काठमाडौँ, १७ पुस । नवौं एनभिए भलिबल च्याम्पियनसिपमा महिला तर्फ नेपाल पुलिस क्लबले उत्कृष्ट प्रदर्शन जारी राख्दै समूह ‘बी’ को विजेता बनेको छ । सेमिफाइनलमा पुगिसकेको पुलिसले आजको खेलमा मधेश प्रदेश खेलकुद विकास परिषद्लाई ३–० को सोझो सेटमा पराजित ग¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न खेलमा पुलिसले मधेशलाई २५–३, २५–८ र २५–९ ले हरायो ।
लगातार तीन जितसँगै पुलिसले ९ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थान सुरक्षित गरेको हो । यसअघि नै अन्तिम चारमा पुगिसकेको अर्को विभागीय टोली नेपाल एपीएफ क्लब ७ अंकसहित समूह ‘बी’ को उपविजेता बनेको छ ।
महिलातर्फको सेमिफाइनल समीकरणसमेत तय भएको छ । सेमिफाइनलमा नेपाल पुलिस क्लबले समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने एपीएफ क्लबले समूह ‘ए’ को विजेता टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबसँग खेल्नेछ ।
दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछन् ।महिला लिगतर्फको अन्तिम खेलमा एभरेष्ट भलिबल क्लबले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । एभरेष्टले २५–१४, २५–५ र २५–११ को सेटमा जित निकाल्यो । यससँगै चुली युवा क्लब, एभरेष्ट भलिबल क्लब, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश महिला च्याम्पियनसिपबाट बाहिरिएका छन् ।
नवौं एनभिए भलिबल च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा झन् रोमाञ्चक बन्दै गएको छ ।
यसैबीच, बुढानिलकण्ठ भलिबल क्लब र कोशी प्रदेश भलिबल संघले नवौं एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् । दुवै टोलीले समूह चरणको अन्तिम खेलमा जित हात पार्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।
समूह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा बुढानिलकण्ठ भलिबल क्लबले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ सेटमा पराजित गर्दै समूह उपविजेताका रूपमा क्वाटरफाइनल यात्रा तय ग¥यो । बुढानिलकण्ठले २५–१७, २५–१६, १८–२५ र २५–२२ को सेटमा जित निकालेको हो । यस जितसँगै बुढानिलकण्ठले समूह ‘सी’ को उपविजेताको हैसियतमा अन्तिम आठमा स्थान बनाएको हो ।
क्वाटरफाइनलमा स्थान बनाउन सफल बुढानिलकण्ठले अब सेमिफाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेललाई च्याम्पियनसिपको प्रतिस्पर्धात्मक खेलमध्ये एकका रूपमा हेरिएको छ ।
दिनको तथा समूह चरणको अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘डी’ को उपविजेता बनेको छ । कोशीले कीर्तिपुरलाई २५–२३, २५–२० र २५–२३ ले हराउँदै प्रभावशाली प्रदर्शन ग¥यो । यस जितसँगै कोशीले पनि पुरुषतर्फको क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
कोशी प्रदेश भलिबल संघले क्वाटरफाइनलमा समूह ‘बी’ को विजेता नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपका सबै क्वाटरफाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ । अन्य दुई क्वाटरफाइनलमा रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र नेपाल एपीएफ क्लब तथा त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्