काठमाडौँ, २० पुस । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग सम्बन्धित घटनाक्रमबारे गम्भीर दाबी सार्वजनिक गर्नुभएको छ । उहाँले शनिबार सामाजिक सञ्जालमार्फत अमेरिका–भेनेजुएला बीच तीव्र तनावको पृष्ठभूमिमा भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरी देश बाहिर निकालिएको दाबी गर्नुभएको हो । ट्रम्पको यो भनाइ अन्तर्राष्ट्रिय स्तरमा गहिरो चासो र बहसको विषय बनेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक गरेको भनाइअनुसार संयुक्त राज्य अमेरिकाले भेनेजुएलाविरुद्ध “सफल आक्रमण” गरेको र त्यस क्रममा राष्ट्रपति मादुरोलाई पत्नीसहित नियन्त्रणमा लिई देश निकाला गरिएको उहाँको दाबी छ । उहाँले यो कदमलाई अमेरिकी सुरक्षासँग जोडेर व्याख्या गर्नुभएको छ । यद्यपि, यो दाबी अमेरिकी राष्ट्रपति स्वयंको भनाइका रूपमा सार्वजनिक भएको हो र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कोणबाट प्रतिक्रियाहरू आउन थालेका छन् ।
ट्रम्पद्वारा मादुरोको पक्राउ भएको दाबी सार्वजनिक हुनु अमेरिका र भेनेजुएला बीच लामो समयदेखि चल्दै आएको राजनीतिक तथा कूटनीतिक तनावकै बीचमा आएको हो । राष्ट्रपति ट्रम्पले यसअघि पनि भेनेजुएलाको वर्तमान सरकारलाई बारम्बार “नार्को–आतंकवादी सरकार”को संज्ञा दिँदै आएको उल्लेखनीय छ । उहाँले मादुरो नेतृत्वको सरकार लागुऔषध तस्करी र अवैध गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन् ।
अमेरिकाले यसअघि भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको दाबी गरिएका जहाजहरूमाथि प्रतिबन्ध लगाएको थियो । त्यसैगरी, अमेरिकी सेनाले लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै क्यारिबियन क्षेत्रमा भेनेजुएलाका डुङ्गाहरूविरुद्ध निगरानी र कारबाही बढाएको जनाएको थियो ।
यी सबै कदमलाई ट्रम्प प्रशासनले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणसँग जोडेर व्याख्या गर्दै आएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाले “अमेरिकाविरुद्ध काम गरिरहेको” आरोप लगाउँदै राष्ट्रपति मादुरोलाई पदबाट हट्न आह्वान गर्दै आएको बताइएको छ ।
यसैबीच, भेनेजुएला सरकारले शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै अमेरिकाले भेनेजुएलाको भूभागमाथि “सैन्य आक्रमण” गरेको आरोप लगाएको छ । उक्त विज्ञप्तिमा संयुक्त राष्ट्र संघको बडापत्रको उल्लङ्घन भएको र यसले क्षेत्रीय शान्ति तथा स्थिरतालाई गम्भीर खतरा पु¥याएको भनी कडा शब्दमा निन्दा गरिएको छ ।
भेनेजुएला सरकारको विज्ञप्तिमा अमेरिकाले राजधानी काराकाससहित मिरान्डा, अरागुआ र ला गुएराका नागरिक तथा सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरेको आरोप लगाइएको छ । यस्ता गतिविधि संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको प्रत्यक्ष उल्लङ्घन भएको सरकारको दाबी छ । विज्ञप्तिमा उक्त आक्रमणको उद्देश्य भेनेजुएलाका रणनीतिक स्रोतहरू, विशेष गरी तेल र खनिजमाथि नियन्त्रण कायम गर्नु र देशको राजनीतिक स्वतन्त्रतालाई कमजोर पार्नु रहेको उल्लेख गरिएको छ ।
भेनेजुएला सरकारले आफ्नो विज्ञप्तिमा देशका जनतालाई ऐतिहासिक नेता साइमन बोलिभर र अन्य राष्ट्रिय व्यक्तित्वहरूको विरासत स्मरण गराउँदै एकताबद्ध हुन आह्वान गरेको छ । सरकारले सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई “साम्राज्यवादी आक्रमण”को विरोधमा उभिन र राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न आग्रह गरेको छ ।
