अन्तरराष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाल उपविजेता

 

काठमाडौँ, १८ पुस । सार्क राष्ट्रका खेलाडीहरूको सहभागितामा भारतको पुनेमा सम्पन्न १७औँ अन्तरराष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाल उपविजेता बन्न सफल भएको छ । अघिल्लो संस्करणमा सबैभन्दा बढी पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको नेपालले यसपटक पनि प्रभावशाली खेल प्रस्तुत गर्दै १८ स्वर्ण, दुई रजत र सात कास्यसहित कुल २७ पदक हात पारेर दोस्रो स्थान सुरक्षित गरेको हो ।

दुई दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, भुटान र बङ्गलादेशका करिब ४७० खेलाडीले विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । तीव्र प्रतिस्पर्धा र उच्च स्तरको खेल प्रदर्शनबीच नेपाली खेलाडीहरूले अनुशासित र आत्मविश्वासी खेल प्रस्तुत गर्दै अन्तरराष्ट्रिय मञ्चमा नेपालको खेलकुद क्षमतालाई पुनः उजागर गर्न सफल भएका छन् ।

 

नेपालका तर्फबाट ११ महिला खेलाडीसहित २२ खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । विभिन्न काता र कुमिते विधामा प्रतिस्पर्धा गरेका नेपाली खेलाडीहरूले अनुभव र सीपको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै पदक जित्न सफल भएका हुन् । प्रतियोगितामा सहभागी खेलाडीहरूलाई मार्गदर्शन र व्यवस्थापन गर्ने जिम्मेवारी नेपाली टोलीका अफिसियल वसन्त रोका क्षेत्री, गिरी पुन र मिलन गाहाले निर्वाह गर्नुभएको थियो ।

सार्कस्तरीय यस प्रतियोगितामा नेपाली खेलकुद टोलीको प्रतिनिधित्व सियानकाजी रानाले गर्नुभएको थियो । टोलीका अफिसियल टिमका सदस्य मिलन गाहाले प्रतियोगितामा पाँच राष्ट्रका खेलाडी सहभागी भएको जानकारी दिँदै नेपाली खेलाडीहरूको प्रदर्शन प्रशंसनीय रहेको बताउनुभयो । उहाँका अनुसार सीमित स्रोतसाधनका बाबजुद नेपाली टोलीले अनुशासन, मेहनत र आत्मबलका साथ उत्कृष्ट नतिजा हासिल गरेको हो ।

प्रतियोगिता समापन समारोहका अवसरमा गोजुरियो कराते नेपालका प्रमुख प्रशिक्षक काजी रानाले क्षेत्रीय तथा अन्तरराष्ट्रिय स्तरमा आयोजना हुने यस्ता खेलकुद प्रतियोगिताले सहभागी राष्ट्रहरूबीच आपसी भाइचारा, मित्रता र खेलकुद कूटनीति सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताबाट खेलाडीहरूले अन्तरराष्ट्रिय अनुभव प्राप्त गर्ने र आफ्नो खेल स्तर अभिवृद्धि गर्ने अवसर पाउने पनि उल्लेख गर्नुभयो ।

सो प्रतियोगितामा आयोजक राष्ट्र भारतले २२ स्वर्ण, १० रजत र पाँच कास्यसहित कुल ३७ पदक जित्दै पहिलो स्थान हासिल गरेको थियो । त्यस्तै, श्रीलङ्का तेस्रो स्थानमा सीमित हुन सफल भएको थियो । उच्च प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न प्रतियोगिताले दक्षिण एसियाली कराते खेलको स्तर उकास्न सकारात्मक योगदान पु¥याएको आयोजकहरूको भनाइ छ ।

जापान कराते–डो नाबुकाह शितेरियो करातेको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता महाराष्ट्रका क्योसीन कराते अभियन्ता राजु थापाको संयोजनमा सम्पन्न भएको हो । प्रतियोगिताको समापन अवसरमा महाराष्ट्र ओलम्पिक सङ्घका उपाध्यक्ष मनोज बोहरेले विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

अन्तरराष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालको यो सफलता नेपाली खेलकुद क्षेत्रका लागि गौरवको विषय बनेको छ । यसले आगामी दिनमा अन्तरराष्ट्रिय स्तरमा अझ उत्कृष्ट प्रदर्शन गर्न नेपाली खेलाडीहरूलाई थप प्रेरणा र उत्साह प्रदान गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्