तेह्रौँ एनएसएसएफ किन्डर ओलम्पिक भव्य रूपमा सम्पन्न

काठमाडौं, १७ पुस । नेपाल विद्यालय खेलकुद महासङ्घ (एनएसएसएफ) को आयोजनामा एनएसएसएफ १३ औँ किन्डर ओलम्पिक बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सफलतापूर्वक सम्पन्न भएको छ ।

सानै उमेरदेखि बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने, उनीहरूमा अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमले उल्लेखनीय सहभागिता र उत्साहजनक वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमको दोस्रो चरणमा देशभरका ६७ विद्यालयका करिब एक हजार ६०० विद्यार्थी सहभागी भएका थिए । यसअघि दशरथ रङ्गशालामै सम्पन्न पहिलो चरणमा उपत्यकाका विभिन्न ३४ विद्यालयका एक हजार ५४० विद्यार्थी सहभागी भई विभिन्न खेल गतिविधिमा प्रतिस्पर्धा गरेका थिए ।

दुवै चरणमा बालबालिकाको उत्साह, अभिभावकको सक्रिय उपस्थिती र शिक्षक–प्रशिक्षकको सहयोगले कार्यक्रमलाई थप प्रभावकारी बनाएको देखिएको थियो ।

किन्डर ओलम्पिकको औपचारिक कार्यक्रम सहभागी बालबालिकाको आकर्षक ‘मार्चपास’बाट सुरु भएको थियो । त्यस अवसरमा पूर्वसांसद माधव सापकोटाले ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको ‘टर्च’ हस्तान्तरण गर्नुभएको थियो ।

त्यसपछि कमलबहादुर अधिकारीसँगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रङ्गशालाको ट्रयाकमा परिक्रमा गराउँदै खेलकुदको प्रेरणादायी सन्देश प्रवाह गर्नुभएको थियो । अनुभवी खेलाडीहरूको उपस्थितिले बालबालिकामा थप उत्साह र प्रेरणा जगाएको सहभागीहरूले बताएका छन् ।

कार्यक्रमअन्तर्गत विभिन्न १२ खेल विधामा प्रतिस्पर्धा गराइएको थियो । खेलकुद प्रतिस्पर्धासँगै बालबालिकाका लागि मनोरञ्जनात्मक तथा सिर्जनात्मक प्रदर्शनहरू पनि समावेश गरिएका थिए, जसले कार्यक्रमलाई रमाइलो र सिकाइमुखी बनाएको थियो । सहभागी बालबालिकाले खेलका माध्यमबाट आत्मविश्वास, नेतृत्व क्षमता र मित्रता विकास गर्ने अवसर पाएको आयोजकको भनाइ छ ।

एनएसएसएफका महासचिव राजकुमार कार्कीले कार्यक्रम उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको बताउँदै यसमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण निकाय, विद्यालय, शिक्षक, अभिभावक तथा स्वयंसेवकप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी संस्करणलाई अझ व्यवस्थित, समावेशी र भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

यसअघि पुस ४ गते शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले किन्डर ओलम्पिकको मस्कट अनावरण गर्नुका साथै एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रपति पौडेलको उपस्थितिले कार्यक्रमको महत्व र उद्देश्यलाई राष्ट्रिय स्तरमा थप उचाइ प्रदान गरेको एनएसएसएफले जनाएको छ ।

सानै उमेरदेखि खेलकुद संस्कृतिको विकास गर्ने दीर्घकालीन लक्ष्यसहित सन् २०१२ मा ‘इसिइटीए’ले किन्डर ओलम्पिकको सुरुआत गरेको हो । त्यसयता निरन्तर रूपमा आयोजना हुँदै आएको किन्डर ओलम्पिकले विद्यालयस्तरमा खेलकुद गतिविधिलाई संस्थागत गर्दै आएको छ । आयोजकका अनुसार, यस्ता कार्यक्रमले भावी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्