तोकिएको मितिमा निर्वाचन सम्पन्न हुने प्रचण्डको दाबी

 

सङ्खुवासभा, २० पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले देशको राजनीतिक वातावरण पूर्ण रूपमा निर्वाचनतर्फ केन्द्रित भइसकेको स्पष्ट पार्नुभएको छ । उहाँले हालको सरकारबाटै तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने दाबी गर्दै निर्वाचन प्रक्रिया अवरुद्ध हुने कुनै सम्भावना नरहेको बताउनुभएको हो ।

प्रेस सेन्टर नेपालले शनिबार सङ्खुवासभाको खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने विषयमा कुनै शङ्का गर्न नपर्ने आग्रह गर्नुभयो । उहाँका अनुसार राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन्, जसले निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको प्रमाणित गर्छ । “अब चुनाव रोकिने वा टर्ने कुनै आधार छैन,” उहाँले भन्नुभयो, “देश नयाँ जनादेशतर्फ अघि बढिसकेको छ ।”

प्रचण्डले वर्तमान अवस्थामा सर्वदलीय सरकार गठन हुने वा सरकार पुनर्गठन हुने कुनै सम्भावना नरहेको पनि स्पष्ट पार्नुभयो । निर्वाचनको सम्पूर्ण तयारी र प्रक्रिया अघि बढिसकेको अवस्थामा संसद् पुनस्र्थापना हुने चर्चा निराधार भएको उहाँको भनाइ थियो । “अब संसद् पुनस्र्थापना होइन, निर्वाचनमार्फत नयाँ संसद् गठन नै एकमात्र लोकतान्त्रिक बाटो हो,” उहाँले जोड दिनुभयो ।

उहाँले पछिल्लो समय सक्रिय देखिएको नयाँ युवा पुस्ता, विशेष गरी ‘जेनजी’ भनिने पुस्ता निर्वाचनकै पक्षमा रहेको उल्लेख गर्नुभयो । युवा पुस्ताले राजनीतिक परिवर्तन र सुधारलाई लोकतान्त्रिक प्रक्रियाबाटै अघि बढाउनुपर्ने आवाज उठाइरहेको भन्दै उहाँले यसलाई सकारात्मक संकेतका रूपमा लिनुपर्ने बताउनुभयो । “नयाँ पुस्ताले आन्दोलनको भावनासहित नयाँ जनादेश चाहेको छ,” उहाँले भन्नुभयो, “यसलाई बेवास्ता गर्ने छुट कुनै पनि राजनीतिक दलसँग छैन ।”

प्रचण्डले राजनीतिक दलहरू अब नयाँ जनादेशमा जानुको विकल्प नभएको पनि स्पष्ट पार्नुभयो । उहाँका अनुसार जनतामा परिवर्तनको अपेक्षा उच्च रहेको र त्यसको उत्तरदायित्व निर्वाह गर्न दलहरूले निर्वाचनमार्फत जनताको विश्वास नवीकरण गर्नुपर्छ । “जेनजी आन्दोलनको मर्म र भावनाअनुसार अबको राजनीतिक बाटो तय गर्नुपर्छ,” उहाँले भन्नुभयो, “यो लोकतन्त्रलाई अझ सबल बनाउने अवसर पनि हो।”

संविधान संशोधनका विषयमा बोल्दै संयोजक दाहालले निर्वाचनपछि प्राप्त हुने नयाँ जनादेशका आधारमा मात्र यस प्रक्रियालाई अघि बढाइने बताउनुभयो । उहाँले संविधान निर्माणका बेला १० वर्षपछि समीक्षा गर्ने प्रतिबद्धता गरिएको स्मरण गराउँदै त्यस अवधिमा देखिएका सकारात्मक र नकारात्मक पक्षहरूको मूल्याङ्कन गरेर आवश्यक परिमार्जन गरिने उल्लेख गर्नुभयो ।

“संविधान स्थिर दस्तावेज होइन,” उहाँले भन्नुभयो, “जनताको चाहना र अनुभवका आधारमा समय–समयमा सुधार हुँदै जानुपर्छ।”
उहाँले संविधान संशोधन कुनै एक दलको चाहनाले मात्र नभई व्यापक राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नयाँ जनादेशले दिएको दिशानिर्देशअनुसार समावेशी, लोकतान्त्रिक र संघीय व्यवस्थालाई अझ सुदृढ बनाउने गरी संविधान परिमार्जन गरिने उहाँको भनाइ थियो ।

यसैबीच, प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी सङ्खुवासभाको एकता घोषणा कार्यक्रममा सहभागी हुन सहसंयोजक माधवकुमार नेपालसहित खाँदबारी पुग्नुभएको हो । सो अवसरमा उहाँले कम्युनिस्ट आन्दोलनभित्रको एकता र सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । पार्टी एकताले मात्र देशको राजनीतिक स्थायित्व र समृद्धिको मार्ग प्रशस्त हुने उहाँको विश्वास थियो ।

कार्यक्रममा बोल्दै उहाँले सङ्खुवासभाजस्ता जिल्लाहरूमा संगठन विस्तार र जनसम्पर्कलाई अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको आधार बलियो बनाउनु नै आगामी निर्वाचनमा सफलताको आधार हुने उहाँको भनाइ थियो ।

संयोजक प्रचण्डले देश अब निर्णायक राजनीतिक मोडमा प्रवेश गरिसकेको उल्लेख गर्दै निर्वाचनमार्फत जनताको फैसला स्वीकार गर्नु नै लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान हुने स्पष्ट सन्देश दिनुभयो । उहाँले सबै राजनीतिक शक्तिहरूलाई जिम्मेवार ढङ्गले निर्वाचनमा सहभागी भई मुलुकलाई स्थायित्व, सुशासन र समृद्धितर्फ अघि बढाउन आह्वान गर्नुभयो

प्रतिक्रिया दिनुहोस्