएको थियो । पटक–पटकको प्रतिस्पर्धामा भोग्नुपरेको ती पराजयहरूबाट पाठ सिक्दै यसपटक न्यु डायमण्डले उत्कृष्ट तयारी र आत्मविश्वाससहित मैदान उत्रिएर पुलिस क्लबलाई सिधा सेटमा पराजित गर्दै बदला समेत लिन सफल भएको देखिन्छ ।
नवौँ एनभिए भलिबल च्याम्पियनसिपको फाइनलमा पुग्नु न्यु डायमण्डका लागि तेस्रो पटकको अवसर थियो । ती तीनमध्ये दोस्रो पटक क्लबले च्याम्पियन बन्ने सफलता प्राप्त गरेको हो । यस उपलब्धिले न्यु डायमण्डलाई नेपाली महिला भलिबलको अग्रणी क्लबमध्ये एकको रूपमा थप स्थापित गरेको छ ।
यसैबीच, नवौँ एनभिए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले तेस्रो स्थान हासिल गरेका छन् ।
पुरुषतर्फको तेस्रो स्थानको खेलमा नेपाल पुलिस क्लबले रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई ३–२ सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित ग¥यो ।
निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा पुलिस क्लबले पहिलो दुई सेट २५–२७ र २३–२५ ले गुमाएको थियो । तर त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै तेस्रो सेट २६–२४, चौथो सेट २५–२२ र निर्णायक पाँचौँ सेट १५–१० ले जित्दै खेल आफ्नो पक्षमा पारेको थियो । पुलिस क्लबको दृढ इच्छाशक्ति र अनुभवले भरिएको खेल प्रदर्शन प्रशंसनीय देखिएको थियो ।
महिलातर्फको तेस्रो स्थानको खेलमा एपिएफ क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । एकतर्फी देखिएको उक्त खेलमा एपिएफले आर्मीलाई क्रमशः २५–१३, २५–१७ र २५–१० ले पराजित गर्दै आफ्नो प्रभुत्व देखाएको थियो ।
नवौँ एनभिए भलिबल च्याम्पियनसिपले नेपाली भलिबलमा नयाँ ऊर्जा थपेको खेलप्रेमीहरूको प्रतिक्रिया छ । खेलाडीहरूको उत्साहजनक प्रदर्शन, क्लबहरूबीचको स्वस्थ प्रतिस्पर्धा र दर्शकको उल्लेखनीय उपस्थितिले प्रतियोगितालाई सफल बनाएको आयोजकहरूको भनाइ छ ।
यस प्रतियोगिताले नेपाली भलिबलको स्तर उकास्न तथा नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्