राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा, ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

 

काठमाडौँ, १७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)बीच औपचारिक रूपमा पार्टी एकीकरण भएको छ । बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा दुवै दलका शीर्ष नेतृत्वले ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै एकता घोषणा गरेका हुन् । यस एकीकरणसँगै लामो समयदेखि विभाजित रहेको राप्रपाको धार एकै ठाउँमा आएको छ ।

एकीकरण सम्झौतामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गर्नुभएको हो । समझदारीअनुसार एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ नै रहनेछ । पार्टीको नेतृत्व संरचनामा निरन्तरता दिँदै अध्यक्षको जिम्मेवारी राजेन्द्र लिङ्देनले नै सम्हाल्ने सहमति भएको छ ।

सम्झौतामा पार्टीको विधान, झण्डा तथा निर्वाचन चिह्नसमेत यथावत् राखिने उल्लेख छ । यसअनुसार राप्रपाको झण्डा र चुनाव चिह्न ‘हलो’ नै कायम रहनेछ । एकीकरणपछि पार्टीको वैचारिक, संगठनात्मक र नीतिगत निरन्तरतामा जोड दिइएको नेताहरूले बताएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाको भावी भूमिकाका विषयमा भने समझदारीपत्रमा स्पष्ट खुलाइएको छैन ।

समझदारीपत्रको पहिलो बुँदामा एकीकृत पार्टीको वैचारिक मार्गदर्शन स्पष्ट गरिएको छ । त्यसअनुसार २०७८ साल मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनबाट पारित सम्बन्धनवादको वैचारिक दर्शन नै एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त रहनेछ ।

यसमा सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र तथा असंलग्न परराष्ट्र नीतिको सिद्धान्तलाई मूल आधारका रूपमा उल्लेख गरिएको छ ।

एकीकरण प्रक्रियामा संगठनात्मक समायोजनलाई सम्मानजनक र सहमतिमूलक बनाउने सहमति पनि गरिएको छ । समझदारीपत्रअनुसार २०७८ को राप्रपाको महाधिवेशनबाट निर्वाचित भई हाल राप्रपा नेपालमा रहेका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीमा सोही पदमा कायम राखिनेछ । यसबाट संगठनभित्र निरन्तरता र स्थायित्व कायम हुने अपेक्षा गरिएको छ ।

यसैगरी राप्रपा नेपालका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई सहमतिका आधारमा एकीकृत पार्टीको केन्द्रीय कार्यसमितिमा समावेश गरिने उल्लेख गरिएको छ । जिल्ला तथा स्थानीय तह—वडा, गाउँ र नगर तहमा—२०७८ को महाधिवेशनका बेला कायम रहेका संगठनात्मक संरचनालाई आधार मानी सम्मानजनक ढंगले समायोजन गरिने सहमति भएको छ । यसले तल्लो तहसम्म एकता प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास लिइएको छ ।

एकीकरण घोषणासभामा सहभागी नेताहरूले पार्टी एकताले राष्ट्रवादी शक्ति मजबुत बनाउने र आगामी राजनीतिक चुनौतीहरू सामना गर्न सक्षम हुने धारणा व्यक्त गरेका छन् । उनीहरूले एकीकृत राप्रपाले राष्ट्रियता, लोकतन्त्र, धर्मसंस्कृति र सुशासनका मुद्दालाई सशक्त रूपमा अघि बढाउने बताएका छन् ।

पार्टी एकीकरणसँगै राप्रपाले संगठन सुदृढीकरण, नीति स्पष्टता र जनसमर्थन विस्तारमा केन्द्रित हुने जनाएको छ । आगामी दिनमा पार्टीले देशको समग्र राजनीतिक स्थायित्व र विकासमा जिम्मेवार भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्