विज्ञप्तिअनुसार बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू देशको सार्वभौमिकता र शान्ति सुनिश्चित गर्न राष्ट्रव्यापी रूपमा तैनाथ गरिएको छ । साथै, कूटनीतिक मार्गमार्फत संयुक्त राष्ट्र सुरक्षा परिषद् र संयुक्त राष्ट्र महासचिवसमक्ष औपचारिक उजुरी दिने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले संविधान र राष्ट्रिय सुरक्षा सम्बन्धी कानुनअनुसार आवश्यक राष्ट्रिय योजनाहरू कार्यान्वयन गर्न निर्देशन दिँदै देशमा सङ्कटकालसम्बन्धी आदेशमा हस्ताक्षर गरेको सरकारको भनाइ छ । यससँगै राज्य र नगरपालिकाहरूमा व्यापक राष्ट्रिय रक्षा कमान्ड संरचनाहरू तैनाथ गरिएको उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्र संघको बडापत्रको धारा ५१ लाई उद्धृत गर्दै भेनेजुएला सरकारले आफ्नो जनता, भूभाग र स्वतन्त्रताको रक्षा गर्न आत्मरक्षाको अधिकार सुरक्षित राखेको जनाएको छ । साथै, विश्व समुदायका सरकार र जनतालाई एकता र ऐक्यबद्धता व्यक्त गर्न आह्वान गरिएको छ ।
घटनाक्रमप्रति अन्तर्राष्ट्रिय प्रतिक्रिया पनि आउन थालेका छन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएलाविरुद्ध अमेरिकाले चालेको कदमबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन आह्वान गर्नुभएको छ । उहाँले क्षेत्रीय शान्ति र स्थिरताका लागि बहुपक्षीय संवाद अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभएको छ ।
क्युबा अध्यक्ष मिगुएल डियाज–क्यानेलले यस कार्यलाई “राज्य आतंकवाद” को रूपमा वर्णन गर्दै कडा निन्दा गर्नुभएको छ र अन्तर्राष्ट्रिय समुदायलाई तत्काल प्रतिक्रिया जनाउन आग्रह गर्नुभएको छ ।
रूसले अमेरिकी कदमलाई सशस्त्र आक्रमणको रूपमा आलोचना गरेको छ र भेनेजुएलासँगको सम्बद्धतामा शान्ति र कूटनीतिक समाधान आवश्यक रहेको बताएको छ ।
इरानले यस कारबाहीलाई भेनेजुएलाको सार्वभौमिकता र भौगोलिक अखण्डता विरुद्धको उल्लङ्घन भनेको छ र त्यसबारे कडा आलोचना गरेको छ।
युरोपियन संघले अवहेलना, अव्यवहारिक कूटनीतिक कदम र बल प्रयोगप्रति “गम्भीर चासो” प्रकट गरेको छ। भ्ग् का धेरै सदस्य राष्ट्रहरूले कानुनी ढंगमा विवाद समाधान र तनाव घटाउने आग्रह गरेका छन्।
स्पेनः विवादको शान्तिपूर्ण समाधान र कानुन–नियमको सम्मानमा जोड दिदै मध्यस्थता प्रस्ताव गरेको छ ।
इन्डोनेशियाः तनाव घटाउन र अन्तर्राष्ट्रिय कानून पालनामा जोड दिएको छ ।
जर्मनीः नियम आधारित अन्तर्राष्ट्रिय व्यवस्था विरुद्धको कदमको आलोचना गरेको छ ।
इटली (पूर्व प्रधानमन्त्री)ः यस घटनालाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको भन्दै आलोचना गरेको छ ।
ट्रिनिडाड र टोबागोः तनावबाट टाढा रहन र अप्ठ्यारो परिस्थितिबाट बच्न आग्रह गरेको छ ।
भेनेजुएलाले यसलाई “अमेरिकी सैन्य आक्रमण” र संयुक्त राष्ट्र संघको बडापत्र उल्लंघन भएको बताउँदै कडा निन्दा गरेको छ । सरकारले आक्रमणलाई देशको राजनीतिक स्वतन्त्रता कमजोर पार्ने प्रयासबोल्दै आफ्ना कूटनीतिक निकायहरूलाई तत्काल संयुक्त राष्ट्रसम्म उजुरी दर्ता गर्न निर्देशन दिएको छ ।
एक संयुक्त राष्ट्र मानवअधिकार विशेषज्ञले पनि उक्त सैन्य कारबाहीलाई “अवैध आक्रमण” र अध्यक्ष मादुरो तथा उनकी पत्नीको निकै गम्भीर रूपमा अपहरण गरिएको रूपमा बताउँदै यसको निन्दा गरेको छ ।
