राष्ट्रिय टेनिस प्रतियोगितामा शिवाली च्याम्पियन

 

कास्की, १६ पुस । पोखरामा जारी २२औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगितामा महिलातर्फ शिवाली गुरुङ च्याम्पियन बन्न सफल हुनुभएको छ । पोखरा रङ्गशालास्थित आधुनिक टेनिस कम्प्लेक्समा आज सम्पन्न महिला एकलतर्फको फाइनल खेलमा शिवालीले नेपालकी शीर्ष वरियताकी खेलाडी सुनिरा थापालाई सिधा सेटमा पराजित गर्दै उपाधि हात पार्नुभयो ।

प्रतिस्पर्धात्मक र उत्साहपूर्ण फाइनल खेलमा शिवालीले उत्कृष्ट खेल प्रस्तुत गर्दै सुनिरालाई ६–३ र ६–२ को सेटमा पराजित गर्नुभयो । यस जितसँगै उहाँले नगद रु ८० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नुभयो भने उपविजेता सुनिरा थापाले नगद रु ४० हजार र ट्रफी प्राप्त गर्नुभयो ।

दुवै खेलाडीले खेल अवधिभर उच्चस्तरीय खेल प्रदर्शन गर्दै दर्शकको मन जितेका थिए।उल्लेखनीय कुरा के छ भने, शिवाली गुरुङले हालै मात्र पोखरामै सम्पन्न अन्तर्राष्ट्रिय स्तरको आइटिएफ वल्र्ड टेनिस टुर सर्किट १ र २ का दुवै उपाधि जितेर आफ्नो उत्कृष्ट फर्म पुष्टि गरिसक्नुभएको थियो । राष्ट्रिय प्रतियोगितामा पनि उहाँको निरन्तर सफलता नेपाली महिला टेनिसको उदीयमान भविष्यका रूपमा हेरिएको छ ।

त्यसैगरी प्रतियोगिताको मुख्य आकर्षण मानिने पुरुष एकलतर्फ नेपालका नम्बर १ खेलाडी प्रदीप खड्काको यात्रा सेमिफाइनल चरणमै सीमित हुन पुगेको छ । सेमिफाइनल खेलमा आयुष्मान हजुर घलेले प्रदीपलाई कडा प्रतिस्पर्धामा २–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्नुभयो । खेलको पहिलो सेट २–६ ले गुमाएका आयुष्मानले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै क्रमशः ६–४ र ६–२ को जित दर्ता गर्नुभयो ।

अर्को सेमिफाइनल खेलमा करनबहादुर थापाले सन्तुलित र प्रभावशाली खेल प्रदर्शन गर्दै राजवीर प्रधानलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्नुभयो । यस जितसँगै पुरुष एकलतर्फको उपाधिका लागि आयुष्मान हजुर घले र करनबहादुर थापाबीच फाइनल भिडन्त तय भएको छ । प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिनुभएअनुसार पुरुष एकलको फाइनल खेल बुधबार आयोजना हुनेछ ।

भेट्रान्स वर्गतर्फ पनि प्रतिस्पर्धा उत्तिकै रोचक देखिएको छ । ५५ वर्षमाथिको पुरुष एकलतर्फ चन्द्र शाहीले उत्कृष्ट खेल प्रदर्शन गर्दै जीवन घिमिरेलाई ६–० र ६–४ को सेटमा पराजित गर्नुभयो। यस जितसँगै उहाँले आफ्नो उपाधि सफलतापूर्वक रक्षा गर्नुभएको छ ।

त्यसैगरी ४५ वर्षमाथिको पुरुष एकलतर्फ कमल भण्डारीले फाइनल खेलमा देव क्षेत्रीलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल हुनुभयो । अनुभवी खेलाडीहरूबीच भएको प्रतिस्पर्धाले दर्शकलाई रोमाञ्चित बनाएको थियो ।

३५ वर्षमाथिको पुरुष एकलतर्फको फाइनलमा पूर्व नेपाल नम्बर १ खेलाडी जीतेन्द्र परियार र सन्तोष खत्रीबीच प्रतिस्पर्धा हुने तय भएको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जीतेन्द्रले पेमा नोर्वुलाई ६–० र ६–२ को सहज जित निकाल्नुभयो भने सन्तोष खत्रीले भीष्मजङ गुरुङलाई ६–४ र ६–४ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्नुभयो ।

२२औँ संस्करणको यस प्रतिष्ठित प्रतियोगितामा पुरुष तथा महिला सिङ्गल्स र डबल्ससहित ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष र ६५ वर्षमाथिका गरी विभिन्न १२ इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताले राष्ट्रिय स्तरका स्थापित तथा नवप्रवेशी खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।

पोखरामा जारी यस प्रतियोगिताले नेपाली टेनिसको विकास, खेलाडीको प्रतिभा पहिचान र खेलकुद पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आएको सरोकारवालाहरूको धारणा छ ।

 

प्रतिक्रिया दिनुहोस्