अमेरिकी दावीकृत कारबाही र मादुरो दम्पतीको पक्राउबारे विश्वव्यापी प्रतिक्रिया नकारात्मक र चिन्तापूर्ण रहेको छ । खासगरी क्षेत्रीय देशहरू र परम्परागत विरोधी शक्तिहरूले यसलाई संप्रभुता र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन को रूपमा देखेका छन् भने धेरैले शान्तिपूर्ण, कूटनीतिक समाधानको माग गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी र त्यसको भेनेजुएला सरकारद्वारा गरिएको प्रतिवादले अन्तर्राष्ट्रिय राजनीति थप संवेदनशील मोडमा पुगेको देखिन्छ । विश्व समुदायले यस घटनाक्रमलाई गम्भीरतापूर्वक नियालिरहेको छ भने कूटनीतिक समाधानको आवश्यकता झनै बलियो रूपमा उठ्न थालेको छ ।
यस्तै,नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सार्वभौम मुलुक भेनेजुएलामाथि अमेरिकाले गरेको ’विनाशकारी सैन्य हमला’को कडा निन्दा गरेको छ ।
पार्टीले अमेरिकाको यस कार्यलाई ’साम्राज्यवादी–सैन्यवादी हस्तक्षेप’को संज्ञा दिँदै तत्काल आक्रमण रोक्न माग गरेको छ ।
पार्टीका महासचिव विप्लवले शनिबार जारी गरेको प्रेस वक्तव्यमा अमेरिकाले भेनेजुएलामाथि लागुपदार्थ ओसारपसारको झूटा आरोप लगाएर सैन्य हमला गरेको उल्लेख छ, जसले विश्वलाई स्तब्ध बनाएको छ । वक्तव्यमा भनिएको छ– हामी यो विध्वंसात्मक र अतिक्रमणकारी हमलाको घोर भत्र्सना गर्दछौँ ।’
पार्टीले अमेरिकाको यो कार्य समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता सञ्चालनकै कारण गरिएको साम्राज्यवादी–सैन्यवादी हस्तक्षेप भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, ’फरक विचार र सत्ताका कारण हमला गर्नु भनेको राष्ट्रको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता, प्रतिस्पर्धा र मानवअधिकारको ठाडो उल्लंघन गर्नु हो ।’
पार्टीले अमेरिकालाई यथाशीघ्र आक्रमण रोक्न र समस्याको समाधान वार्ता तथा सहमतिका माध्यमबाट खोज्न जोडदार माग गरेको छ । साथै विश्व राजनीतिक शक्ति, मानवअधिकारवादी र नागरिक समाजलाई यसका लागि सशक्त पहल गर्न पनि आह्वान गरिएको छ ।
त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले भेनेजुएलाको आन्तरिक राजनीतिक मामिलामा सैन्य बल प्रयोग गरी राष्ट्रपतिलाई नै देशबाहिर पु¥याइएको घटनाप्रति गम्भीर र चिन्ताजनक विषय भन्दै भत्र्सना गर्नुभएको छ ।
यस्तो कदमले सार्वभौमिकता, जनताको जनादेश, अन्तर्राष्ट्रिय सुरक्षा र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाएको उहाँको भनाइ छ । शर्माले शनिबार साँझ सामाजिक सञ्जालमा लेख्नुभएको छ ’यस्तो कदमले न केवल त्यस देशको सार्वभौमिकता र जनताको जनादेशमाथि प्रश्न उठाएको छ, बरु अन्तर्राष्ट्रिय सुरक्षा, लोकतान्त्रिक मूल्य र राज्यहरूबिचको मर्यादालाई समेत जोखिममा पारेको छ, यो कार्य भत्सर्नायोग्य छ ।’
यस्तै,पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र त्यहाँका राष्ट्रपति निकोलस मादुरोको अपहरणलाई अन्तर्राष्ट्रिय कानुनको भद्दा उल्लङ्घन भएको बताउनु भएको छ । संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रमाथि भएको यस प्रकारको नाङ्गो हस्तक्षेपले विश्व स्थापित अन्तर्राष्ट्रिय प्रणालीलाई चुनौती दिएको उहाँको ठहर छ ।
डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकी कदमको सबै सार्वभौम राष्ट्र र विश्व जनसमुदायले कडा शब्दमा विरोध गर्नुपर्नेमा जोड दिनुभएको छ । अमेरिकाको यस्तो दादागिरीलाई बेलैमा रोक्न नसके विश्वभर नै गम्भीर अनिष्ट आउन सक्ने चेतावनी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्